Saturday, June 21, 2025

-->

पर्यटकको पर्खाइमा ३०० वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

मौलिक सभ्यता बोकेको यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।

पर्यटकको पर्खाइमा ३०० वर्ष पुरानो गाउँ ‘कुञ्छाल’

हेटौँडा– काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा छ, रमणीय गाउँ ‘कुञ्छाल’। यस गाउँमा ३०० वर्ष पुराना घरमा बास बस्नमात्र होइन, सोही समयमा बनेका ढुंगेधाराको पानी पिउन पनि पाइन्छ। मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका यी पुराना गाउँ हुन्। हरियालीबीच यहाँको बस्ती अत्यन्तै सुन्दर छ। बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले गाउँलाई टाढैबाट छुट्याउन सकिन्छ ।

नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ। यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन्। थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ । ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको छ ।

कुञ्छाल गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा ३०० वर्ष पुरानो मानिए पनि स्थानीय भने सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन्। यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्‍याएको उनीहरूको भनाइ छ। 

नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ। त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै मात्र ३० किलोमिटर पार गर्दा कुञ्छाल पुग्न सकिन्छ। फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ। 

लिच्छविकालीन राजा अंशुवर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने ३०० वर्ष पुरानो देखिने स्थानीय बताउँछन्। यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ। 

नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन्। यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ। कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो।

१७३ घरपरिवार भएको कुञ्छाल यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए। गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत् भएका कारण यसलाई बिग्रन नदिनेमा आफूहरू रहेको उनको भनाइ छ। “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ,” उनले भने, “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ।” उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन्।

त्यसैगरी, यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताइन्। थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झिन्छिन्। तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको छ। तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको उनले सुनाइन्। यहाँ पुरुषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन्। पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए। यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन्। “कुञ्छाललाई एउटा जीवित संग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ,” उनले भने। मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिए। 

नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा मेहनती छन्। कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत हो। गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ। महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो। बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ। पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ।

पदयात्राको समेत सम्भावना
थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ। त्यस्तै हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै करिब तीन घण्टामा पुग्न सकिन्छ। टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट शुरू गर्न सकिन्छ। 

बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात् टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ। उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ। 

वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रुटमा गर्न सकिन्छ। ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जंगल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ।

वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ। निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ। वाराही डाँडाबाट पुनः जंगल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ। स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ।


सम्बन्धित सामग्री