काठमाडौँ– स्थानीय अनाधर तुलाधर (६२) बसन्तपुरस्थित कालभैरव परिसरमा रहेको महाविष्णु मन्दिरमा वैशाख ९ गते साँझ एक्लै बसिरहेका थिए। भूकम्पबाट क्षतिग्रस्त भएको घरका कारण उनी १० वर्षपछि पनि चिन्तामा थिए। भूकम्पले चर्किएको भित्ता माटोले टाले पनि, अब माटोले गाह्रो छाड्न थालेको छ।
अनाधर बसन्तपुरस्थित मखनका बासिन्दा हुन्। २०७२ सालको भूकम्पमा उनको घर मात्र होइन, बसन्तपुर परिसरका थुप्रै मठमन्दिर ढले। ती सबै उनले आँखाअगाडि नै देखे। अहिले आफ्नो घर नबने पनि ती संरचना पुरानै स्वरूपमा देख्न पाउँदा खुशी लागेको बताउँछन्।
“निजी आवासको हकमा आंशिक क्षति हुँदा राहत वा अनुदान नपाउने रहेछ, त्यही कारणले मैले आफ्नो घर बनाउन सकिनँ,” अनाधर भन्छन्, “यो ठाउँ पनि भूकम्पले तहसनहस पारेको थियो। धेरैजसो भत्किएका, बिग्रिएका मठमन्दिर बनिसके।”
२०७२ वैशाख १२ गते ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गर्यो। काठमाडौँ उपत्यकाभित्र बसन्तपुर दरबार स्वायर क्षेत्रका सम्पदामा बढी क्षति पुगेको रोहित रञ्जितकारको पुस्तक ‘मोनुमेन्ट्स अफ द काठमान्डु भ्यालीः बिफोर एन्ड आफ्टर द २०१५ अर्थक्विक’ मा उल्लेख छ।
त्यसपछि ठूलो क्षति पाटन दरबार स्वायर र भक्तपुर दरबार स्वायरमा भयो। सबैभन्दा छिटो सम्पदा पुनर्निर्माण भने ललितपुर महानगरले गरेको छ। भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोगबिना नै सम्पदा पुनर्निर्माण गरेर प्रशंसा बटुलेको छ।
बसन्तपुर डबली। तस्वीर: प्रबिता/उकालो
काठमाडौँ महानगर भने पटकपटक विवादमा फस्दा पुनर्निर्माण सुस्त भयो। यद्यपि, महानगर प्रमुख बालेन शाह केही दिनदेखि सम्पदाबारे जानकारीसहितका सामग्री सामाजिक सञ्जालमा राखिरहेका छन्। कहिले असनको इटाचपा सत्तल, कहिले इखापुखु, त कहिले भेडासिंहको मन्दिरमा भइरहेको कामबारे उनले जानकारी दिएका छन्।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा शाहले काठमाडौँलाई स्विट्जरल्यान्ड नभई छिमेकी नगरपालिकाजस्तै कला र संस्कृतिले भरिपूर्ण नगरी बनाउने उद्घोष गरेका थिए। उनी निर्वाचित भएको तीन वर्ष पुग्नै लागेको छ। उनको कार्यकालसमेत पछिल्लो एक दशकमा काठमाडौँ महानगरका सम्पदा पुनर्निर्माणमा के काम भए? विवादका विषय के हुन्?
कोर एरियामा धेरै क्षति, कति बने?
भूकम्पले काठमाडौँको कोर एरियाका सम्पदामा बढी क्षति गर्यो। त्यसमा पनि बसन्तपुर क्षेत्र बढी प्रभावित भयो। जुद्ध वारुणयन्त्र राख्ने भवन, गद्दी बैठक, नौतले दरबार, महेन्द्र संस्कृति विद्यालय र कुमारी घरमा क्षति पुग्यो। काष्ठमण्डप सत्तल, माजु देगल, दश अवतारलगायत मन्दिर पूर्णरूपमा ध्वस्त भए। कालभैरव क्षेत्रतर्फ पनि विभिन्न मन्दिर, नगरा राख्ने स्थान, कागेश्वर मन्दिर, नारायण मन्दिरमा क्षति पुग्यो।
भूकम्पले भत्काएपछि (बायाँ) र पुनर्निर्माणपछि कागेश्वर मन्दिर।
बसन्तपुर दरबारबाट इन्द्रचोकतर्फका गल्ली, कुनाकाप्चा पनि प्रभावित भए। इतुमबहालको महाविहार, जनबहाः (सेतो मछिन्द्रनाथ)को मन्दिरमा क्षति पुग्यो। क्षति पुगेको असनको इटाचपा सत्तलमा टेको लगाइएको थियो। भोटाहिटीस्थित दरबार हाईस्कुल, रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा क्षति पुग्यो। धरहरा बीचमै भाँचियो।
भीमसेन थापाको पालामा करिब २०० वर्षअघि बनेको धरहराको पुनर्निर्माण समयमै हुन सकेन। २०७५ असोज १४ गते शिलान्यास गरिएको धरहरा पुनर्निर्माणपछि २०७८ वैशाख ११ गते उद्घाटन गरिएको थियो। तर पुनर्निर्माण नसकी उद्घाटन गरेको कारण गत असोज ३१ गतेबाट सर्वसाधारणका लागि खुला गरिएको छ।
काठमाडौँ महानगर सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई महानगरभित्रका सम्पदा पुनर्निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको बताउँछिन्। सबैभन्दा बढी प्रभावित बसन्तपुर दरबार क्षेत्रका काम थोरै मात्र बाँकी रहेको उनको भनाइ छ।
तारानिधि भट्टराई, निमानन्द रिजाल र किशोर थापाको संयुक्त लेखनीको पुस्तक ‘बहत्तर सालको भूकम्प’मा उल्लेख भएअनुसार नेपालमा ९२० वटा पुरातात्त्विक सम्पदा क्षतिग्रस्त भए। तीमध्ये ५८९ वटा अर्थात्, ६४ प्रतिशत (२०७८ असार मसान्तसम्म) पुनर्निर्माण भएका छन्।
पुरातत्त्व विभागको तथ्यांकअनुसार, काठमाडौँ उपयत्कामा कुल ४७८ सम्पदा पुनर्निर्माण भइसकेका छन्। काठमाडौँ महानगरमा विश्व सम्पदा क्षेत्रबाहिर १९३ वटा र विश्व सम्पदा क्षेत्रभित्र ११० वटा पुनर्निर्माण भइसकेका छन्। उता, ललितपुरमा ८६ र भक्तपुरमा ८९ वटा सम्पदा पुननिर्माण गरिसकिएको विभागले जनाएको छ।
काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टले पनि बसन्तपुर परिसरमा पुनर्निर्माणको काम गरेको छ। ट्रस्टले महादेव मन्दिर (उत्तर), कागेश्वर महादेव मन्दिर, जगन्नाथ (चार नारायण) मन्दिर, नारायण (गोपीनाथ) मन्दिर, लक्ष्मीनारायण मन्दिर पुनर्निर्माण गरेको छ। त्यस्तै दुई वटा ठूला नगरा राख्ने ठाउँ र सरस्वती मन्दिर गरी ट्रस्टले सात वटा सम्पदा पुनर्निर्माण गरेको छ।
पुनर्निर्माणमा संरचना नै परिवर्तन
थापाथलीस्थित कालमोचन घाटका पुजारी गोविन्दप्रसाद कोइराला २०७२ सालको भूकम्प सम्झना गर्दा अझै भावुक हुन्छन्। त्यस दिन मन्दिरको नित्य पूजा सकाएर नैकापका लागि निस्किएका थिए। त्रिपुरेश्वर पुग्दा भूकम्प गयो। भूकम्प रोकिएपछि सिधै मन्दिर फर्किए। केही समयअघि पूजापाठ गरेर निस्किएको मन्दिर ध्वस्त भइसकेको थियो।
मन्दिर राणाकालीन भएको कोइराला बताउँछन्। कोतपर्व पश्चात जंगबहादुर राणाले त्यहाँ प्रयोग भएका हतियारसहित आफ्ना पापको मोचनका लागि सो मन्दिर बनाएका थिए। तर भूकम्पपश्चात बनेको मन्दिरको संरचना नै फेरियो। “राणाकालीन समयमा बनेको मन्दिर डोम शिखर शैलीमा थियो, अहिले डोम मुगल शैलीमा बनेको छ,” उनी भन्छन्।
भूकम्पले ध्वस्त बनाएको कालमोचन मन्दिर (बायाँ) र पुनर्निर्माणपछि।
सूचनाको हक प्रयोगमार्फत उकालोले काठमाडौँ महानगरबाट प्राप्त गरेको जानकारीमा पनि मन्दिर डोम मुगल शैलीमा रहेको उल्लेख छ। मन्दिरको चारै दिशामा हुनुपर्ने विशेष खालका मूर्ति पनि नभएको पुजारी कोइराला बताउँछन्। यो मन्दिर डेढ वर्षअघि मात्र पुरातत्त्व विभागले बनाएको हो। मन्दिरभित्रका कतिपय वस्तु राष्ट्रिय संग्रहालयमै छन्। कहिले फिर्ता आउने टुंगो नभएको उनको भनाइ छ।
मन्दिरको संचरना परिवर्तन नगर्न आफूहरूले भने पनि त्यो सल्लाह नमानिएको काठमाडौँ–११ का वडाध्यक्ष हिरालाल तण्डुकार बताउँछन्। “मन्दिरको गजुर र चारै दिशामा रहेका सिंहहरूको जलप खिइँदै गएको थियो। मैले त्यसको रङ यथावत् राख्न सल्लाह दिएको थिएँ,” तण्डुकार भन्छन्, “त्योबेला भनेको मानेनन्। अहिले गजुर, सिंहको रङ खुइलिएर कालो भएको छ।”
संरचनागत परिवर्तन भएको अर्को महत्त्वपूर्ण सम्पदा हो रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर। यो मन्दिर १८९० सालअघिको स्केचका आधारमा बनाउने वा भत्कनुअघिको शैलीमा बनाउने भन्नेमा विवाद भयो। १८९० सालको भूकम्पमा भत्किएको उक्त मन्दिरलाई पछि जंगबहादुरले गुम्बज शैलीमा बनाउन लगाएका थिए। त्यसअघि मन्दिर शिखर शैलीको भएको स्केच भेटिएको छ।
महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले गुम्बज शैलीमा बनाउने निर्णय गरेपछि तत्कालीन उपप्रमुख हरिप्रभा खड्गी र सांस्कृतिक अभियन्ताहरूले विरोध गरेका थिए। अन्ततः मन्दिर प्रताप मल्लको पालामा जस्तो शिखर शैलीमा बन्यो।
“यसमा प्रमुख र उपप्रमुखको राय मिलेन। तत्कालीन उपप्रमुख खड्गीले विरोध जनाएर गुम्बज शैलीमै बनाउने अडान राखेकी थिइन्,” वडाध्यक्ष तण्डुकार भन्छन्, “अन्ततः मन्दिरको ऐतिहासिकतालाई पुनर्स्थापना गर्ने भन्दै प्रताप मल्लको समयमा बनेको स्केचको आधारमा बनाइयो।”
रानीपोखरी पुनर्निर्माणमा पनि विवाद भयो। २०७२ सालमै तत्लकालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण शिलान्यास गरेकी थिइन्। २०७५ सालमा रानीपोखरीको किनारामा रेस्टुरेन्ट, क्याफे र पार्कसमेत बनाउने र कंक्रिट प्रयोग गर्ने योजना बनाइयो। धुम्रपान गर्न पनि छुट दिने गरी क्याफे निश्चित समयामा खोलिने अभिप्राय थियो। ऐतिहासिक पोखरी छेउमा क्याफे खोल्दा पुरातात्त्विक सम्पदाको मौलिकता मासिने सम्भावनाबारे उकालोले सोधेको प्रश्नमा तण्डुकार झर्किए, “त्यसो भए त मौलिकताको नाममा दाची अप्पा (चिनियाँ चिल्लो इँटा) लगाउने बाहेक अन्य केही काम भएको छैन्।”
तर अभियन्ताहरूको विरोधपछि क्याफे बनाउने योजना स्थगित भयो। कंक्रिटको पोखरी बनाउने योजनाको पनि विरोध भएपछि भक्तपुरका कालीगडमार्फत प्राकृतिक तरिकाले बनाइयो।
सम्पदा संरक्षणविद् रोहित रञ्जितकार सम्पदा संरचनाको तोडमोड नगरी यथास्थितिमा बनाउनुपर्ने बताउँछन्। “पुराना शैली, संरचनालाई त्यस्तै शैलीमा बनाउने, संरक्षण गर्ने हो,” रञ्जितकार भन्छन्, “नयाँ बनाउनु छ भने, नयाँ स्थानमा नयाँ शैली अपनाउन सकिन्छ।”
सम्पदा पुनर्निर्माणमा निश्चित समयलाई आधार मान्नुपर्छ। “तर रानीपोखरीको हकमा १८९० सालपछि र २०७२ अघिको शैलीमा बनाएको भए सम्पदा संरक्षण भन्न सकिन्थ्यो। अहिलेको संरचना मिश्रित भएर अर्को नयाँ शैली भइदियो,” उनी भन्छन्।
तत्कालीन प्रमुख शाक्यको कार्यकालमा भएको अर्को विवाद हो, बागदरबार पुनर्निर्माण। बागदरबारमा काठमाडौँ महानगरको कार्यालय थियो। महानगरले यो दरबार पुरातात्त्विक नभएको जिकिर गर्दै ‘हरि भवन’को संज्ञा दिएको थियो।
तर सम्पदा अभियन्ता तथा विज्ञहरूले उक्त दरबार अमरसिंह थापाले बनाएको पुष्टि भएको बताएका थिए। पुरातत्त्व विभागले पनि भवन पुरातात्त्विक भएको जनाएको थियो। लामो रस्साकस्सीपछि अन्ततः विभाग र महानगरबीच भवन पुनर्निर्माणका लागि सहमति जुट्यो। यद्यपि, अदालतले सहमतिलाई २०७५ चैतमा बदर गरेपछि भवन जीर्ण अवस्थामा यथावत् छ।
विवादै विवाद!
रानीपोखरीजस्तै विवादमा फसेको अर्को महत्त्वपूर्ण पुरातात्विक सम्पदा हो काष्ठमण्डप। प्रचलित किंवदन्ती अनुसार, काष्ठमण्डप सिंगो रूखबाट बनेको हो। भूकम्पमा काष्ठमण्डप पूर्णरूपमा ध्वस्त भयो।
सातौँ शताब्दीमा बनेको यो सम्पदा पुनर्निर्माणमा राज्यकै चासो कम देखिएको आर्किटेक्ट एलिना बज्राचार्य बताउँछिन्। “त्यस बेलाका प्रधानमन्त्रीका लागि धरहरा नेपालको आइकन बनिदियो, सबैको ध्यान त्यतै गयो,” उनी भन्छिन्, “भूकम्प गएको दुई वर्षसम्म काष्ठमण्डप पुनर्निर्माणको लागि चासो नदेखिएपछि हामीले ‘क्याम्पेन टु रिब्युड काष्ठमण्डप’ गठन गरेर दबाब दियौँ।”
भूकम्पले भत्काएपछि पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डप (बायाँ) र पुनर्निर्माणपछि।
बज्राचार्यका अनुसार, काष्ठमण्डपलाई पनि रानीपोखरी जस्तै भुईंतला ढलान गर्ने योजना सरकारको थियो। स्थानीयबाट विरोध भयो। काष्ठमण्डप बचाउन अनेक समूह गठन भए। “त्यसपछि बल्ल सरकार काष्ठमण्डपको विषयलाई गम्भीर देखियो। राष्ट्रिय पुनर्निर्माण प्रधिकरणसँगको सम्झौताअनुसार मौलिक शैलीमा बिनाढलान बनाउने भनेर सम्झौता भयो,” बज्राचार्य भन्छिन्।
यो बेलासम्म २०७४ सालको स्थानीय तह निर्वाचनबाट काठमाडौँ महानगरको प्रमुखमा शाक्य निर्वाचित भइसकेका थिए। काष्ठमण्डप पुनर्निर्माणमा महानगर अग्रसर भयो। तर कहिले स्थानीयको त कहिले विदेशी दातृको सहयोगमा काष्ठमण्डप बनाउने विषयमै रुमल्लियो। तत्कालीन प्रदेशसभा सांसद राजेश शाक्यले प्रदेशको बजेट ल्याई महानगर र प्रदेशको सहकार्यमा काष्ठमण्डप बनाउने बाटो सुझाए।
काष्ठमण्डप पूर्णरूपमा ध्वस्त हुँदा काष्ठमण्डपको गर्भगृहमा रहेको गोरखनाथको मूर्ति दुई टुक्रा भएको थियो। पुरानो मूर्तिको सट्टा नयाँ मूर्ति राखेको मुद्दामा पूर्वप्रमुख शाक्य अझै अदालतको तारिख खेपिरहेका छन्।
पाँच वर्षे कार्यकालमा पूर्वप्रमुख शाक्य रानीपोखरी, कमलपोखरी, बागदरबारलगायत सम्पदा पुनर्निर्माणमा विवादमा मुछिएका थिए। सम्पदाहरूको पुरातन शैली मास्नेगरी कंक्रिट प्रयोग गरिएको आरोप उनीमाथि छ।
महानगरका अहिलेका प्रमुख बालेन शाह पनि सम्पदा पुनर्निर्माणका विषयमा विवादित छन्। भद्रकाली मन्दिर सत्तल मल्लकालीन शैली अथवा राणाकालीन (यथावत) शैलीमा राख्ने विषयमा महानगर र पुरातत्त्व विभागबीच विवाद छ। विभागलाई अटेर गर्दै महानगरले सत्तल पुनर्निर्माणको शिलान्यास २०८१ असार २७ मा गरेको थियो। उक्त सत्तल १०० वर्ष पुरानो भएको र राणाकालीन शैलीमा बनेको हुँदा त्यही शैलीमा बनाउनुपर्ने अडान विभागको थियो।
वडास्तरमा भएका पुनर्निर्माण
विवादका बाबजुद राष्ट्रियस्तरबाट पुरातात्त्विक महत्त्वका सम्पदा बनिरहँदा वडाले आफ्नो क्षेत्रमा रहेका सत्तल, फल्चा, आगम छेः (निश्चित परिवारको गुठी घर), द्ये छेः (देवताको घर) बनाएका छन्। वडास्तरका यी कामबाट जनप्रतिनिधिले स–साना सम्पदालाई पनि ध्यान दिएको देखिएको असनका टोल सुधार समितिका पूर्वअध्यक्ष यज्ञरत्न तुलाधर बताउँछन्। उनी भन्छन्, “मठमन्दिर, धार्मिक तथा पुरातात्त्विक भवनको महत्त्व छ। तर सत्तल, फल्चाजस्ता संरचना जोसुकैको लागि पनि सार्वजनिक प्रयोगमा हुन्छ। यसकारण यस्ता संरचनामा ध्यान दिनु आवश्यक छ।”
असनस्थित इटाचपा सत्तल।
असनस्थित इटाचपा सत्तल पुनर्निर्माणको अन्तिम चरणमा छ। कुनै समय व्यापारिक केन्द्र ल्हासा जाने क्रममा महिनौँ समय लाग्ने कारण व्यापारीहरू हप्तादिन यिनै सत्तलमा बास बस्ने असन टोल सुधार समितिका संस्थापक पूर्वअध्यक्ष यज्ञरत्न तुलाधर बताउँछन्। ल्हासाबाट फर्र्किएका नेपाली व्यापारी घर फर्कंदा हप्तादिन तिनै सत्तलमा बसेर मात्र घर जान्थे। गत चैत २९ मा महानगर प्रमुख शाहले सोही अभ्यास सुनाउँदै उक्त सत्तल २ करोडको बजेटमा पुनर्निर्माण भएको आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
तुलाधरका अनुसार, इटाचपा १९९०, २०४५ र २०७२ सालमा गरी तीन वटा भूकम्पमा भत्किएन। यद्यपि, झिँगटीको छानो चुहिने हुँदा सत्तल जीर्ण थियो। “२०८० सालमा जग हालेको सत्तलको अब १० प्रतिशत काम बाँकी छ,” उनी भन्छन्।
काठमाडौँ–२३ का वडाध्यक्ष मचाराजा महर्जन आफ्नो वडा कार्यलयमा ३ करोड ५० लाख रुपैयाँको ध्यानकुटी, विभिन्न चैत्य, जीर्णोद्वार भइरहेको बताउँछन्। बसन्तपुरस्थित कुमारी घरको जीर्णोद्वारको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको उनले जानकारी दिए।
पुनर्निर्माण भइसकेको बसन्तपुरस्थित नौतले दरबार। तस्वीर: प्रबिता/उकालो
यता, वडा २२ अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरअघि महांकाल मन्दिरको सत्तल निर्माण भइरहेको छ। मन्दिरको सत्तल पुनर्निर्माणका लागि त्यहाँ रहेका औषधि पसल, किताब पसल र भेटनरी पसल हटाइएको छ। त्यसलाई गुठी संस्थानले भाडामा दिएको थियो। गुठी संस्थानले भाडामा दिननहुने संरचना पनि भाडामा दिएर आजित बनाएको वडाध्यक्ष चिनीकाजी महर्जन बताउँछन्।
पुनर्निर्माणको विषयमा महानगर, गुठी संस्थान र पुरातत्त्व विभागको तालमेल नमिल्दा समस्या हुने गरेको वडाध्यक्षहरूको अनुभव छ। गुठी संस्थानको मातहातमा रहने पुरातात्त्विक तथा धार्मिक सम्पदा क्षेत्र व्यापारिक उद्देश्यले भाडामा लगाउनु उचित नभएको वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जन बताउँछन्। कुमारी घर बनिसकेपछि त्यहाँ पनि भाडा लगाइने आशंका उनलाई छ।
काठमाडौँ–११ का वडाध्यक्ष तण्डुकारका अनुसार उक्त वडामा पर्ने त्रिपुरासुर मन्दिरको सत्तल क्षेत्र काठमाडौँ विश्वविद्यालयलाई भाडामा दिइएको छ। भग्नावशेष अवस्थामा रहेको मन्दिरलाई विश्वविद्यालयले जीर्णोद्वार गरी ३० वर्षका लागि संस्कृति विभाग राख्न भाडामा लिएको छ। तण्डुकार भन्छन्, “तर अहिलेसम्म निमार्णको कार्य अलमलमा छ। तत्कालीन मेयर शाक्यकै कार्यकालमा मैले ५–६ करोडको बजेट छुट्याएर आफै बनाउनुपर्ने बताएको थिएँ। तर विश्वविद्यालयसँगको सहमतिले हाम्रो हात बाँधियो।”
‘घर बनाएजस्तो होइन सम्पदा पुनर्निर्माण’
शहरी योजनाकार पद्मसुन्दर जोशी काठमाडौँको जनसंख्या विविधता, बसाइँसराइ र स्थानीयको स्वामित्वमा रहेको गुठी प्रणाली गुम्दा पुनर्निर्माणमा विवाद देखिएको बताउँछन्। उनी भन्छन्, “हामीले समुदायलाई कम आँक्न मिल्दैन, न त समुदायको परिभाषालाई सानो सोच्न मिल्छ। समुदायको सहभागिता यस्ता खालको कार्यमा हुनु उल्लेखनीय र महत्त्वपूर्ण हुन्छ।”
पुनर्निर्माणपछि बसन्तपुरस्थित माजुदेगल मन्दिर।
आर्किटेक्ट एलिना बज्राचार्य सम्पदाको अवधारणा वृहत्तर हुने बताउँछिन्। निजी आवास र व्यापारिक भवनजस्तो प्राविधिक शैलीमा सम्पदाहरू बनाउन नमिल्ने उनको भनाइ छ। मठमन्दिरको विशेषताअनुसार कतिपय सम्पदा पुनर्निर्माण लामो समय पनि लाग्न सक्छ। “हामीले घर बनाएजस्तो ढलान गरेको १४ दिनपछि गाह्रो लगाउने सूत्रमा सम्पदा पुनर्निर्माण हुँदैन,” बज्राचार्य भन्छिन्, “कति नेता, राजनीतिज्ञले ख्यातिका लागि आफ्नै कार्यकालमा मठमन्दिर, स्मारक बनाइछाड्ने भने, जसको नियति धेरै वटा सम्पदा क्षेत्रले भोगे।”
भूकम्पबाट भत्किएका भौतिक संरचना बनाउन गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुरूआतमै सम्पदा पुनर्निर्माणमा ‘इथिकल मिस्टेक’ गरेको उनको बुझाइ छ। प्राधिकरण समष्टिगत रूपमा सबैखालका भौतिक संरचनाका लागि गठन भएको थियो। सम्पदा पनि त्यसैमा गाभियो। उनी भन्छिन्, “यो ठूलो गल्ती भयो, जसले काठमाडौँका सम्पदा क्षेत्रको पुनर्निर्माण विवादित र धिमा बनाइदियो।”
सरकारले सम्पदा पुनर्निर्माणमा चासो राखे पनि आवश्यक पूर्वतयारी, स्थानीय परामर्श आदि नगरी शिलान्यासमा हतार गर्दा जनमानसमा नकारात्मक सन्देश फैलिएको ‘बहत्तर सालको भूकम्प’ पुस्तकमा उल्लेख छ। पुस्तकमा भनिएको छ, “बुंगमतीको मछिन्द्रनाथ मन्दिर, धरहरा र रानीपोखरी शिलान्यास क्रमशः प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरे। तर लामो समय ठेक्कापट्टा नहुँदा अनि, स्थानीय समुदाय र नागरिक समाजसँग द्वन्द्व हुँदा ती आयोजनाले गति लिन सकेनन्।”