काठमाडौँ— धुलिखेल चोक पुग्नुभन्दा करिब ४०० मिटर अगाडिबाट ६० मिटर जति उत्तर लागेपछि मिराबेल रिसोर्ट पुगिन्छ। केही समययता यो रिसोर्टमा पर्यटकको चहलपहल कम छ। त्यसको कारण हो सूर्यविनायक—धुलिखेल सडकको दुरावस्था।
रिसोर्टमा आउन भनेर ‘बुकिङ’ गरेका पर्यटकले पनि सडकको अवस्था थाहा पाएपछि बुकिङ रद्द गर्ने गरेका छन्। बुकिङ रद्द गर्दा भन्ने गरेका छन्— त्यहाँ आउने सडक राम्रो रहेनछ, अन्तै जाने भयौँ।
रिसोर्टमा ३५ वटा कोठा छन्, जसमा ७० जनासम्म बस्न सकिन्छ। यसबाहेक, दिउँसो आउने र फर्किने गरी दैनिक ५०० जनासम्म आवतजावत हुन्थ्यो। तर हिजोआज रिसोर्टको ‘अकुपेन्सी’ ३०—३५ प्रतिशतमा झरेको जेनेरल म्यानेजर दीपक थापा बताउँछन्।
उनका अनुसार घाम लागेका बेला होटल सडकको धुलोले पुरिन्छ। ठेकेदारले नियमित पानी हाल्दैनन्। भित्र टेबलसम्मै धुलोले ढाक्छ। जसले गर्दा पाहुना धेरै समय बस्न रुचाउँदैनन्। “सडकको धुलोले पर्यटक मात्रै घटाएको छैन, हाम्रो स्वास्थ्यमा पनि असर गरिरहेको छ,” उनी भन्छन्, “दिक्कलाग्दो अवस्था छ।”
धुलिखेल पुग्ने आन्तरिक मात्रै होइन, बाह्य पर्यटकको संख्या पनि कम भएको छ। “घाम लाग्दा धुलो, पानी पर्दा हिलोले गाडी नै चलाउन नमिल्ने हुन्छ। अनि कसरी आउँछन् मान्छे?” उनी भन्छन्।

धुलिखेलमा आउने पर्यटकका लागि मुख्य सडक सूर्यविनायक—धुलिखेल नै हो। कमलविनायकबाट नाला हुँदै बनेपा निस्किने वैकल्पिक सडक त छ, तर साँघुरो। सवारीको चाप बढ्ने बित्तिकै घण्टौँ अवरुद्ध हुन्छ। त्यसैले धेरैले सूर्यविनायक—धुलिखेल सडक नै प्रयोग गर्छन्।
अरनिको राजमार्गअन्तर्गतको यो सडकको १५.८ किलोमिटर खण्ड ६ लेनमा विस्तार भइरहेको छ। कामको गति भने सुस्त छ। भक्तपुरको सूर्यविनायक नाघेपछि धुलाम्मे सडक भेटिन्छ। भक्तपुरतर्फ सडकको नाली बनाइँदैछ। साँगाबाट काभ्रेतर्फ धुलिखेलसम्मै भित्तो काटेर सडक फराकिलो बनाइँदैछ।
बजार क्षेत्रमा पनि मुख्य लेन र सर्भिस लेन दुवै ठाउँमा काम भइरहेको छ। तर ढिलासुस्तीका कारण सडक आसपासका प्रायः सबै होटल व्यवसायीको व्यापार घटेको छ। धुलिखेल लज एन्ड रिसोर्टकी म्यानेजर जुलिया माकाजू श्रेष्ठ पनि काममा ढिलाइ हुँदा स्थानीयले सास्ती भोग्नु परेको बताउँछिन्।
श्रेष्ठ भन्छिन्, “पहिलेको तुलनामा एकदमै समस्या छ। गेस्टहरूलाई यहाँसम्म आइपुग्नै मुस्किल छ। नगरकोट नगएर धुलिखेल आउने धेरै थिए, तर ती मानिस अहिले यता आउँदैनन्। आएकाले पनि जाम र धुलोको गुनासो गर्छन्।”

धेरैजसो विदेशी पर्यटकले सडकको अवस्थबारे इमेलमा सोध्छन्। खराब अवस्था भएको थाहा पाएपछि बुकिङ रद्द गर्छन्।
होटल एसोसिएसन काभ्रेका उपसभापति किरणप्रसाद श्रेष्ठले नयाँ वर्षको बेला पनि धुुलिखेलका होटलमा पर्यटकको संख्या न्यून भएको बताए। उनले भने, “यो न्यू इयरमा पनि हामीले कल्पना गरेको जस्तो गेस्ट आएनन्। अघिल्ला वर्षमा सबै रुम अगाडि नै बुकिङ भएर हामीले प्याक छ, भन्नुपर्ने अवस्था हुन्थ्यो।”
सडक छिटो नबन्दा व्यवसायीले बैंकको किस्ता तिर्नै नसक्ने अवस्था भएको श्रेष्ठ बताउँछन्। कर्मचारीलाई तलब र अन्य खर्च उठाउन पनि मुस्किल भएको उनको भनाइ छ। “व्यवसायीहरूले लिएको लोनको किस्ता तिर्ने गेस्ट आएपछि हो। गेस्ट नआए कसरी तिर्ने? बैंकले कारबाही गर्ला कि भन्ने पीडा भइसक्यो।”
सूर्यविनायक—धुलिखेल सडक विस्तार आयोजनाकी सिनियर डिभिजन इन्जिनियर सजना अधिकारी धुलिखेल बजारभित्रको तीन किलोमिटर सडकको कालोपत्रे आगामी असार मसान्तसम्म सक्ने बताउँछिन्। तर यस सडकखण्ड विस्तारको सबै काम भने निर्धारित समयमा सकिने सम्भावना कम छ। २०७९ पुस २४ मा सडक विस्तारको काम शुरू हुँदा तीन वर्षभित्र सक्ने लक्ष्य थियो। तर दुई वर्ष चार महिनामा करिब ४० प्रतिशत मात्रै प्रगति भएको अधिकारी बताउँछिन्।
यो आयोजना अन्तर्गत ७.५ किलोमिटर सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रूपैयाँ र साँगा–धुलिखेल ८.३ किलोमिटर सडकखण्ड ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा विस्तारका लागि ठेक्का सम्झौता भएको थियो। ठेक्का सकिन अब आठ महिना मात्र बाँकी छ।

इन्जिनियर अधिकारीका अनुसार सडक विस्तारमा अहिले बनेपा र सूर्यविनायक–साँगा खण्डमा केही विवाद भएकाले पनि काममा ढिलाइ भएको छ। बनेपा बजार क्षेत्रमा सडकको बीच भागको नापीमा विवाद छ। सूर्यविनायक–साँगा खण्डमा घर टहराको मुआब्जा विवाद छ।
विवाद समाधान नभएकाले कतिपय ठाउँमा काम रोकिएको छ। विवाद समाधान गरेर चाँडै काम सम्पन्न गर्ने लक्ष्य रहेको अधिकारीको भनाइ छ। उनी भन्छिन्, “अहिले भएका मुआब्जा र सडकको सेन्टरलाइनको विवाद केही दिनमा टुंगिन्छ। त्यसपछि कामको गति अलि बढ्छ।”
काठमाडौँबाट पूर्वी जिल्लाहरूतर्फ जाने सडकमा जनशक्ति बढाएर काम गर्नुपर्ने होटल व्यवसायीहरूको माग छ। तर सरकारको आन्तरिक स्रोतबाट काम भइरहेकाले लक्ष्य अनुसारको बजेट व्यवस्था गर्न नसकिरहेको सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले उकालोसँगको अन्तर्वार्तामा बताएका थिए ।
धुलिखेल–खावा सडकः अझै अन्योल
धुलिखेलबाट खावासम्मको सडक सूर्यविनायक—धुलिखेलभन्दा बढी समस्याग्रस्त छ। खावासम्मको चार किलोमिटर सडक २०७९ मा ३७ करोडमा गौरी पार्वती निर्माण कम्पनीले ठेक्का लिएको थियो। कम्पनीले २०८० चैत १९ भित्र बनाइसक्नुपर्ने सम्भौता थियो।
तर २०८१ फागुनसम्म पनि काम नसकेपछि फागुन १५ गते भक्तपुर डिभिजनले निर्माण कम्पनीसँग ठेक्का तोडिदियो। अहिले नयाँ ठेक्का पनि लागेको छैन। जसकारण यो सडकको कहर आगामी वर्ष पनि उस्तै हुने निश्चित छ।

खावास्थित धुलिखेल माउन्टेन रिसोर्टका म्यानेजर हर्क गुरुङ सडकका कारण पिक सिजनमा सेवाग्राही नआएको बताउँछन्। “हाम्रो होटललाई त समस्या परेको धेरै भयो। मान्छे आउने बेलामा धुलोले होटल नै देखिन्न। स्विमिङ गर्न, शहरको धुलोधुँवाबाट टाढा आनन्दित हुन आउँछन्। तर शहरको भन्दा बढी धुलो यहाँ भएसी कसरी आउँछन् पर्यटक?”
होटलका स्टाफले बिहानदेखि बेलुकासम्मै सरसफाइको काम धेरै गर्नुपर्ने भएकाले कर्मचारी खर्च पनि बढेको गुरूङको गुनासो छ। उनी भन्छन्, “पहिलेको भन्दा डबल काम गर्नुपर्छ। कर्मचारी नपुगेर बाहिरबाट पनि ल्याएर काम गराएका छौँ।”
भक्तपुर सडक डिभिजनले ठेकेदारसँग सम्झौता तोडेपछि नयाँ ठेक्का लगाउन अर्थ मन्त्रालयमा सहमतिका लागि बजेट प्रस्ताव पठाएको छ। तर अर्थ मन्त्रालयबाट कुनै निर्णय आइनसकेको भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेश बताउँछन्। उनी भन्छन्, “हामीले अर्थ मन्त्रालयसँग ४२ करोड माग गरेका छौँ। सडक कालोपत्रे गर्न र पहिरो रोक्न प्रोटेक्सन वाल लगाउनु पर्नेछ। मन्त्रालयबाट सहमति आएपछि नयाँ ठेक्का लगाउछौँ।”
अहिले भक्तपुर सडक डिभिजनले सडकको धुलो कम गर्न पानी हालिरहेको छ। त्यस्तै, सडक सुचारु गर्न मर्मत पनि गरिरहेको योगेशले जानकारी दिए।
निर्माण व्यवसायी गौरी पार्वतीले भने सडकको बाँकी काम आफैले गर्न पाउनुपर्ने माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। उच्च अदालतले निर्माण कम्पनीलाई तत्काल कालोसूचीमा नराख्न र धरौटी पनि जफत नगर्न अन्तरिम आदेश दिएको छ।