Tuesday, May 20, 2025

-->

सामुदायिक कुकुर व्यवस्थापनको सकसः जब हाउजिङबाट सबै कुकुर भ्यानमा हालियो...

कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एक महिलालाई कुकरले टोकेपछि भोलिपल्ट सबै सामुदायिक कुकुरलाई समात्दै भ्यानमा हालेर बाहिर लगियो। त्यसपछि जनावर अधिकारकर्मी प्रहरी कार्यालयसम्म पुगे।

सामुदायिक कुकुर व्यवस्थापनको सकसः जब हाउजिङबाट सबै कुकुर भ्यानमा हालियो

काठमाडौँ– चैत १५ गते बेलुकी करिब ५ बजे। प्रायः शान्त रहने कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एकाएक हल्लाखल्ला भयो। त्यही हाउजिङमा बस्ने निशा थिङ हल्ला सुनेर बाहिर निस्किइन्। उनले देखिन्– केही मानिस हाउजिङभित्रका सामुदायिक कुकुरहरूलाई समात्दै भ्यानमा हालिरहेका थिए।

एकछिन त निशाले अवस्था ठम्याउनै सकिनन्। अघिल्लो दिन मात्रै हाउजिङमै काम गर्ने एक महिलालाई कुकुरले टोकेको बताइएको थियो। त्यसैले कुकुर पक्रिने दौडमा रहेकाहरूसँग उनले सोध्ने आँट गरिनन्।

“मैले हाउजिङबाहिरको प्रहरी वृत्तलाई बुझ्न लगाएँ। प्रहरीले सोधखोज गरे। समिति र स्थानीय मिलेर कुकुर व्यवस्थापन गर्न लागेको बताइयो,” उनी भन्छिन्।

निशाका अनुसार ग्रिनहिल सिटी व्यवस्थापन समिति अध्यक्ष महेश श्रेष्ठले कुकुरहरूलाई खोप लगाएर फिर्ता ल्याउने बताएका थिए। भोलिपल्ट १२ बजेसम्म पनि कुकुरहरू फिर्ता नभएपछि उनले खोजी गर्न थालिन्। अभियन्ता र जनावरको अधिकारका लागि काम गर्ने संस्थाहरू गुहार्न थालिन्। “केही स्थानीयसँग बुझ्दा कतै जंगलमा लगेर छाडिएको सुनेँ, तर सही सूचना आएन,” उनी भन्छिन्।

निशा कुकुरप्रेमी हुन्। लामो समयदेखि समुदायमा रहेका १५–२० वटा कुकुरलाई खाना खुवाउँथिन्। तर अहिले त्यहाँ जसोतसो फुत्किएका चार वटा मात्र छन्। आफूले बालबच्चा जसरी नै खुवाउने गरेका कुकुर बेपत्ता पारिएपछि उनी चिन्तित छिन्।

कुकुरबारे बारम्बार कुरा गर्न खोज्दा पनि समिति अध्यक्ष श्रेष्ठ सम्पर्कमा नआएको उनी बताउँछिन्। समितिकै एक महिला सदस्यसँग कुरा गर्दा आफूलाई थाहा नभएको बताइन्। “ती महिलाले उल्टै हामीलाई ठूलो स्वरमा गाली गर्न थालिन्। पछि एकाएक मान्छे भेला हुन थाले। हामीलाई गालीगलौज गरे,” उनी भन्छिन्, “एउटा कुकुरले टोक्यो भन्दैमा सबैलाई लखेटेर किन लानु पर्थ्यो। जुनले टोक्यो त्यसलाई पक्रेर हामीलाई देऊ, त्यसलाई दिनुपर्ने तालिम र उपचार हामी गर्छाैं भन्ने कुरा राख्न खोजेका हौँ, कसैले सुनेनन्।”

विवादकै बीच स्थानीयले हातपात गर्दा आफूलाई चोटसमेत लागेको जनावरको अधिकारको क्षेत्रमा काम गर्ने एक संस्थाकी प्रतिनिधि सबिता आपगाईं बताउँछिन्। सूचना दिनुको साटो उल्टै ‘यहाँ आउन गैरसरकारी संस्थाहरूबाट कति डलर खाइयो’ भनेर आरोप लगाएको उनको भनाइ छ। “हामी त कुकुर कहाँ लगियो र कुन अवस्थामा छन् भन्ने बुझ्न मात्र गएका हौँ। फिर्ता दिए संस्थाहरूको सहयोगमा व्यवस्थापन गर्ने सल्लाह थियो। तर कसैले हाम्रो कुरा सुन्न चाहेन,” उनी भन्छिन्।

त्यो दिन कति वटा कुकुर लगिएको थियो भन्ने यकिन विवरण छैन। स्थानीय र अधिकारकर्मीका अनुसार करिब २० वटा कुकुर लगिएको थियो।

व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ भने हुँदै नभएको घटना उचालिएको बताउँछन्। सामुदायिक कुकुरलाई कतै नलगिएको उनको दाबी छ। चैत १४ गते हाउजिङभित्र काम गर्ने महिलालाई टोक्ने कुकुर खोप लगाउन लगिएको उनी दाबी गर्छन्।

यसअघि पनि कुकुरले बारम्बार आक्रमण गरेकोले व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ। “सबै कुकुरहरू यहीँ छन्, कतै लगिएको छैन। नभएको कुरालाई धेरै बढाइचढाइ गरियो,” उनी भन्छन्, “पाल्ने भए घरमा राख्ने हो। दिनकै कुकुरले टोकिरहेको छ, टोक्ने कुकुरलाई खोप लगाउने योजना हो। तर कुरा धेरै ठूलो बनाइयो,” उनी भन्छन्।

कुकुर बचाउन परिवारभित्रै संघर्ष
सोही क्षेत्रमा रहेकी स्थानीय रागिनी (पूरा नाम उल्लेख नगर्ने शर्तमा)ले १० वर्षदेखि कुकुरहरूलाई खाना खुवाइरहेकी छन्। निशासँग उनको भेट खाना खुवाउँदा नै भएको थियो। उनीहरू आलोपालो खाना खुवाउँछन्। कुकुरको उपचार गर्न होस् वा अन्य सहयोगमा रागिनी अग्रसर हुन्छिन्। हाउजिङभित्र मात्र नभई, बाहिरका कुकुरलाई समेत सहयोग गर्छिन्।

परिवारकै सहयोगमा खाना खुवाइरहेकी उनलाई पछिल्लो समय परिवारको साथ छुटेको छ। “पहिले परिवारले मेरो खुशीको लागि खाना खुवाउन सहयोग गर्दै आएको थियो। अहिले कुकुर बेपत्ता पारिएको विषय आएपछि मलाई परिवारको साथ छैन,” उनी भन्छिन्, “समुदायका मान्छेहरूले तथानाम गाली गर्छन्, कुरा लगाउँछन्। सबै हाम्रो विपक्षमा छन्, अनि परिवालाई त राम्रो लाग्दैन नि।” 

जनावरलाई खाना दिँदा वा जनावरको पक्षमा बोल्दा समुदायले गिज्याउने, असहयोग गर्ने गरेको रागिनी बताउँछिन्। अहिले परिवारले उनलाई कुकुरको पक्षमा बोल्नै बन्देज लगाएको छ, तर रोकिएकी छैनन्। “विचरा ती अबोध पशुहरू कहाँ होलान्? कुन अवस्थाबाट गुज्रिरहेका होलान्? खान नपाएर कति बिथोलिएका होलान्? एक पटक उनीहरूको पक्षबाट सोचौँ न!” उनी भन्छिन्।

समुदायमा भने त्रास
हाउजिङभित्रै बसोबास गर्ने घुरन ठाकुर सामुदायिक कुकुरबाट आजित छन्। बेलुका हिँड्दा झम्टिने, टोक्ने गरेको उनी बताउँछन्। केही महिनायता आफूलाई तीन पटकसम्म झम्टिएको, तर बाक्लो कपडाका कारण घाउ लाग्नबाट बचेको उनको भनाइ छ।

“म बिहान बेलुका हिँड्ने गर्छु। बिहान सबेरै त्यति दुःख दिँदैनन्। बेलुका ७ बजेपछि हिँड्न त्रास छ,” उनी भन्छन् “एक्लै हिँडेको बेला हुल बाँधेर लखेट्छन्। डरले हाफ पाइन्ट लगाएर हिँड्नै छाडिसकेँ।”

घुरनका अनुसार हाउजिङमा जेष्ठ नागरिकको संख्या पनि धेरै छ। साँझ हिँड्न जेष्ठ नागरिक र बालबालिकालाई झनै जोखिम भएको उनी बताउँछन्।
कुकुर व्यवस्थापनबारे ज्ञान नहुँदा सहेर बस्नुपरेको घुरनको भनाइ छ। “म पनि पशुप्रेमी नै हो। मैले नै कुकुर पालेको छु। यी (सामुदायिक) कुकुरबारे गलत सोचिँदैन, तर कत्तिन्जेल सहेर बस्ने! जसरी पनि कुकुरलाई व्यवस्थापन गर्नसके हुन्थ्यो।”

ग्रिनहिल सिटी व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ पनि आफूहरू आजित भएको बताउँछन्। पहिला कुकुरलाई कतै नलगिएको दाबी गरेका उनले पछि ती कुकुर मनोहरा क्षेत्रमा छाडेको स्वीकार गरे। विकल्प नरहेपछि त्यसो गरेको उनको भनाइ छ।

यसअघि, बारम्बार कुकुरले आक्रमण गर्दा नगरपालिकामा समेत व्यवस्थापन गरिदिन भनेको श्रेष्ठले बताए। तर नगरपालिकाले बजेट अभावका कारण व्यवस्थापन गर्न नसक्ने जनाएको उनले जानकारी दिए। “विभिन्न संस्थासँग पनि छलफल गरेका थियौँ, सबैले राख्न नसक्ने बताए। अब कहाँ लैजाऊ? के गरौँ?” उनी भन्छन्, “हामी त अझै कुनै संस्थाले लान्छ, पाल्छ भने केही समयको खर्च दिएर पठाउन तयार छौँ।”

प्रहरीमा उजुरी, व्यवस्थापनको सहमति
कुकर बेपत्ता बनाइएपछि केही अधिकारकर्मीले प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए। कुकुरबारे सूचना दिनुपर्ने र अधिकारकर्मीमाथि दुर्वव्यवहार गर्नेलाई कानूनी कारबाही हुनुपर्ने निवेदनमा उल्लेख छ। यस विषयमा अनुसन्धान र छलफल भइरहेको प्रहरी वृत्त बौद्धका डीएस्पी जयश्वर रिमालले बताए। “विषय सामान्य हो, छलफलबाटै सकिने हो। छलफलको क्रममा छौँ। सकेसम्म छिटो टुंग्याउछौँ,” उनी भन्छन्।

बौद्ध प्रहरी वृत्तकै असई पिताम्बर पराजुलीका अनुसार स्थानीयले कुकुरहरू मूलपानी खहरे चौरमा लगेर छाडेको प्रारम्भिक जानकारी आएको छ। यद्यपि, दुवै पक्ष राखेर थप छलफल गरिने उनले बताए। “भ्यान चालकबाट १५ देखि १६ वटा कुकुर मूलपानी खहरे चौरमा लगेर छाडेको भन्ने कुरा आएको छ। थप कुरा छलफल पछि खुल्न सक्छ,” उनले भने।

दुई पक्षको छलफलमा कुकुरहरूलाई खोजेर खोप तथा उपचार गरी व्यवस्थापन पनि गर्ने सहमति भएको थियो। तर हालसम्म चार वटा मात्रै फेला परेको अधिकारकर्मी सबिता बताउँछिन्। “सहमतिअनुसार उहाँहरूले सहयोग गर्नुभएको छैन। अहिले पनि हामी दैनिकजसो खोजिरहेका छौँ। अब फेरि छलफल गरेर अघि बढ्ने योजना छ,” उनी भन्छिन्।

उनका अनुसार कुकुरहरू मनोहरा खहरे खोला आसपास छाडिएको भेटिएको छ। तीमध्ये तीन वटा कुकुर समुदायमै फर्किएका छन्। अर्काे एउटा छाडेकै स्थानमा दयनीय अवस्थामा भेटिएको उनको भनाइ छ।

कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले सामुदायिक कुकुर व्यवस्थापन गर्न बन्ध्याकरण गर्ने गरिएको बताइन्। योबाहेक अन्य उपाय नभएको उनको भनाइ छ। “हामीले नगरपालिकामा ल्याएर बन्ध्याकरण गर्ने र रेबिज विरुद्धको भ्याक्सिन लगाउने हो। त्यसपछि उसको बासस्थानमै छोड्ने गर्छाैं,” उनी भन्छिन्, “यसको दिगो व्यवस्थापन भनेकै बन्ध्याकरण हो।”

सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्दा संख्या कम हुँदै गएको उनले बताइन्। केही वर्षमा नै कागेश्वरी मनोहरा नगरपालिकामा सामुदायिक कुकुरको संख्या २० प्रतिशतले घटेको थापाको भनाइ छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २९० मा जनावरमाथि निर्दयी व्यवहार गर्न नहुने उल्लेख छ। कसैले जनावरलाई कुटपिट गर्न नहुने, क्षमताभन्दा बढी भारी बोकाउन, सामथ्र्यभन्दा बढी दौडाउन नहुने, घरमा पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारण सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ। यस्तो गरेको पुष्टि भए तीन महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।


सम्बन्धित सामग्री