Sunday, May 25, 2025

-->

भुटानबाट भारत हुँदै नेपाल छिरेका शरणार्थीलाई ‘जताबाट आए उतै पठाइने’

अमेरिकाबाट भुटानमा ‘डिपोर्ट’ गरिएलगत्तै भारतीय स्थलमार्गबाट दमकस्थित बेलडाँगी आइपुगेका भुटानी शरणार्थीलाई आवश्यक प्रक्रियापछि प्रवेशको अन्तिम विन्दु भारततिरै फर्काउने झापा प्रशासनले तयारी गरेको छ।

भुटानबाट भारत हुँदै नेपाल छिरेका शरणार्थीलाई ‘जताबाट आए उतै पठाइने’

झापा– अमेरिकाले भुटानमा ‘डिपोर्ट’ गरेलगत्तै भारतीय स्थलमार्गबाट शुक्रबार नेपाल छिरेका तीन जना भुटानी शरणार्थीलाई ‘जताबाट आएका हुन्, त्यतै पठाइने’ भएको छ। झापा प्रशासनले शरणार्थी नेपाल प्रवेशको अन्तिम विन्दु भारत भएकाले अब भारतलाई नै बुझाउन अध्यागमन प्रक्रिया थाल्ने भएको हो।

“अनधिकृत तवर र मार्गबाट नेपाल आइपुगेका भुटानी शरणार्थीलाई अनुसन्धानको आवश्यक प्रक्रियापछि भारतलाई जिम्मा लगाइने भएको छ, आइतबारबाट यो प्रक्रियाको थालनी हुनेछ,” झापा जिल्लाका प्रमुख अधिकारी गोपालकुमार अधिकारीले उकालोसँग भने। 

अधिकारीका अनुसार शनिबार बिहान झापाको बेलडाँगी शिविरमा भेटिएका शरणार्थीलाई दमकको इलाका प्रहरीले आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको छ। उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाइने तयारी भएको छ।

“भुटानी शरणार्थीको आवागमन र पछिल्लो अवस्थाबारे सूचना पाएपछि गृह मन्त्रालयकै निर्देशनमा हामीले जिल्लाका सबै सीमावर्ती नाकामा विशेष सतर्कता अपनाएका थियौँ, तर छलछामबाट अर्कै खुला सीमावर्ती विन्दु उपयोग गर्दै उनीहरू नेपाल छिरेको पाइएको छ,” अधिकारीले भने, “अब प्रक्रियागत रूपमा उनीहरूलाई भारत बुझाउनेतर्फ पहल शुरू हुनेछ।” 

झापासँग भारतको पश्चिम बंगाल, बिहारसहित झन्डै १४४ किलोमिटर लामो खुला सीमा छ। नेपाल प्रवेशमा झापाको पानीट्यांकी (पश्चिम बंगाल) र गलगलिया (बिहार) चल्तीका नाका हुन्। तर त्यसभन्दा परको खोरीबारी (पश्चिम बंगाल)बाट मेची खोलाको गोरेटो बाटो हुँदै उनीहरू सतीघट्टाबाट नेपाल प्रवेश गरेका थिए। 

यो पनि – अमेरिकाबाट भुटान डिपोर्ट गरिएका शरणार्थीमध्ये ३ जना बेलडाँगी शिविर आइपुगे

सन् १९९० तिर भुटानी शरणार्थी समस्या शुरू हुँदा भुटानले देश निकाला गरेका आफ्नै नागरिक पश्चिम बंगालको विभिन्न ठाउँमा आइपुगेका थिए। उनीहरूलाई भारतीय प्रहरी–प्रशासनकै जोडबलमा ट्रकमा ओसार्दै पानीट्यांकी नाकाबाट मेची पुलमा ल्याएर छाडिएको थियो। पछि भुटानी शरणार्थीले स्वैच्छिक घरफिर्ती अभियानमा लागेर मेची पुल नाघेर पारि जान खोज्दा भारतीय प्रहरी–प्रशासनले पूर्णतया रोक लगाएको थियो।

अहिले पनि पूर्वीझापा र मोरङका शिविरमा रहेका ६ हजार ५०० जति शरणार्थीलाई भारत प्रवेश गर्न पूर्णतः रोक लगाइएको छ। तर भुटानबाट कुनै प्रकारले पूर्वी नाका पानीट्यांकीमा आइपुगेका भुटानीलाई भने भारतीय प्रहरी–प्रशासनको मिलेमतोमा नेपाल प्रवेश गर्न दिँदै आएको छ।

“नेपालमा थाती रहेको शरणार्थी समस्या समाधानको प्रक्रिया अघि बढाउन र रेकर्ड प्रक्रिया, ट्राभल डकुमेन्ट आदिमा काम थाल्ने भनेर अन्तिम तयारी गरिरहेका बेला फेरि यसरी भुटानी शरणार्थी नेपाल ल्याएर थुपार्न थालिएको स्थिति सहज छैन”, गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता रामचन्द्र तिवारीले उकालोसँग भने, “यो अनधिकृत आवागमनको मामलालाई अध्यागमन प्रक्रियाअनुसार कारबाहीमा लैजानेछौँ, यसबारेमा सम्बद्ध निकायमा परिपत्र जारी हुनेछ।”

विगतमा भुटानी शरणार्थी समस्या समाधानमा १५ चरणमा नेपाल–भुटानबीच वार्ता भएको थियो। आधिकारिक भुटानी नागरिकलाई घरफिर्ता गरिने भन्दै शरणार्थी वर्गीकरण पनि गरिएको थियो। त्यसपछि पनि भुटानले जहिल्यै बहाना गर्दै ‘नेपालका शिविरमा बस्ने मेरा नागरिक होइनन्’ भन्न थालेको थियो।

अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ गरेपछि र भुटानलाई ‘ट्राभल एडभाइजरी’को ‘रेड–लिस्ट’मा राखिएपछि मात्रै ‘डिपोर्ट लिस्ट’मा परेका भुटानी शरणार्थीलाई जिम्मा लिन भुटान तयार भएको थियो। तर भुटानमा उत्रिएको केही घण्टामै यी शरणार्थीलाई फेरि पुरानै तवरमा देश निकाला गरेर मिलेमतोमा नेपाल पठाइएको छ। 

अब यो मामिलामा चुप लागेर बस्न नमिल्ने अधिकारकर्मी सुशील प्याकुरेल बताउँछन्। “अहिलेको अमेरिका विगतभन्दा केही भिन्न छ, यो भुटान–भारतको रवैयाबारे हामीले खुलेर विरोध जनाउन सक्नुपर्छ, यसमा नेपाल सरकारले तुरुन्तै कदम चाल्नुपर्छ,” प्याकुरेल भन्छन्, “यही बेला हामीले कूटनीतिक तहमा पनि भारत र भुटानलाई प्रश्न गर्न सक्नुपर्छ। भुटान र नेपालको बीचमा रहेको झन्डै दुई सय किलोमिटर लामो भारतीय बाटो नाघेर यी शरणार्थी कसरी हामीकहाँ आइपुगे भनेर प्रश्न गर्ने सही बेला यही हो।”

१० थिए, ७ हराए
अमेरिकामा आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि पक्राउ गर्दै शुक्रबार मात्रै भारतको दिल्ली ‘ट्रान्जिट’बाट भुटानको पारो विमानस्थल पुर्‍याइएका १० जना भुटानी शरणार्थीलाई त्यहाँ दुई घण्टा मात्रै बस्न दिएर ‘नेपालतिरै जानु’ भन्दै बाटा लगाइएको थियो। भुटानी प्रहरी–प्रशासनले पारोबाट झन्डै पाँच घण्टाको गाडी बाटोमा पुगिने फुन्चोलिङ नाकाबाट जयगाउँ (भारत, पश्चिम बंगाल) लगेर छाडिदिएका थिए।

त्यहाँबाट भारतीय प्रहरी–प्रशासनकै सहयोगमा झन्डै दुई सय किलोमिटर दूरीमा पर्ने पानीट्यांकी सीमावर्ती नाकामा लगेर उनीहरूलाई छोडिएको र मेची खोला तरेर आवतजावत हुने खोरीबारीबाट नेपालतर्फ लागेको उनीहरूले बताएका छन्।

शनिबार बिहान बेलडाँगी शिविरमा भेटिएका आशिष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङले अरू सात जना साथी के–कता गए भन्ने थाहा नभएको बताए। भुटानको पारो विमानस्थलमा उत्रनासाथ उनीहरूलाई जनही ३० हजार भारु बाटोखर्च दिइएको थियो।

अमेरिकाबाट डिपोर्ट गरिएका १० जनामध्येका एक अभिभावकले अमेरिकाको ओहायोबाट बताएअनुसार डिपोर्टमा परेकामध्ये थोरैलाई मात्रै चार वर्षपछि अमेरिका फर्कन सक्ने ‘रि–इन्ट्री पर्मिट’ दिइएको छ। अरूका हकमा भने ‘एक्सपेल्ड पर्मानेन्टली’ (सधैँका लागि निष्कासन)को कागज थमाइएको छ। डिपोर्ट गरिएकामध्ये धेरैजसो नेपालका शरणार्थी शिविरमा जन्मेको रेकर्डमा देखिन्छ।

यो पनि – अमेरिकामा पक्राउ परेकामध्ये ४ जना भुटानी शरणार्थीलाई पारो ‘डिपोर्ट’ गरियो

उनीहरू धेरैजसो सन् २०१२ देखि अल्झिएको व्यक्ति हत्या प्रयास, झै–झगडासहितका पारिवारिक हिंसाका घटनामा संलग्न रहेको त्यहाँको अदालतले पुष्टि गरिसकेको छ।

पेन्सिलभेनियास्थित भुटानी नेपाली समाजका एक अगुवाका अनुसार शनिबार पनि न्यूजर्सी राज्यबाट थप केही भुटानी शरणार्थीलाई भुटान ‘डिपोर्ट’ गरिएको छ तर यसको संख्या र अवस्थाबारे खुलाइएको छैन। 

अमेरिकी अध्यागमनको केन्द्रीय निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स एन्फोर्समेन्ट(आईसीई)ले अमेरिकाका विभिन्न राज्यमा गरेर ४० भन्दा बढी भुटानी शरणार्थीलाई पक्राउ गरिसकेको जानकारी सार्वजनिक भइसकेको छ।

“यसरी डिपोर्टेसनमा लगिएका हाम्रा मान्छे भुटानमा पनि बस्न नदिएको र भारतमा पनि हराइरहेको अवस्था आफैँमा अमानवीय तथा राज्य तहमा गरिएको आपराधिक कर्म हुनेछ”, न्यूयोर्कमा कानून व्यवसायीसमेत रहेका एक भुटानी शरणार्थीले भने, “यो त भुटानले आफ्ना नागरिक स्वीकार गरेजस्तो ‘देखावटी’ कुरा गर्दै फेरि भुटानी नेपालीभाषीमाथि गरिएको अर्को चरणको जातीय सफाया हो, यसलाई ‘मानवताविरुद्धको अपराध’को मुद्दा बनाएर हामी न्यायिक निरूपणमा जान सक्नेछौँ।”


सम्बन्धित सामग्री