काठमाडौँ– धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
६ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित गाउँपालिकाको लेखा हेर्ने छैटौँ तहका अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादवविरुद्ध मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बटेश्वर गाउँपालिकाअन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माणमा अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको थियो।
उजुरीपछि अनुसन्धानका क्रममा ठेक्काको अभिलेखमा राख्न जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाको एकप्रति मात्र बोलपत्र आह्वान र बोलपत्र स्वीकृतको सूचना प्रकाशन गरेर ६ लाख ४४ हजार १०० रुपैयाँ भुक्तानी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
जनकपुर टुडेका अध्यक्ष यादवले चौधरी र पुरीसँगको मिलेमतोमा बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाई गर्ने जिम्मा लिएको अख्तियारको दाबी छ।
अख्तियारले चौधरी र पुरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा ६ लाख ४४ हजार १०० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिबाना मागदाबी लिएको छ। त्यस्तै, यादवलाई पनि मुख्य कसुरदारसरह सजाय गरी बिगो असुलउपरको मागदाबी अख्तियारले लिएको छ।