देहरादुन– “आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्,” स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहराले भने, “यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन्।”
भारतको देहरादूनमा शुक्रबार शुरू भएको इन्डो–नेपाल व्यापार मेलामा अवलोकनकर्तालाई बोहराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाए। “रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुः खाइ निको पार्छ, शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ,” उनले भने।
उपभोक्ताले उनका कुरा चाख मानेर सुनिरहेका थिए। “भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त,” उनले भने। सामान बिक्री गर्नुभन्दा बढी यसबारे जानकारी दिनु हो भन्ने उनलाई लाग्छ। सबैले यसको महत्त्व थाहा पाए, यति सामान बिक्री हुन समय लाग्दैन भन्ने उनले बुझेका छन्। त्यसैले उनी सबैलाई फोटो खिच्न र युट्युबमा भिडियो हेर्न आग्रह गर्दै थिए। “आज नकिन्नेले घर गएर युट्युबमा हेरे भोलि किन्न आइहाल्छन्, त्यसैले सबैलाई यसबारे फोटो खिच्न भनिरहेको छु,” उनी भन्छन्।
अघिल्ला दुई वटा महोत्सवमा राम्रो व्यापार हुँदा हौसिएका उनले यसपालि १०२ वटा काठका भाँडा ल्याएका रहेछन्। यसपटक उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको छ। “पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २/३ दिनमै बिक्री भइसकेका थिए, यसपालि पनि शुरूआत राम्रो छ,” उनले भने। विजयसाल काठबाट बनेका आम्खोरा, गिलास र कप तथा धेरै पैसा खर्च नगर्नेका लागि स–साना आकर्षक टुक्रा पनि बनाएका छन्।
कञ्चनपुर भीमदत्त नगरपालिका–१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहराले २०५७ सालदेखि विजयसालका भाँडा बनाउन थालेका हुन्। “पहिले त धेरै भाँडा बनाउँथे, अहिले काठ पाइनै छाड्यो, कुनै समय वर्षमा १० हजारसम्म भाँडा बनाए, अहिले ४०० रुपैयाँ पनि पुग्दैन,” उनले भने।
विजयसाललाई संरक्षित बोटको सूचीमा राखेपछि काठ पाउन गाह्रो भएको उनको भनाइ छ। उनका अनुसार यो काठ कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा बढी पाइन्छ। अहिले कञ्चनपुरका वनमा ढलेपडेका काठ बोलपत्रमार्फत खरिद गर्नुपर्छ, एक क्युफिटको ३ हजार ३०० रुपैयाँ पर्ने तर पनि पाउन गाह्रो हुने उनले बताए।
काठ पाउन छाडेपछि उनले पछिल्लो समय भीमदत्त, बेदकोट र बेलोरीका ३०० बिरुवा वितरण गरेका छन्। आफैले पनि तीन वटा बोट रोपेको बताए। “मैले रोपेको २० वर्ष जति भयो, २०/२२ फिट अग्लो भएको छ, यो काठका लागि मात्रै होइन, खोट र पातको पनि औषधीय प्रयोग गर्ने चलन छ,” उनले भने।
महोत्सवमा विजयसालका काठबाट निर्मित भाँडामा जस्तै नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पामा उत्पादित ढाकाका विभिन्न पहिरन, सिन्की, नेपाली पोते, मस्यौराका साथै रुकुम रोल्पामा उत्पादित भीर मौरीको मह, थांका चित्रकलामा पनि देहरादूनवासीले उत्तिकै चासो दिएका छन्। महोत्सवमा नेपाली हस्तकला धेरैले मन पराएका छन्।
महोत्सवमा भाग लिन चितवन भरतपुरबाट आउनुभएकी मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले आफूले नेपाली उत्पादनहरू मस्यौरा, तितौरालगायत ल्याएको बताए। “हाम्रो कुल उत्पादनमध्ये ६० प्रतिशत विदेश निर्यात हुन्छ, यो महोत्सवले देहरादूनमा बजार विस्तारमा सहयोग गर्ने अपेक्षा छ,” उनले भने।
अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायत गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्। महोत्सवमा नेपालका ५० र भारतका १५० वटा स्टल छन्।