गण्डकी– गण्डकीमा गत वर्ष ४६७ स्थानमा डढेलो लागेको थियो। प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो। सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ। सामान्यतया फागुनदेखि जेठसम्मको समयलाई डढेलोको याम भनेर चिनिन्छ।
मुख्यगरी चैत र वैशाखमा डढेलोका घटना बढी हुने गरेको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए। सुक्खायाम लम्बिँदा डढेलोको जोखिम पनि बढ्दै जाने उनको भनाइ छ। आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनाश मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्। डढेलोले वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए।
“डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनको समेत क्षति हुन्छ,” उनी भन्छन्। डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याइरहेको वन अधिकृत थापाको भनाइ छ। गर्मीयाममा वनमा हुने पातपतिंगर र घाँसदाउरा बढी प्रज्वलनशील हुनेहुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ।
हिउँदे वर्षा नहुनु, हुरीबतासको यामजस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको वन अधिकृत थापाले बताए। मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ। ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको जोखिम बढिरहेको बताइन्छ।
आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानीजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ। वन डढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउने गरेको छ। डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमासमेत भूमिका खेलिरहेको छ। डढेलोले माटोको प्रांगारिक तत्त्व नष्ट हुने, वन्यजन्तुको वासस्थान नासिनेलगायत समस्या निम्तिने गरेको छ।
डढेलोले भूक्षय, बाढीजस्ता प्राकृतिक विपद्का घटना पनि बढाउने गरेको छ। बर्सेनि बढिरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले पर्याप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने माग जनस्तरबाट उठ्दै आएको छ। डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिए पनि यसमा कमी आउन सकेको छैन। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले कानुनको प्रभावभारी कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए। “डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था छ,” प्रजिअ सुवेदीले भने, “दोषीलाई तीन वर्षको जेल, ६० हजार रुपैयाँसम्म जरिबाना या दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था छ।”
कानूनी दण्डबारे जनस्तरमा जानकारी पुर्याउन सक्दा नियत राखेर डढेलो लगाउने प्रवृत्तिमा कमी आउने उनको भनाइ छ। सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिंगरलगायत जल्ने पदार्थ हटाउनुपर्ने वन अधिकृत थापाले बताए। वनमा अग्नि रेखाको निर्माण, सरसफाइजस्ता कार्य नियमित गर्नुपर्ने र डढेलो नियन्त्रणमा जनसहभागिता जुटाउनुपर्ने उनको भनाइ छ।
वनजंगल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई पनि असर पारिरहेको उनले बताए। आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानीजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रूप लिने गरेको उनको भनाइ छ। हिउँदे वर्षा नहुनु, हुरीबतासको याम, भिरालो भूबनोटजस्ता कारण पनि डढेलो छिटो फैलने गरेको छ। समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलोको जोखिम कम हुने उनी बताउँछन्।
डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेका छन्। वन कार्यालयले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएको निर्देशनालयले जनाएको छ। डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा र बुट्यान सखाप पार्ने गरेको उनको भनाइ छ। वन अधिकृत थापाले विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने बताए।