काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको हो।
नेपालले सिंगापुरलाई १–० ले पराजित गरेको हो। नेपालले खेलको १२औँ मिनेटमै गोल गरेको थियो। सो गोल नै नेपालको जितका लागि निर्णायक रह्यो। नेपालको जितमा जिलेस्पीजंग कार्कीले गोल गरेका हुन्। मनीष डाँगीले दिएको पासमा डिबक्सबाट उनले वन टच गोल गरेका हुन्।
औपचारिक खेलमा नेपालले सिंगाापुरविरुद्धको गरेको यो नै पहिलो जित हो। नेपाल सन् १९८२ देखि सिंगापुरसँग खेल्न थालेको थियो। तर नेपालले यसअघिका कुनै पनि खेलमा सिंगापुरलाई पराजित गर्न सकेको थिएन।
एएफसी एशियन कप छनोटअघि नेपालले तयारी स्वरूप सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो। नेपाली टोलीले एएफसी एशियन कप २०२७ को छनोटअन्तर्गत अन्तिम चरणको खेल खेल्दै छ। त्यसका लागि नेपाली टोली सिंगापुरसँगको खेलेपछि मलेसिया जानेछ। नेपालले मलेसियासँग चैत १२ गते खेल्ने तालिका तय भएको छ।