काठमाडौँ– सरकारले तीन वटा सरकारी अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ। पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मस्तिष्कघातको औषधि महँगो हुने तथा समयमै उपलब्ध नहुँदा बर्सेनि सयौँ नागरिकको ज्यान जाने गरेको छ। आर्थिक समस्याका कारण समयमा उपचार पाउन नसक्दा पनि धेरैको ज्यान जाने गरेको मन्त्रालयले बताउँदै आएको छ।
यो पनि – मस्तिष्कघातका बिरामीलाई अस्पताल पुर्याउनै मुस्किल
औषधि नपाएर मृत्यु नहोस् भन्ने हेतुले स्वास्थ्य मन्त्रालयले विभिन्न संघीय तथा प्रदेशस्तरीय अस्पतालमा पक्षाघातको बिरामीलाई प्रयोग हुने ‘थ्रोम्बोलाइटिक अल्टिप्लेस’ नामक औषधि निःशुल्क दिने निर्णय गरेको थियो। सम्झौता भएको करिब दुई महिनापछि मन्त्रालयलाई बिहीबार उक्त औषधि प्राप्त भएको हो। अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समयमै अस्पताल पुगेमा मस्तिष्कघातका बिरामीलाई बचाउन सकिने उल्लेख गर्दै औषधि उपलब्ध गराउने संस्थाप्रति आभार व्यक्त गरे। “यो औषधि राज्यकोषबाट किनेर आवश्यक पर्नेलाई उपलब्ध गराउन गाह्रो थियो। दातृ संस्थासँग अरू महँगा औषधि पनि माग गरेका छौँ,” उनले भने।
यो सेवालाई प्रभावकारी ढंगबाट निरन्तरता दिने उनको भनाइ छ। आवश्यकताअनुसार अरू अस्पतालमा पनि वितरण गर्ने लक्ष्य रहेको उनले बताए। “बिस्तारै अन्य अस्पतालमा विस्तार गर्दै लाने छौँ,” उनले भने।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजंग रायमाझीले ८०० भायल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको बताए। दक्ष जनशक्ति रहेको सरकारी अस्पतालमा यो औषधि वितरण गरिने उनको भनाइ छ।
“मस्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मस्तिष्क पक्षाघात हुने सम्भावना हुन्छ। यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ,” उनले थपे, “यसका लागि न्युरोलोजीमा एमडी गरेको दक्ष चिकित्सकको आवश्यकता पर्दछ। त्यसैले अहिले जहाँ जनशक्ति छन् त्यही शुरू गरिएको हो। पछि आवश्यकताअनुसार सबै प्रदेशका संघीय अस्पतालमा उपलब्ध गराइन्छ।”
डा. रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको नेपाली रुपैयाँ ७० हजारसम्म पर्न जान्छ।
उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा दुई देखि आठ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए। नेपालमा एक वर्षमा ३०० देखि ४०० को संख्यामा पक्षाघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका मन्त्रालयको भनाइ छ।
यता न्युरोलोजिस्ट डा. राजु पौडेलका अनुसार नेपालमा पक्षाघातका बिरामीमध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको अनुमान छ। उपचारै नपाएर मृत्यु हुनेको संख्या वर्षमा १० जना हाराहारी हुनसक्ने उनी बताउँछन्।
“स्ट्रोकका लागि प्रयोग हुने औषधि निकै महँगो हुन्छ। आर्थिक अभावमा कतिपयले किन्न नसक्दा अस्पतालमै मृत्यु हुने गरेको पनि छ,” उनी भन्छन्, “मन्त्रालयले यो सेवा देशभरका अस्पतालमा पुर्याउन सके धेरैको ज्यान जोगिन्छ।”