काठमाडौँ— ६७ वर्षअघि छापिएको लघुउपन्यास ‘बसाइँ’का कारण नाम–पहिचानको भिन्न उचाइमा पुगेका लेखक लीलबहादुर क्षेत्रीले कहिल्यै नभुलेको थातथलो थियो, नेपालको पूर्वीपहाड।
नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित यी साधकको सम्मानमा २०७२ सालको जगदम्बाश्री पुरस्कार प्रदान गर्ने घोषणा लगत्तैको फोन संवादमा क्षेत्रीले गुवाहाटीबाट भनेका थिए, “लु भाइ, बहुतै खुशी लागेको छ। अरूभन्दा पनि जोग मिल्यो भने ‘बसाइँ’को कथा खेलेको तेह्रथुम पहाडको गाउँमा पुगेर कुनै सरकारी पाठशालामा एउटा सानो पुस्तक–कक्ष खोल्ने मन छ, तारतम्य जुर्ला कि?”
पछि २०७२ को असोजमा पुरस्कार थाप्न क्षेत्री काठमाडौँ आए। आउनासाथै फोनमा भने, “लौ भाइ, म पुरानै जग्गामा बसेको छु। त्यो पुस्तकालयको कुरा कहाँ पुग्यो? भेटिहालौँ त।”
क्षेत्रीले भनेको त्यो ‘पुरानो जग्गा’ उही मारवाडी सेवा सदन, न्युरोड थियो, जहाँ उनको काठमाडौँ छइन्जेल बसोबास चल्थ्यो। त्यसपछि खोजी भयो, पूर्वीपहाडको खोटाङ, मंगलटारको एक सरकारी विद्यालय जहाँ लीलबहादुरकै नाममा पुस्तकालय खोल्ने टुंगो लाग्यो। उनी चाहन्थे, आफ्ना बाबुबाजे जन्मे–हुर्केको तेह्रथुमको छथरसुधाप। तर सम्पर्क र पहुँचका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, मगलटारमा रहेको पिपलडाँडा देवीस्थान माविमा पुस्तकालय खोल्ने निधो भयो।
“त्यो पूर्वीपहाडको गाउँ जहाँबाट धने र मैना बसाइँ सरेर कतै अन्यौलको जगत्मा पुगेका थिए। त्यो गाउँ जहाँ मेरा बाबुबाजेको धन–ऋणको अभिभारा अझै छँदैछ होला,” जगदम्बाश्री सम्मान थाप्नासाथै वरतिर एउटा कुनामा आएर पैसाको थैलो बन्डा गर्दै क्षेत्रीले एक लाख रुपैयाँ हातमा थम्याउँदै भनेका थिए, “अब म ठान्नेछु, मैले मेरा पितापुर्खाले खाएको नुनको अभिभारा सम्झँदै तिलको सानो हिस्सासरी (गुन) तिर्न चाहेको हुँ, त्यो गाउँको माटो र पाठशालामा म एक दिन जाने निधोसमेत राखेको छु।”
लगत्तै हलेसी छेउकै सामाजिक युवा अभियन्ता रमेशकुमार राउतको पहलमा मंगलटारको सरकारी पाठशालामा पुस्तकालय पनि खुल्यो, थप सहयोग र समन्वयमा। हाल हलेसी तुवाचुङ नगरपालिकाका उपमेयरसमेत रहेका उनै अभियन्ता राउतका अनुसार पालिकाको बजेटमा एक जना पुस्तकालय सञ्चालकसमेत राखेर अहिले लीलबहादुर क्षेत्री सामुदायिक पुस्तकालय राम्रैसँग चलेको छ।

⁎⁎⁎
सन् १९२६ मा पिताजी प्रेमबहादुर क्षेत्री आसाम राइफलमा भर्ती भएपछि एउटा क्षेत्री पुस्ता पूर्वीपहाड तेह्रथुम छथरबाट भारत प्रवासी बनेको थियो। त्यसको सात वर्षपछि लीलबहादुर आसामको गुवाहाटीमै जन्मिएका थिए। तर बाआमा र क्षेत्री खलकका अरू आफन्तले सुनाउने कथा भने त्यही पहाडी खोल्मा, बलो, खाँबो, धुरी, जाँतो–ढिकी र सिदुँवा डाँडाकै आसपासमा हुन्थ्यो। (तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार, यो गाउँपालिकाको वार्ड ६ मा सुधाप गाउँ छ जसलाई बोलीचालीमा छथरसुधाप पनि भनिन्छ।)
“कसैले कालापहाडेको कथा हाल्थे, कोही कालीकोटे दुःख भन्थे,” आजका भन्दा हिजोका कथा सम्झन र सुनाउन रुचाउने लीलबहादुर भन्थे, “त्यसमाथि आफू ८–१० वर्षजतिको छँदा तेह्रथुम गाउँमा गएर बसेको र त्यहाँको जनजीवनको असाध्य कष्ट तथा धनी–गरिबको विभेदकारी कुराले सधैँ झट्का हानिरहेकै हुन्थ्यो। त्यही कुराले निचोरेर ‘बसाइँ’ लेखेको थिएँ। तर कागजी चिर्कटोभर १०० पेजजतिमा लेखेर थन्किएको बसाइँले देहरादुनका ठाकुरचन्दन सिंहलाई भेटेपछि मात्रै बाहिर देखिने मौका पाएको थियो।”
संयोगले सिंहले काठमाडौँमा भर्खरै खुलेको मदन पुरस्कार पुस्तकालयका प्रमुख कमल दीक्षितलाई पत्र लेखेर लीलबहादुर र बसाइँबारे चिनारी गराएपछि यसले कृतिका रूपमा छापिने अवसर पायो।
पुस्तकालयबाट २०१४ र २०१८ सालमा दुइटा संस्करण छापिएपछि बल्ल २०२१ मा जगदम्बा प्रकाशनबाट तेस्रो र २०२४ पछि साझा प्रकाशनबाट बसाइँ अहिलेसम्म ३९ संस्करणसम्म छापिएको छ। संख्याका हिसाबमा तीन लाखप्रति झन्डै प्रकाशनमा आइसकेको छ।
मदन र जगदम्बाबाट प्रकाशित भएको ‘बसाइँ’मा प्रखर नाटककार बालकृष्ण समले बनाएको आवरण–चित्र प्रकाशित छ भने साझाबाट छापिन थालेपछि कलाकार टेकवीर मुखियाको रेखाचित्र छापिएको छ।
अरूभन्दा पनि हरेक भेटमा, कुराकानीमा घुमिफिरी ‘बसाइँ’ पृष्ठभूमिमा कुराकानी ठोक्किन्थ्यो नै। “आज भनिने ‘माइग्रेसन’, देश छाड्ने लहर वा आप्रवासनको गुदीमा जानी नजानी त्यो युगमा केही संकथन गर्न पाएकोमा क्षेत्री दंग पनि देखिन्थे। “यो माइग्रेसनका कुरामा कतिले मलाई ज्योतिष पनि भन्छन्, आज देश–दुनियाँभर धने र मैनाकै कथा छाएझैँ लाग्छ,” बातचितमा उनी खुशी पनि सुनिन्थे, “मैले भन्ने गरेको छु, अघिअघि दुःख छल्न माइग्रेसन हुन्थ्यो, अहिले अझ बढी सुख खोज्न माइग्रेसन भइरहेको छ कि झैँ लाग्छ।”
नभन्दै माइग्रेसनको ट्रेन्डिङ कस्तो भइदियो भने नेपाली भाषा–साहित्यका अनुसन्धानकर्ता तथा अनुवादक डा. माइकल हट (बेलायत) एकपटक भुटानी नेपालीभाषीको देशनिकाला र शरणार्थी हैसियतमाथि अध्ययन गर्दै थिए। सन् ९० पछि शुरू भएको भुटानी शरणार्थीको नेपालमा बसोबासको ‘रुट’ र सामाजिक मनोदशा अध्ययन गर्दै उनी मेचीपुल हुँदै दार्जिलिङसम्म पुगेका थिए। त्यही क्रममा गोर्खाल्यान्ड आन्दोलनका कुनै बेलाका पक्षधर अभियन्ता साहित्यकार आईबी राईलाई भेटेपछि माइकलले ‘बसाइँ’ र लीलबहादुरबारे बढी नै जानकारी पाएका रहेछन्।

“नेपालीभाषी लखेटिएको, शरणागत भएको एउटा पाटो हो। तर नेपाली समाजमा बसाइँसराइको कथा त क्षेत्रीज्यूको ‘बसाइँ’बाट शुरू हुन्छ भनेपछि म यतातिर लागेको थिएँ”, डा. हटले भनेका छन्, “शायद नेपाली समाजको बसाइँसराइको कथानक र पृष्ठभूमि (इतिहास) स्मरण गर्दै मैले उपन्यास ‘बसाइँ’ अनुवाद गरेको थिएँ, ‘माउन्टेन्स पेन्टेड विथ टरमेरिक’ नाममा।”
माइकलको भुटानी नागरिक लखेटिँदाको शरणागत कथा ‘अनबिकमिङ सिटिजन’ पनि ‘बसाइँ’भन्दा अघि प्रकाशनमा आइसकेको छ।
भाक्सु–देहरादुनदेखि सम्पर्क र सम्बन्धको लिंक जोडेर ‘बसाइँ’ प्रकाशनमा आए पनि लेखक क्षेत्रीका अनुसार यसले पहिचानको अर्को पाटोमा निकै मुस्किल निम्त्याएको थियो। “यो किताबले त उहिल्यै मदन पुरस्कार पाइसकेको हो भन्थे धेरैले। खासमा मदन पुरस्कार पुस्तकालयबाट छापिएको मात्रै थियो,” जगदम्बा पुरस्कार थाप्न आएका बेला क्षेत्रीले भनेका थिए, “यसकारण पनि कुनै पुरस्कार पाउने र पुरस्कृत हुने कुरामा भने ‘बसाइँ’ ओझेलमै रह्यो।”
समालोचक कृष्णचन्द्रसिंह प्रधानले ‘सामाजिक यथार्थवाद’को झल्को दिने सशक्त उपन्यास भनेर ‘बसाइँ’लाई चिनाएपछि मात्रै त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा यो कृतिले स्थान पाएको स्मरण क्षत्रीले गरेका थिए। तर, पाठ्यक्रम परिमार्जनका नाममा पछिल्ला वर्षमा पारिजात, लीलबहादुर क्षेत्री आदि लेखकका कृतिलाई पाठ्य सामग्रीबाट हटाइएको छ।
तीन वर्षअघि मात्रै नेपाली भाषा–साहित्यको आधा शताब्दी लामो योगदानका निम्ति भारतको प्रतिष्ठित पद्मश्री सम्मान पाएपछि क्षेत्रीलाई कतिपयले आलोचनात्मक दृष्टिमा हेरेका थिए। त्यसपछि उनले आफ्नो पितापुर्खाको थलो स्मरण गर्दै भनेका थिए, “हाम्रो भविष्य हाम्रो कर्मभूमिमै छ। यसो भन्दैमा आफ्नो भाषा–संस्कृतिको सम्बन्धमा नेपालभूमिलाई जसै पनि भुल्न सकिने होइन।”
२०७३ असोजमा आफू जगदम्बा श्री पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका बखत उनले मन्तव्यमा भनेका थिए— “नेपाली जाति, विश्वभरि छरिएर बसेको जाति हो। नेपाली भाषा साहित्य संस्कृतिले छरपस्ट यो जातिलाई एकताको सूत्रमा बाँधेर राखेको छ। जहाँ जसरी बसेको भए पनि उनीहरूमा भावनात्मक एकता हुन्छ नै। नेपाली साहित्यले वास्तवमा विश्व साहित्यको स्वरूप लिएको कुरा स्पष्टै छ। तर नेपाली साहित्यको यो विश्वरूपको स्कुल अध्ययन (माइक्रोस्कपिक स्टडी) भने अझ हुन नसकेको परिलक्षित हुन्छ। भिन्न–भिन्न इलाकामा लेखिएका नेपाली साहित्यको इतिहास फेला परे पनि विश्वभरिको नेपाली साहित्यको इतिहास टड्कारो रूपमा अझ फेला नपरेको बुझिन्छ। विश्वका विभिन्न ठाउँमा लेखिएका हामीसित समग्रमा कति उपन्यास छन्, कति काव्य साहित्य छन्, कति निबन्ध प्रबन्ध छन् त्यसको टड्कारो सूची हामीसित अझ भए जस्तो लाग्दैन।”
दुई साताअघि मात्रै लेखक क्षेत्रीले आफ्नो ९३ वर्षको जन्मोत्सव मनाएका थिए। उनलाई भेट्न हालै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितसहितको टोली गुवाहाटी पुगेको थियो। किताबकपीको थाकमाझ सुत्न–बस्न रुचाउने क्षेत्रीले आफ्नो कोठालाई ‘मेरो जंगल’ भनेर चिनाएका थिए।
गत माघ २९/३० मा लेखक क्षेत्रीसँग भेटघाटका लागि गुवाहाटी पुगेकी लेखक रूपा जोशी। तस्वीर सौजन्य: दीपक अर्याल/मपुपु
⁎⁎⁎
उपन्यासकार ध्रुवचन्द्र गौतम अति सरल भाषामा सामाजिक यथार्थवादको सजीव चित्र झल्काउने ‘बसाइँ’ उपन्यासले झन्डै आधा शताब्दी एकछत्र प्रभाव छाडेको मूल्यांकन गर्छन्। त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्दा २४/२५ सालतिर आफूले विद्यार्थीलाई ‘बसाइँ’ उपन्यास पढाउने गरेको स्मरण गर्दै एउटा प्रवासी नेपालीले लेखेको कृति र यता काठमाडौँ केन्द्रमा प्रभाव–पहुँच नभईकन (छापिएको केही वर्षमै) विश्वविद्यालय कोर्समा पर्ने कुरा आफैमा एउटा ‘घटना’ भएको गौतमले सुनाए। “क्षेत्रीको ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासमा पनि प्रवासमा पुगेका नेपालीको संकेत छ, बसाइँकै अर्को खण्डको रूपमा पनि यसलाई लिन सकिन्छ,” गौतम भन्छन्।
यीबाहेक क्षेत्रीका अतृप्त (उपन्यास), झ्याउरे पार्टीमा लाग्दा (निबन्धसंग्रह), प्रतिध्वनीहरु बिस्मृतिका (उपन्यास), सिमलको भुवा (निबन्ध), दोबाटो (नाटक), सुरुको सुरु (नाटक) लीलबहादुर क्षेत्रीका कथा, नाटक, भूमिका संकलनसहित एक दर्जन पुस्तक प्रकाशित छन्। केही वर्ष रेडियो गुवाहटीको नेपाली भाषा सम्पादन–प्रसारणमा समेत काम गरेका क्षेत्रीले अर्थशास्त्रमा एमए डिग्री लिएका थिए। स्थानीय कलेजमा केही समय प्राध्यापन पनि गरेका थिए। उनी पछिल्ला वर्ष पूर्वोत्तर भारतमा नेपालीभाषीको अवस्था र भारतमा संवैधानिक भाषिक मान्यतापछिको अपुरो कार्यसम्पादनबारे लिखित तथा मौखिक धारणा राख्न अग्रसर देखिन्थे।
“नदी किनारको सभ्यताबारे पढ्दा–बुझ्दा र त्यसमाथि आफू ब्रह्मपुत्रको आडैमा बसेको हुनाले यो भावभूमिले मलाई अनौठोसँग तानिरहन्छ,” लीलबहादुर यदाकदाको फोनवार्तामा भन्नेगर्थे, “दुःख र गरिबीका कारण उज्यालो बाटो खोज्दै भागेर जो जहाँ पुगे पनि संघर्ष र नियति दुवै तावाबाट उफ्रेर भुङ्ग्रोमा भनेझैँ मात्रै हुने रहेछ। यसकारण म केही कुरोमा पनि पछुतो मान्दिनँ, जे भयो ठीक भयो भन्ने ठहरमा म पुगेको छु।”
पछुतो नरहेको या स्वान्त सुखायका जति बात गरे पनि लीलबहादुर हरेक कुराकानीको उदाहरणमा उही छथरसुधाप सम्झिरहेका हुन्थे। “मैले त यो जुनीमा अब सकिनँ, तपाईं एकपटक जानुहोला है छथरसुधाप”, गएको दशैँमा दशमीको साइतमा मात्रै स्याँस्याँ आइरहेको आवाजमा लीलबहादुर भन्दै थिए, “मिल्यो भने खोटाङमा जस्तै मेरा बाबुबाजेको थलो तेह्रथुमको गाउँले पाठशालामा पनि एउटा पुस्तकालय खोल्न समय जोगाड गर्नुहोला है।”
यसरी सम्झना–बिर्सनामा लीलबहादुर आइरहेका छन्। आफैलाई कुनै महान् साहित्यकार वा साधक भनेर फुर्क्याउने आम–चरित्रभन्दा पनि उनले आफ्नो ‘जिन’मा मिसिएर आएको माटोको सुगन्धलाई कहिल्यै भुल्न चाहेनन्। भुल्न नचाहेको त्यही कुरा लेखे, जुन अन्तर्हृदयमा थियो। लीलबहादुरले ‘ऊ फेरि फर्कन्छ’ कथामा लेखेका छन्, “सिदुँवाको डाँडामा उभिएर रामबहादुर कार्की अझ उत्तर–पूर्व दिशातिर हेरिपठाउँछ। पर दुइटा थुम्का खप्टेर गोरुको जुरोजस्तो देखिने पहाडको लामो सातो देखेपछि आनन्दनविभोर हुन्छ ऊ। त्यही पहाडको मुन्तिर पर्छ उसको घर।”
शायद त्यो घर लीलबहादुर क्षेत्रीको हो। अर्थात्, उनै कालीकोटेको हो त्यो घर जो पछि नेपाली भाषा–साहित्यको जगत्मा लीलबहादुर क्षेत्री भनेर चिनिए।