काठमाडौँ– ‘महिला रोकिए समय रोकिन्छ।’
एउटा प्लाकार्डमा लेखिएको छ। यस्ता अनेक नारा लेखिएका प्लाकार्ड बोक्नेको संख्या ठूलो छ। ती प्लाकार्डका नारा महिलासम्बन्धी नै छन्। जस्तो– ‘अब हाम्रो पालो,’ ‘अब पर्खंदैनौँ, अधिकार नलिई फर्कदैनौँ,’ ‘०८४ मा महिला पहिला’ आदि।
प्लाकार्ड बोकेर नारा लगाउँदै र गीत गाउँदै गत फागुन १७ गते रामेछाप सदरमुकाम मन्थलीमा महिलाहरू ‘अनुपम यात्रा’ गरे। करिब ४०० महिला यात्रामा सहभागी थिए। सबैको हातमा प्लाकार्ड थियो।
उनीहरूले गाएका गीतमध्ये एउटाको बोल यस्तो थियो–
‘उठौँ न दिदी उठौँ न बहिनी उठौँ न दाजुभाइ
महिलाले पाउने हक अधिकार सुनिश्चित गर्नलाई
जाग्ने बेला भो अब डटेर
पाइँदैन हक पछाडि हटेर
सामाजिक, आर्थिक, सांस्कृतिक अनि राजनैतिक व्यवहारमा
महिलालाई पछि पारिन्छ यहाँ लिंगकै आधारमा
कानूनले पारे नि ठिक्क
पाका छैनौँ निर्णयक भूमिका’
(निर्मला तिमल्सिना, सिन्धुपाल्चोक)
उनीहरूका गीत र प्लाकार्डका शब्दले त्यहाँ वरपरका महिलालाई पनि अभियानमा तानिरहेको थियो। तीमध्येकी एक हुन् पार्वती कडेरिया। महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन आफू अभियानमा सहभागी भएको कडेरिया बताउँछिन्। उनी भन्छिन्, “आगामी निर्वाचनसम्म राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता बनाउने अनुपम यात्राको लक्ष्य हो।”

कडेरिया यो अभियानमा शुरूदेखि नै सहभागी छिन्। “महिला नेतृत्व गर्नुपर्छ, उनीहरूलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने अभियानको मूल उद्देश्य रहेछ। त्यही भएर म पनि जोडिएको हुँ,” उनी भन्छिन्।
उनले यो अभियानबारे गाउँकै अन्जला श्रेष्ठबाट थाहा पाएकी थिइन्। अभियन्ता अन्जला यो अभियानमार्फत संविधानले महिलाहरूलाई दिएका अधिकारहरूका विषयमा खबरदारी मात्रै नगरी विभिन्न विषयमा ज्ञान दिने हिसाबले छलफलहरू पनि गरिरहेको बताउँछिन्। अहिले उनीहरू गाउँगाउँमा पैदलै पुगेर महिलाहरूले नेतृत्व गर्न पाउनुपर्ने आवाज उठाइरहेका छन्।
यो अभियान रामेछापमा मात्रै होइन, देशका सबैजसो जिल्लामा चलिरहेको छ। फागुन २१ गतेसम्म ७० जिल्लामा महिलाहरूले पैदल अभियान सञ्चालन गरिसकेका छन्। ‘०८४ मा महिला पहिला’ उनीहरूको मूल नारा नै छ।
सप्तरीकी रिता महतो संविधानले महिलालाई दिएको अधिकारमा पनि कन्जुस्याइँ गरिएकाले त्यसविरुद्ध आवाज बुलन्द बनाउन अभियानमा जोडिएको बताउँछिन्। “महिलालाई हरेक क्षेत्रमा पछाडि पारिएको छ,” उनी भन्छिन्, “महिलाहरूलाई अहिले पनि घरको काममा व्यस्त राख्छन्, पुरुषहरूले। चुनावमा उम्मेदवार बनाइहाले पनि नेतृत्व तहमा टिकट दिँदैनन्। मेयरको टिकट पुरुष र उपमेयरको महिलालाई दिन्छन्। महिलालाई नेतृत्वमा स्थान दिनुपर्छ भनेर अभियानमा जोडिएकी हुँ।”
अभियानका क्रममा विभिन्न तालिम र शिक्षामूलक कार्यक्रम पनि गरिइरहेका छन्। उनीहरू हरेक आइतबार जुम मिटिङ राख्छन् र विभिन्न विषयमा छलफल गर्छन्। कहिले आफ्ना अनुभव सुनाउछन्, कहिले विज्ञ ल्याएर छलफल गर्छन्।
कसरी शुरू भयो अभियान?
अनुपम अभियान स्थानीय, प्रदेश र संघीय शासन प्रणालीको निर्णय लिने ठाउँमा महिलाहरूको समान सहभागिताको वकालत गर्न शुरू गरिएको अभियन्ता रिता थापा बताउँछिन्। अन्तरपुस्ता महिलावादी फोरमले यो अभियान २०८० सालदेखि २०८४ सम्मका लागि गरिरहेको छ।
जब महिला अधिकारकर्मी रिता थापा, स्टेला तामाङ र लक्ष्मी घलानले अन्तरपुस्ता महिला फोरम शुरू गर्दैगर्दा २०७९ सालको स्थानीय चुनाव हुँदै थियो। विभिन्न दलले गठबन्धन गरेका थिए। गठबन्धनका कारण महिलाहरूले निर्वाचनमा टिकट पाउनै मुस्किल भएको थियो। पाएकाले पनि हारेका थिए।
यो देखेर आफूहरूलाई उकुसमुकुस भएको थापा बताउँछिन्। टिकट दिइएकालाई पनि मुख्य पदमा नदिने र महिला उम्मेदवारलाई सहयोग पनि नगर्ने अवस्था देखिएको उनको भनाइ छ। “पार्टीको जति सेवा गरे पनि गठबन्धन र अनेक बहानामा महिलाहरूलाई बाहिरै राखियो। यसले सोच्न बाध्य बनायो,” उनी भन्छिन्।
चुनावको नतिजापछि राजनीतिक दलहरूले महिलालाई प्रयोग मात्रै गरेको देखिएको उनी बताउँछिन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा ७५३ पालिकामध्ये २५ वटामा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाए। बाँकी ७२८ पदमा पुरुष नै नेतृत्वमा पुगे।
वर्तमान प्रतिनिधिसभामा पनि २७५ सांसदमध्ये पुरुष १८३ र महिला ९२ जना छन्। अझ प्रत्यक्ष निर्वाचित महिला सांसद त नौ जना मात्रै छन्। यसबाट उनीहरूले निष्कर्ष निकाले– नेतृत्वका लागि अब पर्खनु हुँदैन।
“खासमा पितृसत्तात्मक पार्टीहरूले महिलालाई प्रयोग गरे, जुन कुरा निर्वाचनले देखायो। पार्टीमा जति सेवा गरे पनि उनीहरूलाई स्थानीय संघसंस्थामा समेत स्थान दिइएन,” थापा भन्छिन्, “अब अर्को चुनावसम्म अधिकारका लागि पर्खनु हुँदैन, एउटा आन्दोलन शुरू गर्नुपर्छ भन्ने लाग्यो र छलफल गर्यौँ।”
उनीहरूले कम्तीमा पाँच वर्षको एउटा योजना बनाउने निर्णय गरे। त्यसलाई ‘अनुपम अभियान’ नाम दिए। अभियानलाई देशभर लैजान सातै प्रदेशमा विभिन्न क्षेत्रमा काम गरिहेका महिलाहरूसँग छलफल गरे। थापा भन्छिन्, “पहिला एउटा कोष शुरू गर्यौँ। किनकि हामीसँग पैसा थिएन। एकजना साथीले केही सहयोग गरे, तर अन्य केही योजना बनेको थिएन।”
छलफल गर्दैै जाँदा आन्दोलनको योजना बन्यो— पहिलो वर्ष बस यात्रा, दोस्रो वर्ष देशैभर पैदल यात्रा, तेस्रो राजनीतिक खबरदारी, चौँथो वर्ष वृहत् कोण सभा र अन्तिम वर्ष चुनावमा महिलालाई प्रोत्साहन तथा सहयोग।

अभियानका लागि उनीहरूले महिलावादी गीत गाउँदै यात्रा गर्ने योजना बनाए। महिलावादी गीत पनि स्थानीय महिलाहरूबाटै लिने निर्णय गरे। अनि गाउँका दिदीबहिनीबाट गीत मागे। ४५ वटा गीत भेला भएका थिए, तीमध्ये १७ वटा अभियानका लागि छनौट गरे। थापा भन्छिन्, “हाम्रा दिदीबहिनीले लेखेका गीतहरू कुनाकाप्चामा होला भनेर खोज्यौँ। गीत छान्नका लागि आभाष, श्रवण मुकारुङ र झुमा लिम्बूलाई अनुरोध गर्यौँ।”
त्यसबाहेक श्रवण मुकारुङले पनि एउटा गीत लेखिदिए, त्यसमा आभाषले संगीत भरे। यसरी १८ वटा गीत भए। गत वर्ष तिनै गीत गाउँदै उनीहरूले पूर्व र पश्चिमबाट बस यात्रा गरेर नवलपरासीमा भेला भए। विभिन्न विषयमा छलफल गरे।
“गाउँगाउँबाट दिदीबहिनीहरू आउनुभयो। खानेकुरा मात्रै होइन, जेजे सकिन्छ बोकेरै आउनुभयो। हामीले गीत गायौँ, चित्त नबुझेको कुरा भन्यौँ,” उनी भन्छिन्, “अहिले दोस्रो वर्ष चलिरहेको छ। देशैभर पैदल यात्रा गर्दै अनुपम अभियान गरिहेका छौँ।”
उनीहरूले यो अभियानमा महिला, पुरुष, दलित, अपांगता भएका, मुश्लिम, आदिवासी सबैलाई सहभागी हुन आह्वान गरिरहेका छन्। अहिले चलिरहेको पैदल यात्रालाई यही मार्च महिनामामा टुंग्याएर अर्को चरणमा राजनीतिक खबरदारीमा लाग्ने थापा बताउँछिन्। “संविधानले दिएका अधिकार पूरा नभएका ठाउँमा गएर खबरदारी गर्छौं,” उनी भन्छिन्, “पार्टीहरूको म्यान्डेट के हो? कस्ता म्यान्डेट लिएर आएका छन्? काम गराइ र बोलाइमा के फरक छ? महिलाहरूले के भोगिरहेका छन्? यी सबै विषयमा छलफल गर्छौं।”

यो अभियानमा जुनसुकै दलका महिला पनि जोडिन सक्छन्। यसरी जोडिएका महिलालाई अझै शिक्षित र प्रोत्साहित गरेर नेतृत्व तहमा पुर्याउने लक्ष्य रहेको थापा बताउँछिन्। “यो एकदमै लामो प्रक्रिया हो। २०८४ को चुनावमा धेरै महिलालाई नेतृत्वमा पुर्याउने लक्ष्य छ। हेरौँ भोट आउन पनि सक्छ, नआउन पनि सक्छ। तर हामी निरन्तर अगाडि बढिरहन्छौँ,” उनी भन्छिन्।
अहिले यो अभियानमा जोडिएर महिलाहरू सामूहिक अध्ययन पनि गरिरहका छन्। हरेक महिना देशैभरबाट जुम मिटिङ गरेर एक–अर्कासँग संविधान, राजनीति, पर्यावरणलगायतका विषयमा छलफल गर्छन्। यस्तै छलफलबाट हरेक ठाउँमा महिला नेतृत्व जन्माउने र प्रोत्साहन गर्ने उनीहरूको लक्ष्य छ।
उनीहरूको यो प्रयत्नलाई बुझाउन मकवानपुरकी कल्पना पराजुलीले गीत लेखेकी छन्—
‘नारीले नै अब देश चलाउनुपर्छ
पुरुषको शासन सत्ता ढलाउनुपर्छ
देश विकाशमा नारी हुनु छ पहिला
प्रधानमन्त्री हजुर बनाउनु छ महिला
पुरुषको पछिपछि कति लाग्ने महिला
८४ को चुनावमा हुनुपर्छ पहिला
देश विकाशमा नारी हुनु छ पहिला
प्रधानमन्त्री हजुर बनाउनु छ महिला।’