काठमाडौँ– पानीले भिजेका रेकर्ड फाइल तथा बिल, हिलाम्मे औषधि तथा सलाइन पानीका बोतल अनि कम्प्युटर, किबोर्ड, माउस। थापाथली प्रसूति मार्गस्थित काठमाडौँ पोलिक्लिनिकको कौसीको दृश्य हो यो। गत फागुन २० गते दिउँसो थापाथली पुग्दा स्टोर किपर सत्यनारायण मेहता यी सामग्री घाममा सुकाइरहेका थिए।
भुईंतलामा रहेको पल्पसा क्याफे हुँदै एक तलामाथि रहेको औषधि पसलको स्टोरमा समेत पानी पसेको थियो। ठूलो वर्षा भएर भेलबाढीले उक्त ठाउँ डुबानमा परेको होइन। बरु मेलम्ची खानेपानीको भूमिगत पाइप फुट्दा उर्लिएको पानीले डुबान भएको थियो।
फागुन २० गते बिहान साढे ५ बजे थापाथली प्रसूति मार्गमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्यो। करिब एक घण्टा पाइपबाट पानी बग्यो। बिहान ७ बजेतिर बल्ल बहाव कम भएको थियो। वेगका साथ आएको पानी आसपास बग्ने क्रममा भिरालोमा रहेका क्याफे र औषधि पसल रहेको भवनमा पस्यो।

बिहान साढे ७ बजेतिर काठमाडौँ महानगर प्रहरी बलले त्यहाँका सामग्री सार्न सहयोग गरेको स्टोर किपर मेहता बताउँछन्। डुबानले औषधि मात्र नभई बिल र कारोबारका कागजातसमेत भिजेका छन्। करिब ७०–८० लाखको क्षति भएको उनको अनुमान छ। डुबानमा परेका सामग्री हेर्दै उनले भने, “मेलम्चीले डुबायो।”
औषधि पसलनजिकै स्थानीय विमला योगीको कपडा पसल छ। १५ वर्षदेखि उनी परोपकार प्रसूति अस्पतालमा सुत्केरी तथा शिशुका कपडा बेच्दै आएकी छन्। १५ वर्षमा वर्षायाममा समेत यस खालको घटना नभएको उनी बताउँछिन्। डुबानले सवारी आवागमन अस्तव्यस्त रहँदा व्यापारमा समेत प्रभाव परेको उनको भनाइ छ।

“धन्न हाम्रो पसलमा त्यस्तो केही भएन छ, तर त्यो मेडिकलमा ठूलै घाटा भयो,” मोबाइलमा रेकर्ड गरेको भिडियो हेर्दै उनले भनिने, “राति यस्तो भएको भए झन् कति क्षति गर्थ्यो होला!”
मेलम्चीको पाइप फुटेर क्षति भएको यो पहिलो घटना भने होइन। गत माघ ३० गते बबरमहलस्थित विशेष अदालतअघि पनि मेलम्चीको पाइप फुटेर बाटो जलमग्न भएको थियो। विशेष अदालत र वन कार्यालयमा पानी पसेको थियो र सवारी आवागमन केही घण्टा अस्तव्यस्त बनेको थियो।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल)का अनुसार, बबरमहलमा पाइप फुट्दा १० लाख लिटर र थापाथलीमा पाँच लाख लिटर पानी खेर गएको छ। केयूकेलका प्रबन्धक डा. डोलाप्रसाद चापागाईं यसलाई 'दुर्घटना' भन्छन्। “विस्फोट भएको २० इन्चको पाइपमा ५०० मिलिलिटर पानी बग्थ्यो। सो पाइपमा २७ इन्च लम्बाइ चर्किएको थियो। प्रारम्भिक अध्ययनमा विद्युत्को लाइन बिछ्याउने क्रममा पाइपमा हल्का स्क्र्याच देखिएको छ।”

स्क्र्याचले पाइपलाई कमजोर बनाउँदा पानीको बेगले फुटेको उनी बताउँछन्। मेलम्ची खानेपानीको १७–१८ करोड लिटर पानी केयूकेलले वितरण गर्दै आएको छ। पछिल्लो समय उपत्यकाका विभिन्न स्थानमा पाइप फुट्ने घटनालाई सतही रूपमा टिप्पणी गर्न नसकिने उनको तर्क छ। “बबरमहलकै सन्दर्भमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रेलिङ मेसिनले पाइपलाई सोझै हानेको थियो,” उनी भन्छन्, “आजको यो केस (फागुन २० गते पाइप फुटेको) त्योभन्दा फरक हो।”
मापदण्ड पालना गर्न नसक्नु कमजोरी
पछिल्लो समय बबरमहल, खुलामञ्च, नयाँ बजार क्षेत्रमा भएका घटनाले मेलम्चीको पानी वितरणका लागि प्रयोग भएको पाइपको गुणस्तरमा प्रश्न उठ्न थालेको छ। यसमा मिहिन समीक्षा हुनु पर्ने प्रबन्धक चापागाईं बताउँछन्। शहरका सडकको अवस्था र प्रकारअनुसार प्राविधिक मापदण्ड पालना गर्न नसक्नु पनि कारण भएको उनी बताउँछन्।

“नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्नका लागि १.५ देखि २ मिटर गहिरो खन्नुपर्छ। खानेपानीले एक मिटरभन्दा कम गहिराईमा पाइप बिछ्याउन पाउँदैन,” उनी भन्छन्, “दूरसञ्चारका लाइनको हकमा पनि त्यही हो।”
तर जमिनमुनि भेटिने अनेक खालका युटिलिटी (दूरसञ्चारका केबल, विद्युत् प्राधिकरणका तार, सडक निर्माणका काम) कारण मापदण्ड पूर्णरूपमा पालना भइरहेको छैन। सोही सडकमाथि निरन्तर सवारीसाधन आवतजावतले पाइपलाई अझ कमजोर बनाइदिन्छ। यस्तो अवस्थामा अप्रत्यक्ष रूपमा पाइप जोडिएका स्थानमा पर्ने दबाब, स्क्र्याच हुने कारण पाइप फुट्ने घटना हुने गरेको डा. चापागाईं बताउँछन्। “यसले सरोकारवालाबीचको आपसी समन्वयको अत्यावश्यकतालाई दर्साउँछ,” उनी भन्छन्।
त्यस्तै, मेलम्ची पानीको वितरण नियमित हुनु नसक्नु अर्को समस्या हो। चापागाईंका अनुसार मेलम्ची खानेपानी आयोजना अन्तर्गत केयूकेएलले काठमाडौँमा १८ करोड लिटर पानी दैनिक वितरण गर्छ। यद्यपि, पानी वितरण निरन्तर नभई दिन बिराएर हुने गर्छ। “दिन बिराएर पानी वितरण गर्दा पानीको फ्लो घटबढ हुन्छ। यसले पाइपमा हावा सञ्चित गर्छ। जसले विस्फोट निम्त्याउँछ,” उनी भन्छन्।

पूर्वाधारविज्ञ आशिष गजुरेल पनि यसमा सहमत देखिन्छन्। गजुरेल पानीका बहाव क्षमताभन्दा बढी भएर पाइप फुट्ने गरेको बताउँछन्। पाइप जोडिएको स्थान कमजोर भएमा वा पाइप कमसल भएमा पनि यस्ता समस्या आउने उनको भनाइ छ।
“यद्यपि, दुर्घटनाको सटिक कारण भने पूर्ण प्राविधिक अध्ययन नगरी भन्न सकिँदैन,” गजुरेल भन्छन्, “केही समययता हुने गरेका पाइप विस्फोटका घटनालाई नजरअन्दाज गर्न मिल्दैन।”
भवितव्य हुने यस्ता घटनाको समयमै सम्बोधन नभए निकट भविष्यमा मानिसको ज्यानसमेत जोखिममा पर्ने उनी बताउँछन्। “एकैसाथ चार–पाँच स्थानमा यसरी भ्वाङ परिदियो भने काठमाडौँ ठप्प हुने स्थिति आउँछ,” उनी भन्छन्।