काठमाडौँ– औषधि व्यवस्था विभागले दर्ता नभएको औषधि बेच्ने टेकु अस्पतालअगाडिका फार्मेसीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
विभागको टोलीले अनुगमन गर्दा टेकु अस्पतालअगाडि सञ्चालनमा रहेको रेमिडियन फार्मेसीबाट दर्तै नभएको चार भायल टीड्याप औषधि जफत गरेको छ। मूल्य मेटाएर राखेको अवस्थामा उक्त औषधि जफत गरिएको विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए।
“विभागमा दर्ता नभएको औषधि, त्यो पनि मूल्य मेटेर राखिएको पाइयो। अहिलेलाई त्यो जफत गरेका छौँ। विभागले थप कारबाही अघि बढाउने छ,” उनले भने।
उनका अनुसार रेमिडियनसँगै रहेका अन्य दुई फार्मेसीमा भने उक्त औषधि भेटिएन। उनीहरूले आफूहरूले बेच्ने नगरेको बताएको खानको भनाइ छ। यद्यपि, अनुसन्धान जारी रहने उनले बताए।
उकालोले गत माघमा दर्तै नभएको टिड्याप औषधिको मूल्य मेटेर चर्काे मूल्यमा बिक्री गरिरहेकोबारे समाचार प्रकाशन गरेको थियो। त्यसपछि विभागको निरीक्षण टोलीले अनुगमन गरेको थियो।
औषधि ऐन २०३५ को दफा ८ ‘ख’ले औषधि पैठारी गर्न चाहनेले विभागमा दर्ता गर्नुपर्ने उल्लेख छ। यस्तै, औषधि दर्ता नियमावली २०३८ को दफा ४ ‘क’ले बिक्रीवितरण गर्नुअघि र ‘ख’ले पनि औषधि पैठारी गर्नुअघि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। तर कतिपय औषधि पसलले विभागमा दर्तै नगरी पैठारी र बिक्रीवितरण गर्दै आएको पाइएको थियो। त्यो पनि दोब्बर बढी मूल्यमा। दर्ता नै नगरी ऐन विपरीत बिक्रीवितरण गरेमा तीन वर्ष कैद या २५ हजार रुपैँया जरिबाना या दुवै सजाय हुने कानूनी व्यवस्था छ।
यो पनि: निजी फार्मेसीमा टीड्याप खोपको चर्को मूल्य, औषधि विभागमा दर्ता नै छैन