Thursday, March 20, 2025

-->

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ।

पेट्रोलको मूल्य बढ्यो डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको शनिबारको बैठकले आइतबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाउन र डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार पेट्रोल साबिकको मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटेको हो।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६५.४०, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ कायम भएको छ।

त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ निर्धारण गरिएको निगमले शनिबार साँझ विज्ञप्ति जारी गरेर जनाएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँ बढेको र डिजल र मट्टितेल ३.५९ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिमा एलपी ग्यास र हवाई इन्धनको मूल्य घटबढबारे भने उल्लेख छैन।


सम्बन्धित सामग्री