काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २ हजार ६८५.७३ को विन्दुमा कायम भएको हो।
आज ३०७ कम्पनीको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर ८२ हजार ८५० पटक खरिदबिक्री हुँदा आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा विकास बैंक १.३३, वित्त १.५६, लगानी १.२२ र जीवन बिमा समूह १.४८ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.०९ होटल तथा पर्यटन ०. ६३, जलविद्युत् ०.०४ र उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशतले घटेको छ।
त्यस्तै, लघुवित्त ०.११, म्युचुअल फन्ड ०.०९, निर्जीवन बिमा ०.०३, व्यापार ०.९१ र अन्य समूह ०.४७ प्रतिशतले घटेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी ३९ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फन्डको पाँच लाख १४ हजार १०० कित्ता शेयर किनबेच भएको छ।