Monday, March 24, 2025

-->

काठमाडौँका १३ ठाउँमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान, ट्राफिक व्यवस्थापनमा कति सहज?

काठमाडौँ महानगरले विभिन्न १३ स्थानमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान गरेको छ। जसले सडक पार गर्न सहज हुनेदेखि सवारी दुर्घटनाको जोखिम कम हुने महानगरको अपेक्षा छ।

काठमाडौँका १३ ठाउँमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान ट्राफिक व्यवस्थापनमा कति सहज

काठमाडौँ— काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही शैक्षिक संस्था र पैदलयात्रुको आवतजावत भइरहने १३ स्थानमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ सञ्चालनमा ल्याएको छ। 

महानगरले पदलयात्रुको बढी चाप हुने अस्पताल, शैक्षिक संस्था रहेका स्थानहरू सिनामंगल, बागबजार, बालुवाटार, सोह्रखुट्टे, नक्साल, नारायणचौर, बत्तिसपुतली, चाबहिल, डिल्ली बजार, छाउनी, महाराजगन्ज, कालीमाटी र भृकुटीमण्डपका सडकमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ सञ्चालनमा आएको हो। अब काठमाडौँका यी स्थानमा आवश्यक परेको खण्डमा पैदलयात्रु आफैले बटन थिचेर सडक पार गर्न सक्ने छन्।

काठमाडौँ महानगरभित्रका ३३ वटा शैक्षिक संस्थाहरू पर्ने सडकसहित ३६ स्थानमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ अर्थात् ‘पुस बटन’ जडान गर्ने तयारीअनुसार अहिले १३ स्थानमा जडान सम्पन्न भएको काठमाडौँ महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए। उनका अनुसार पैदलयात्रुको चाप हेरेर आवश्यकताको आधारमा यो उपकरण जडान गरिएको हो।

यसबाट पैदलयात्रुले चाहानाअनुसार पुस बटन थिचेर सहजै बाटो काट्न सक्ने र दुर्घटनाको जोखिम कम हुने उनको भनाइ छ। “हाम्रो देशमा पैदलयात्रुलाई प्राथमिकता दिइँदैन। जबकि सवारीचालकको तुलनामा पैदलयात्रु धेरै छन्। यस्तोमा यो शुरू गर्दा पैदलयात्रुलाई सहज हुनेमा हामी पूर्ण विश्वस्त छौँ,” उनले भने । 

श्रेष्ठका अनुसार यो उपकरण कुनै निश्चित समयमा पैदलयात्रुको चाप हुने स्थानमा जडान गरिन्छ जसले बाटो काट्न सहज बनाउँछ। साथै सवारीचालकले पनि आफ्नो समयमा निस्फिक्री आवतजावत गर्न सक्छन्। यसका लागि सडक चौडाइ हेरेर समय तोकिन्छ।

पैदलयात्रुले एक मिटर पार गर्न एक सेकेन्ड लगाउने अनुमानअनुसार सडकको चौडाइ हेरेर समय तोकिन्छ। समयको सूचना लाइटसँगै राखिएको डिस्प्लेमा हेर्न सकिने उनले बताए। एक पटक बटन थिचेपछि फेरि अर्को पटकका लागि कम्तिमा एक मिनेट कुर्नुपर्ने छ। यद्यपि सवारीसाधनको चाप हेरेर समय तलमाथि हुनसक्ने उनले बताए।

महानगरले पुस बटन यसअघि नै बबरमहलमा जडान गरिसकेको थियो। परीक्षणका रूपमा जडान गरिएको उक्त उपकरण सफल भएसँगै अन्य स्थानमा पनि शुरू गरिएको श्रेष्ठले बताए। यसमा काठमाडौँ महानगरले करिब दुई करोड रुपैयाँ खर्च गरेको छ।

श्रेष्ठका अनुसार एउटा उपकरणलाई ६ लाख हाराहारी रकम परेको हो। “बबरमहलमा सडकको चौडाइ बढी छ। त्यहाँ सामग्री धेरै लागेकोले सातदेखि आठ लाख रुपैयाँसम्म खर्च भएको थियो। कुन सामग्री कति प्रयोग भयो भन्नेमा भर पर्छ,” उनले भने।

पुस बटन जडानपछि यसको प्रयोगबारे जनचेतना जगाउने काम भइरहेको महानगरले जनाएको छ। महानगरले विभिन्न विद्यालय, क्याम्पस र सडकमै पनि जनचेतनाको कार्यक्रम गरिरहेको छ। “सडकमै जनचेतना जगाइरहेका छौँ भने विभिन्न सञ्चारमाध्यमबाट यो व्यवस्थाबारे जानकारी दिइरहेका छौँ,” उनले भने।

उनका अनुसार शुरूका केही दिन महानगरका कर्मचारी र नगरप्रहरीसहित ट्राफिक प्रहरीको सहयोगमा सडकमै खटिने काम भइरहेको छ। जनचेतनामूलक कार्यक्रमअन्तर्गत बुधबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा कार्यक्रम गरेको थियो।

क्याम्पसकी छात्रा करुणा खत्रीले यसअघि क्याम्पससामुन्ने ट्राफिक लाइट नहुँदा बाटो काट्न असहज हुने गरेको अनुभव सुनाइन्। अहिले क्याम्पसअघि नै अन डिमान्ड क्रसिङको व्यवस्था हुँदा उनी खुशी छिन्। यसको व्यवस्थाले बाटो काट्न सहज हुने उनको अपेक्षा छ। “पहिले सडक पार गर्नु पर्दा हातले इसारा गर्नु पर्दथ्यो जुन त्यति प्रभावकारी हुँदैन थियो। अब त बटन थिचेपछि सुरक्षित रूपमा बाटो काट्न सकिने भयो,” उनले भनिन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने प्रत्येक मिनेटमा प्रयोग भइरहँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिने आशंका गरेको छ। कार्यालयका प्रवक्ता सञ्जयबहादुर राउतले आवश्यकताअनुसार बटन थिचेर प्रयोग गर्दा सवारी आवतजावत अझ अव्यवस्थित हुने उनी बताउँछन्।

“चाहे एक जना होस् या धेरै जना, एक या दुई मिनेटको दौरानमा रोडक्रस गर्न मिल्छ भने जथाभाबी थिचिदिन सक्छन्। त्यसले सवारी आवतजावत झन् अस्तव्यस्त बनाउन सक्छ,” उनले थपे, “पैदलयात्रुको चाप हुने निश्चित समयमा दैनिक एक या दुई घण्टा यो सिस्टम लागू गर्न सुझाव दिएका छौँ। जसले सबैले सहज हुन सक्छ।”

सवारीचालक मनोज विष्टले पनि यो व्यवस्था हुँदा झन् समस्या बढ्न सक्ने बताए। “बबरमहलमै हेरौँ एक जना सडक पार गर्नका लागि ३० सेकेन्डभन्दा धेरै दिइएको छ। जबकि एकापट्टि सडक १० सेकेन्डमै काट्छ। तर बाँकीको समय त्यसै कुर्नुपर्छ। फेरि दुई मिनेट सवारी चलेपछि फेरि त्यही दोहोरिन्छ। यो व्यवस्था राम्रो हो तर यी कुरालाई पनि सोच्नु पर्छ। अन्यता समस्या बढ्न सक्छ,” उनले भने।


सम्बन्धित सामग्री