काठमाडौँ– गम्भीर वित्तीय संकटमा परेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाको जिम्मेवारी लिने विषयमा पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह नेतृत्वको समूहले २०८१ जेठ ९ मै सहकारीको तत्कालीन सञ्चालक समितिसँग समझदारी गरिसकेको थियो। त्यसको दुई महिनापछि, साउन २८ गते सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएपछि मात्र सुमेरु सहकारीमा सिंहको प्रवेश भएको विषय चर्चामा आयो।
दुई दशकसम्म सहकारीमा हालीमुहाली गरेका भरत महर्जन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर फरार (विदेश पलायन) भएपछि सुमेरुको सम्पूर्ण सम्पत्ति र दायित्व सकार्न सिंहको समूह अघि सरेको थियो। त्यहीअनुसार यो समूहले सहकारी संस्था र सुमेरु ग्रुपअन्तर्गतका सम्पूर्ण सम्पत्ति तथा दायित्व लिएर यथास्थितिमै संस्थालाई विधिवत् रूपमा सञ्चालन गर्न तत्कालीन सञ्चालक समितिसँग समझदारी गरेको थियो।
यो समझदारीपछि गत असारमा सहकारीको साधारणसभा बोलाएर वीरेन्द्र महर्जनको नेतृत्वमा आठ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरियो जसमा हरिशचन्द उपाध्यक्ष बने। त्यस्तै, सचिवमा ओभिल गुरुङ मनाङ्थेन, कोषाध्यक्षमा राजन राई, सदस्यहरूमा गोकुलबहादुर रोकाय, ध्रुवबहादुर शाह र अनिल मल्ल चयन भए।
राजबहादुर सिंह शेयर सदस्यका रूपमा मात्र रहने भन्दै सञ्चालक समितिको अध्यक्षमा महर्जनलाई अगाडि सारिए पनि पर्दापछाडि भने सिंह नै हर्ताकर्ता थिए।
सिंहसहितको नयाँ सञ्चालक समिति आएको ६ महिनामै सुमेरु सहकारीलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको छ। बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारीका अनुसार ललितपुरको पुल्चोकमा रहेको सुमेरुको केन्द्रीय कार्यालयसहित धापाखेल र भक्तपुरको गट्ठाघरमा रहेका कार्यालय समितिले नियन्त्रणमा लिइसकेको छ। सहकारीमा रहेका सर्भर, सफ्टवेयर, खातालगायत अभिलेख नियन्त्रणमा लिइसकेपछि बचतकर्ताको निक्षेप र ऋणीबारे विवरण संकलन गर्ने काम भइरहेको उनले बताए।
वित्तीय संकटमा परेको सुमेरुमा सिंह समूहको प्रवेशलाई एकथरीले शंकाको नजरले हेरेका थिए। अर्काथरीले भने बचतकर्ताले रकम फिर्ता पाउने आशा पनि गरेका थिए। सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिमा बयान दिने क्रममा सिंहले आवश्यक परे आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको आंशिक रकम ‘सेटल’ गर्ने र बचतकर्ताको विश्वास जितेर क्रमिक रूपमा सहकारीलाई नियमित सञ्चालन गर्ने योजना सुनाएका थिए। उनको यो योजनालाई सरकारले किन विश्वास गरेन? ६ महिनापछि नै सुमेरुलाई किन समस्याग्रस्त घोषणा गरियो?
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी महाशाखाका रजिस्ट्रार कुमार तामाङले राजबहादुर सिंहको समूहले बचतकर्ताको रकम फिर्ता गर्ने स्पष्ट आधार पेश गर्न नसकेकाले सहकारीलाई समस्याग्रत घोषणा गरिएको बताए। “नयाँ सञ्चालकले प्रोपर्टी यति छ भनेर त देखाउनुभयो, तर उहाँहरूले देखाएको सम्पत्ति संस्था (सहकारी)को नाममा हुनपर्यो नि! संस्थाको नाममा हुने हो भने न हामीले विश्वास गर्ने हो,” उनले भने।
आफ्नो व्यक्तिगत सम्पत्ति देखाएर सहकारीको समस्या सुल्झाउँछु भन्दै सिंहको समूहले गरेको दाबीलाई विश्वास गर्ने कुनै आधार नदेखिएको तामाङ बताउँछन्।
“सहकारीको समस्या सुल्झाउनुपर्ने छ, उहाँहरूले आफ्नो व्यक्तिगत स्रोत देखाएर समस्या हल गर्छु भनेर मात्र विश्वास गर्ने अवस्था रहेन। उहाँहरूले सुमेरु हस्पिटल देखाउनुहुन्छ, सुमेरु हस्पिटल सहकारीको नाममा हो भने समस्या नै भएन,” उनले प्रश्न गरे, “तर सहकारीको नाममा नभएको हस्पिटलबाट सकारेर बचतकर्ताको पैसा दिलाउँछु भन्दा हामीले कसरी विश्वास गर्ने?”
सिंहको समूह सुमेरुमा भित्रिएसँगै एकथरीले अनेक आशंका गरेका थिए। राजा ज्ञानेन्द्रको शासनकालमा विभिन्न व्यवसायमा देखापरेका उनको विगतलाई नजिकबाट चिन्नेहरू सुमेरु थप समस्यामा पर्ने सुनाउँथे। त्यति हुँदाहुँदै पनि बचतकर्तामा रकम फिर्ता भइहाल्ला कि भन्ने झिनो आशा भने थियो। उनीहरू त्यसमा विश्वस्त भने थिएनन्। सुमेरु सहकारी पीडित संघर्ष समितिका संयोजक बलरामराज भण्डारी नयाँ सञ्चालक समितिले जिम्मेवारी लिएको ५–६ महिनाको समयमा पनि बचतकर्ताको रकम फिर्ता गर्ने कुनै पहल नगरेको बताउँछन्।
“बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पीडितले दुई वर्षअघि नै निवेदन दिएका हौँ, यो बीचमा सञ्चालक समिति फेरिएर राजबहादुरको टिम आएको पनि ५–६ महिना भइसक्यो। बरु पुराना र नयाँ सञ्चालक मिलेर समस्याग्रस्त घोषणा नगर्न निकै दबाब दिए। तर उनीहरूले काम गर्ने कुनै आधार देखिएन,” भण्डारीले भने।
सुमेरुलाई समस्याग्रस्त घोषणा गरेर सहकारीको सम्पूर्ण दायित्व र सम्पत्ति सरकारले लिएपछि भने बचतकर्ताहरू आफ्नो रकम फिर्ता पाउनेमा आशावादी देखिएका छन्।
दुई दशक एकछत्र सञ्चालक रहेका भरत महर्जन बचतकर्ताको रकम हिनामिना गरेर फरार भएपछि बागमती प्रदेशको सहकारी महाशाखाको निर्देशनमा तत्कालीन व्यवस्थापनले २०८० वैशाख १८ मा संस्थाको आर्थिक अवस्था विश्लेषणसहितको श्वेतपत्र जारी गरेको थियो। श्वेतपत्रमा सुमेरु सहकारीका पुल्चोक ललितपुरस्थित केन्द्रीय कार्यालयसहित तीन शाखा र कालीमाटी काठमाडौँको कार्यालयमा समेत गरी ३४ हजार ७७८ जना बचतकर्ताको १० अर्ब ३४ करोड रुपैयाँ बचत रहेको उल्लेख छ।

श्वेतपत्रमा सुमेरु ग्रुपबाट सञ्चालित अस्पतालसहित संस्थाको कुल सम्पत्तिको मूल्यांकन भने ११ अर्ब ४९ करोड देखाइएको छ। संस्थाबाट प्रवाह भएको ऋण चार अर्ब १० करोड, ऋणसहित संस्थाको कुल सम्पत्ति १५ अर्ब ६० करोडबाट दायित्व १० अर्ब ३४ करोड घटाउँदा खुद नाफा–सम्पत्ति चार अर्ब ९२ लाख रुपैयाँ हुने श्वेतपत्रमा उल्लेख छ। श्वेतपत्रमा देखाइएको सम्पत्ति मूल्यांकनलाई विश्वास गर्न नसकिने बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी बताउँछन्।
“हामीले संस्थाको सम्पत्ति र दायित्वबारे अध्ययन गर्न बाँकी छ, अहिले नै यकिन भन्न सकिन्न,” उनले भने, “प्रारम्भिक रूपमा बुझ्दा त्यहाँ देखाइएको विवरण सही हो भन्न सक्ने अवस्था छैन।”
भरत महर्जनको सामाज्य, त्यही हत्याउने लोभ
२०५७ सालमा स्थापना भएको सुमेरु सहकारीमा लगातार दुई दशकसम्म भरत महर्जन नै प्रमुख जिम्मेवारीमा थिए। ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयसहित धापाखेल र भक्तपुरको गट्ठाघरमा शाखा रहेको सुमेरु सहकारीमा सात अर्ब २३ करोड बचत रहेको सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा उल्लेख छ।
महर्जनले कालीमाटीमा पनि सुमेरु सहकारी सञ्चालन गर्दै आएका थिए। कालीमाटीको सहकारी काठमाडौँ महानगरपालिकामा दर्ता भएकाले यो काठमाडौँ महानगरको नियमनमा छ। कालीमाटीमा पनि बचतकर्ताको करिब सात अर्ब रुपैयाँ दायित्व रहेको महानगरले गरेको अनुगमनले देखाउँछ। सुमेरु बचत तथा ऋण सहकारी संस्था कालीमाटीमा उनकी श्रीमती राजमाया महर्जन संस्थापक अध्यक्ष थिइन्। पछिल्लो समय उनका छोरा सचिन महर्जन अध्यक्ष बनेका थिए।
परिवारका सदस्य, नातागोता र विश्वासपात्रलाई मात्र सञ्चालक राखेर आफूअनुकूल एकल निर्णय गर्दै आएका भरत महर्जन सहकारीमा समस्या आएपछि सपरिवार बेलायत भागेका थिए। महर्जनविरुद्ध नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेको छ। उनको नेपालमा रहेको सम्पत्ति रोक्का छ।
सुमेरु सहकारीका बचतकर्ताको रकम अपचलन गरेर महर्जनले धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी सञ्चालन गरेको सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एन्ड ट्राभल्स कम्पनी, सुमेरु इन्भेस्टमेन्ट कम्पनीजस्ता व्यवसाय खडा गरेको प्रतिवेदनमा उल्लेख छ।
सहकारीका बचतकर्ताको रकम अपचलन गरेर यसरी बेलगाम सम्पत्ति जोडेपछि महर्जन २०७६ सालमा संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिवको जिम्मेवारी सुम्पँदै आफ्ना अन्य आफन्तलाई सञ्चालक समितिमा राखेर सञ्चालक समितिबाट बाहिरिएका थिए। राजबहादुर सिंह समूह पनि यिनै सम्पत्ति देखेर सुमेरुमा भित्रिएको देखिन्छ।
राजबहादुरको समूह आउनुअघि, सोही सम्पत्तिमा आँखा लगाएर सुमेरु सहकारी व्यवस्थापन गर्ने भन्दै देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष (हाल सहकारी ठगीमा कारागारमा रहेका) रवीन्द्र चौलागाईं, डा. बलराम पाठकसहितको समूह पनि आएको थियो। २०७९ फागुनमा सहकारीको विशेष साधरणसभा गरेर यो समूहले देउरालीकै सल्लाहकार रहेका कृष्ण कँडेललाई सञ्चालक समितिको अध्यक्ष बनाएको थियो।

त्यसपछि हेमराज दाहाल समूहले कँडेल समूहलाई सहकारी संस्थाको नेतृत्वसँगै पुल्चोकस्थित सुमेरु सिटी अस्पताल र शंकरापुर कलेजको शेयरसमेत हस्तान्तरण गरेको थियो।
त्यसबेला भरत महर्जन भने परिवारसहित भागेर बेलायत पुगिसकेका थिए।
तर दाहाल समूहले प्रतिबद्धताअनुसार सुमेरुको सम्पूर्ण निक्षेप र कर्जाको विवरण, सञ्चालक तथा कम्पनीका नाममा रहेका चलअचल सम्पत्ति विवरणसमेत उपलब्ध नगराएको भन्दै देउराली सहकारीको यो समूह ६ महिनामै सुमेरुबाट अलग्गियो। सहकारीबाट अलग्गिए पनि बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा भने सञ्चालक समितिमा कृष्णप्रसाद कँडेल, रवीन्द्र चौलागाईं लगायतको समूह नै रहेको थियो। त्यहीकारण राजबहादुर सिंहसँग सहमति गर्दा कृष्ण प्रसाद कँडेल र हेमराज दाहाल नेतृत्वका दुवै समूहले सम्झौता गरेका थिए।
प्रहरीको निष्कर्ष– भरत महर्जन एक्लैले चार अर्ब हिनामिना गरे
सुमेरु सहकारीको बचत रकम हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानले भरत महर्जनले सहकारीका बचतकर्ताको तीन अर्ब ९३ करोड ४२ लाख रुपैयाँ निजी कम्पनी र व्यक्तिका नाममा फर्जी ऋण खडा गरी हिनामिना गरेको निष्कर्ष निकालेको छ।
सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यले, महर्जनले सात अर्ब एक करोड २१ लाख २८ हजार रुपैयाँ ठगी गरेको दाबीसहित सीआईबीमा उजुरी दिएका थिए। प्रहरी (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले भरत महर्जनलाई प्रतिवादी बनाएर तीन अर्ब ९३ करोड ४२ लाख २० हजार बिगो मागदाबीसहित पुस २ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। महर्जनले निजी कम्पनी र केही व्यक्तिको फर्जी नाममा ऋण प्रवाह गरेको देखाएर हिनामिना गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
यो सहकारी ठगी प्रकरणमा प्रहरीले अन्य सञ्चालक र कर्मचारीलाई भने अनुसन्धानको दायरमा ल्याएको छैन। अदालतमा दायर अभियोग–पत्रअनुसार बेलायत भाग्नुअघि भरत महर्जनले सुमेरु सहकारीबाट सुमेरु सामुदायिक हस्पिटललाई एक अर्ब ५५ करोड ७९ लाख रुपैयाँ ऋण दिएको देखाएका थिए। प्रहरी अनुसन्धानका क्रममा सुमेरु सामुदायिक अस्पतालले १२ करोड मात्र लिएको विवरण देखिएको छ।
त्यस्तै, सुमेरु सिटी हस्पिटललाई ९८ करोड ७१ लाख रुपैयाँ ऋण दिएको देखाइए पनि हस्पिटलले भने सात करोड ९९ लाख मात्र ऋण लिएको भेटिएको छ। महर्जनले एशियन कलेजलाई ५७ करोड ५३ लाख रुपैयाँ ऋण दिएको देखाएका थिए। तर कलेजमा सहकारीको ऋण लगानी नै नरहेको भेटिएको छ।
त्यस्तै, सुमेरु हाउजिङ एन्ड डेभलभमेन्ट (सुमेरु मार्ट) लाई २४ करोड, सुमेरु किड्नी अस्पताललाई सात करोड ९३ लाख, पीएफ नेपालमा तीन करोड ४२ लाख ऋण लगानी रहेको महर्जनले देखाएका थिए। तीमध्ये अधिकांश बन्द अवस्थामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
महर्जनले अमितराज उपाध्यायको नाममा फर्जी खाता खोलेर ६ करोड र विश्वास भट्टराईको नाममा एक करोड ३६ लाख ऋण दिएको देखाएर समेत सहकारीको बचत रकम हिनामिना गरेको पाइएको छ। सातदोबाटो चोक कन्स्ट्रक्सनको नाममा समेत पाँच करोड ऋण लगानी भएको देखाइएकोमा यो कम्पनी बन्द भइसकेको छ। महर्जनले विवेक मानन्धरको नाममा कृत्रिम खाता सिर्जना गरी करिब पाँच करोड रुपैयाँ ऋण लगेको देखाएर हिनामिना गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ।
महर्जनले सहकारीमा समस्या आएपछि आफ्नो र श्रीमती राजमाया महर्जनको नाममा विभिन्न स्थानमा रहेका जग्गा संस्थाको नाममा सारेको देखिन्छ। ललितपुरको धापाखेलस्थित राजमाया महर्जनको नाममा रहेको जग्गा २०७९ चैतमा सुमेरु सामुदायिक अस्पताललाई तीन करोडमा पास गरेको भूमिसुधार तथा मालपोत कार्यालयको पत्रले पुष्टि गर्छ। त्यस्तै, ललितपुरमा भरत महर्जनको नाममा रहेको जग्गा पनि २०७९ असारमा शंकरापुरा एकेडेमी प्रालिको नाममा करिब १२ करोड रुपैयाँमा पास गरिएको छ। ललितपुरको धापाखेलमा रहेको जग्गा १८ करोड रुपैयाँमा सुमेरु सामुदायिक अस्पताललाई पास गरिएको देखिन्छ।
महर्जनले आफ्नो ठगी धन्दालाई वैधता दिनकै लागि श्रीमती राजमायासँग नक्कली सम्बन्ध विच्छेद गरेको समेत भेटिएको छ। उनले सम्बन्ध विच्छेद गरिसकेपछि राजमायासँग पुनः विवाहका लागि पेश गरेका कागजात र विवरण संसदीय छानबिन विशेष समितिले फेला पारेको थियो।