काठमाडौँ– संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जल्समा भएको भयानक आगलागीमा हजारौँ घर जलेर नष्ट भइरहँदा त्यो विघ्न विपत्तिमा पनि जोगिएको भन्दै एउटा रातो छत भएको घरको तस्वीर सोसल मिडियामा भाइरल बन्यो।
त्यो तस्वीर भाइरल हुनुका अनेक कारण थिए। कसैले त्यो चर्च भएकाले ‘ईश्वरीय शक्तिका कारण आगो नलागेको’ दाबी गरे। कतिपयले ‘नेपालको कालीगण्डकीबाट शालिग्राम लिएर त्यो घरभित्र राखिएकाले आगो नलागेको’ निर्क्योल नै सुनाइदिए।
भएको के थियो? तथ्यजाँचका क्रममा फेला पर्यो, त्यो अहिलेको नभई १७ महिना पुरानो तस्वीर रहेछ। अनि क्यालिफोर्नियाको नभई हवाईस्थित लाहिना शहरमा भएको आगलागीको तस्वीर रहेछ। स्थानीय अधिकारीहरूले आगलागीमा त्यो घर नजल्नुको कारणबारे खोजबिन गर्दा जस्ताको छत, घर वरपर प्रशस्त ढुंगा बिछ्याइएको र छेउछाउका झाडीसमेत फँडानी गरेका कारण आगोबाट जोगिएको निष्कर्ष निकालेका रहेछन्। अझ महत्त्वपूर्ण चाहिँ त्यो घर कुनै धार्मिक भवन थिएन, बरु ट्रिप मिलिकिन नामका व्यक्तिको निजी आवासगृह थियो।
अहिले ‘सोसल मिडिया’मा परिणत भइसकेका सामाजिक सञ्जालमा हुँदै नभएका भ्रामक खबरको प्रचार कुन हद्सम्म हुन्छ र त्यसले मानिसका भावनामाथि कसरी नियन्त्रण जमाउँछ भनेर देखाउने यो पछिल्लो दृष्टान्त हो। सामाजिक सञ्जालमा राखिने भ्रामक खबर र क्षणभरमै भइसक्ने तिनको बिस्तार मानिसका आस्था र भावनालाई नै नियन्त्रण गर्ने कारण बनिरहेका छन्।
निजी भावना नै खाइदिन थालेको सोसल मिडिया
हिजोआज कसैले फेसबुकमा राखेको कुनै स्टेटस वा तस्वीरमा कमेन्ट गर्नुपर्दा केही सोच्नै पर्दैन। कमेन्ट बक्समा जानेबित्तिकै जस्तो भाव बोकेको स्टेटस वा तस्वीर छ, त्यस्तै खालको कमेन्ट गर्न मिल्ने ‘रेडिमेड कन्टेन्ट’ तयार भएर बसेको हुन्छ। फेसबुक प्रयोगकर्ताले त्यसमा क्लिक गरिदिए पुग्छ।
कसैले बिहेको स्टेटस वा तस्वीर पोस्ट गरेको छ भने त्यसको मुनिपट्टि ‘कंग्राजुलेसन’ वा ‘ह्यापी म्यारिड लाइफ’ जस्ता रेडिमेड कमेन्ट तयार हुन्छन्। कसैले जन्मदिनको जानकारी वा तस्वीर राखेको छ भने ‘ह्याप्पी बर्थ डे’ लेखिएका विभिन्न पोस्ट तयार भएर बसेका हुन्छन्। त्यहीअनुसारका सुन्दर स्टिकरहरू पनि हुन्छन्। प्रयोगकर्ताले कमेन्टको रुपमा तिनैलाई ठेलिदिए पुग्यो। पोस्टमा के कमेन्ट गर्ने भनेर सोच्ने झन्झट छँदैछैन।
यसले प्रयोगकर्तालाई थप सोच्नै नपर्ने गरी सजिलो त बनायो, तर त्यो रेडिमेड कमेन्टले मनमा प्रतिक्रियास्वरुप उब्जिने भावनालाई भने बारबन्देज लगाइदियो। ती भावना त्यहीँ छेकिए।

फेसबुक मात्र होइन, टिकटक, इन्स्टाग्राम, ट्विटर (अहिले एक्समा रुपान्तरित), युट्युबलगायत अन्य सोसल मिडियाका साधनको व्यवहार मान्छेको भावनामाथि यसैगरी हाबी बनिरहेको छ। प्रयोगकर्ताले जस्तो विषयलाई चासो दिएर हेर्न थाल्छन्, त्यस्तै कन्टेन्ट स्क्रिनमा देखा पर्छन्। तिनीहरूमा प्रयोग हुने कृत्रिम बौद्धिकता (एआई) र कम्प्युटर अल्गोरिदमले प्रयोगकर्ताले कस्ता कन्टेन्ट हेर्छन्, के पोस्ट गर्छन्, कति समय बिताउँछन् जस्ता आधार हेरेर उनीहरूको जानकारी भण्डारण गरेको हुन्छ।
यतिसम्म कि हामीले जस्तो कुराकानी गर्छौं, त्यसलाई समेत ‘रेकर्ड’मा राखेर सोहीअनुसारका कन्टेन्ट हामीसामु पस्किइरहेको हुन्छ। यसले गर्दा प्रयोगकर्ताको आँखालाई चैन र दिमागलाई शान्ति छैन। हुँदाहुँदा तिनले बनाइरहेका नयाँ–नयाँ फिचरका कारण प्रयोगकर्ताले आफ्नो भावना पनि व्यक्त नगरे पुग्ने भएको छ, कृत्रिम बौद्धिकताले नै उनीहरूको भावना बोलिदिने भएको छ।
सन् २०२० मा नेटफ्लिक्सद्वारा सार्वजनिक डकुमेन्ट्री ‘द सोसल डिलेमा’ले सोसल मिडियाले मानिसका भावना र प्रतिक्रियाहरूलाई नियन्त्रण गरिरहेको देखाएको छ। डकुमेन्ट्रीमार्फत निर्देशक जेफ ओर्लोस्कीले सोसल मिडियाका कारण टुटेको परिवारको कथा भन्नुका साथै यसका कारण मानिसमा आत्मविश्वास कमजोर बन्दै गएको देखाएका छन्। सोसल मिडियाले मानिसको जीवनलाई कसरी भावनात्मक रुपमा खोक्रो र निरस बनाइरहेको छ त? यसलाई अझ प्रष्टसँग बुझाउन उनले गुगल, फेसबुक, ट्विटर (अहिले एक्समा रुपान्तरित), पिनइन्ट्रेस्टजस्ता ठूला कम्पनीमा महत्त्वपूर्ण पदमा रहेर काम गरिसकेका व्यक्तिहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरेका छन्। डकुमेन्ट्रीमा गुगलको डिजाइन विभागमा कार्यरत नीतिशास्त्री ट्रिस्टान ह्यारिसले दुई अर्ब मानिसको दिमागमा प्रत्यक्ष प्रभाव पार्ने काम ५० डिजाइनरले मात्र गरेको बताउँछन्।
“तपाईंको स्क्रिनको अर्कोतर्फबाट सञ्चालित मेसिनहरूले तपाईंलाई प्रत्येक पल कसरी हेरिरहेका छन् भन्ने थाहा पाउँदा तपाईं छक्क पर्न सक्नुहुन्छ। तपाईं कहाँ, कोसँग हुनुहुन्छ, तपाईंको वरपर को हुनुहुन्छ भन्ने कुरामा नजर राखेर तपाईंका भावना र प्रतिक्रियाहरूलाई नियन्त्रण गरिएको छ,” उनी भन्छन्।
यो डकुमेन्ट्रीमा फेसबुकको ‘लाइक’ बटनका निर्माता जस्टिन रोसिस्टन पनि समेटिएका छन्। रोसिस्टनले यसबाट मानिसमा सकारात्मकता फैलाउने सोचका साथ निर्माण गरिएको, तर आफ्नो एउटा तस्वीरमा कम लाइक आउँदा मानिस डिप्रेसनमा जानेसम्मको अवस्थामा पुग्छ भन्ने आफूले कल्पना नगरेको बताएका छन्।
पछिल्लो समय ‘एआई टुल्स’ प्रयोग गरेर ‘डिप फेक’ भिडियो, अडियो तथा तस्वीरसमेत बनाई ‘इमोसनल अट्याचमेन्ट’ खोज्ने र स्वार्थअनुकूल प्रयोग गर्ने प्रवृत्ति विश्वव्यापी रूपमै समस्या बनिरहेको छ। प्रशंसा बटुल्न वा कसैलाई बदनाम गर्नदेखि विपक्षीलाई खुइल्याएर चुनाव जित्नका लागिसमेत यसको प्रयोग हुन थालिसकेको छ। सोसल मिडिया त्यसकै प्रमुख माध्यम बनेका छन्।

यसरी सोसल मिडियाका कारण मानिसको दिमागमा पर्ने नकारात्मक असरलाई दर्शाउन पछिल्लो समय ‘ब्रेन रट’ चलनचल्तीमा आएको छ। अक्सफोर्ड विश्वविद्यालयले ‘ब्रेन रट’ लाई सन् २०२४ को वर्ष शब्द नै घोषणा गरेको छ। छ वटा ‘सर्टलिस्टेड’ शब्दहरूमध्ये यसले ३७ हजारभन्दा धेरै मत प्राप्त गरेको थियो।
‘ब्रेन रट’ शब्दले सोसल मिडियामा छाउने हलुका स्तरका सामग्रीले मानिसको दिमागमा पार्ने प्रतिकूल प्रभावलाई प्रतिबिम्बित गर्छ। अर्को हिसाबले भन्दा सोसल मिडियामा भाइरल हुने कम गुणस्तरका वा ‘हावादारी’ सामग्रीले दिमागलाई दूषित पार्ने काम नै ‘ब्रेन रट’ हो। अक्सफोर्ड युनिभर्सिटी प्रेसका अनुसार यो शब्दको महत्त्व पछिल्लो एक वर्षमा झन् बढेको छ।
मानिसका भावना र संवेदनासँग खेल्ने यस्ता सामग्रीले मानसिक स्वास्थ्यमा गम्भीर असर निम्त्याइरहेको र त्यसप्रति समयमै सचेत हुन विश्वविद्यालयले आग्रह गरेको छ।
सोसल नेटवर्क, सोसल मिडिया बन्दाका समस्या
२१ वर्ष पहिले मार्क जुकरबर्ग र उनका साथीले फेसबुक स्थापना गरेकै साथीहरूको सञ्जाल बनाउने उद्देश्यले थियो। हुन पनि उनले शुरु गरेको फेसबुकको प्रयोग शुरुआतमा पुराना साथीहरू भेट्ने, भावना साट्ने, नयाँ साथी बनाउने हिसाबले प्रयोगमा आयो। यसले मानिसलाई भावनात्मक रुपमा बलियो बनाउने काम गरेको थियो। पढाइ वा अरु कारणले छुट्टिएर टाढा पुगेका साथीहरूलाई जुटाइदिने यो सञ्जालले एक हिसाबले भन्दा एक्लोपनको औषधिको समेत काम गरेको थियो। बिस्तारै यो सञ्जाल कसैलाई कुनै समस्या पर्दा सहयोगका लागि सामूहिक अपिल गर्ने, त्यहीँबाटै सहयोज जुटाउने काममा प्रयोग हुन थाल्यो। यो अहिले पनि कायम छ।
ट्विटरलाई पनि कुनै समय बौद्धिक बहस गर्ने सामाजिक सञ्जालका रुपमा लिइन्थ्यो। अहिले यस्ता सञ्जाल निरन्तर बढ्दै छन्। तर समयक्रममा ती सामाजिक सञ्जाल (सोसल नेटवर्क) हरू सामाजिक सञ्चार (सोसल मिडिया) बन्दा समस्या निम्तिएको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत तथा मानवशास्त्री सुरेश ढकाल बताउँछन्।
“सामाजिक सञ्जालमा समाचार, विज्ञापन तथा अनेक कन्टेन्ट राख्ने काम गर्न थालियो र यसलाई सोसल मिडिया बनाइयो,” उनी भन्छन्, “व्यापारिक लगायत अनेक स्वार्थका लागि प्रयोग हुन थालेपछि नियन्त्रण गुम्दै गयो र ती सूचना सत्य या झुट के हुन् भनेर थाहा पाउनै नसकिने भयो।”
जुन गतिमा प्रविधि विकास हुँदै गयो, त्यसको सदुपयोग गर्न सक्ने चेतनास्तर नबढ्दा यसले अनेक खाले समस्या निम्त्याएको मानवशास्त्री ढकालको भनाइ छ।
“यस्ता मिडियाका माध्यमबाट हुने भ्रमको खेती, ठगी, बेइज्जती आदि कारणले मानसिक समस्या हुन्छ र मान्छे भावनात्मक विचलनमा पुग्छ,” उनी भन्छन्, “विश्वको कुनै एक कुनामा बसेर मान्छे जसलाई पनि ठग्न सक्छ। बदमासहरूको लागि सहज बनेको छ सोसल मिडिया। दिनप्रतिदिन यसकै कारण हजारौँ लाखौँ घटना घट्छन्, जसले स्वतः मान्छेलाई मानसिक रुपमा असर परि नै हाल्छ।”
मानसिक समस्या निम्तिँदै
जानेर वा नजानेर सामाजिक सञ्जाल अहिले मानव जीवनको अभिन्न अंग बनिसकेको छ। यसले सूचना, मनोरञ्जन र सम्बन्ध स्थापित गर्न एक अद्भूत प्लेटफर्म बनेको छ। तर सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको तथ्य पनि सँगसँगै छ।
सामाजिक सञ्जाल अहिले आफ्नो ‘जीवन आदर्श’ प्रस्तुत गर्ने थलो पनि बनेको छ। यसको प्रभाव मानसिक स्वास्थ्यमा स्वतः पर्छ। सामाजिक सञ्जालबाटै अरूको जीवनलाई हेरेर आफ्नो जीवनसँग तुलना गर्ने क्रम बढ्दै जाँदा व्यक्तिमा असुरक्षा, इष्र्या र निराशा जस्ता भावनाहरू उत्पन्न भइरहेको विभिन्न अध्ययनले देखाउँछन्। अनि आफूलाई अरूभन्दा कमजोर महसुस गर्नथाल्ने, त्यसले आत्मविश्वास पनि कम गर्दै लैजाने असर देखिनथालेका छन्।

मनोविश्लेषक वाशु आचार्य पछिल्लो समय सामाजिक सञ्जालकै कारण यस्ता विभिन्न समस्या बढिरहेका बताउँछन्।
“सामाजिक सञ्जालको प्रयोग गर्नेमध्ये धेरैले यसमा आफ्नो इमोसनलाई रेगुलेट गर्न खोज्छन्। भावना मिल्छ भन्दैमा त्यहाँ आएका कन्टेन्टलाई भेरिफाइ–एनालाइसिस गर्न जान्दैनन्,” उनी भन्छन्, “त्यस्ता सामग्रीले आफ्नो मनमा विभिन्न लालसा, इच्छाहरू आउँछन्। त्यसलाई पनि नियन्त्रण गर्न नसकेपछि त्यसले भावनात्मक विचलन निम्त्याउँछ।”
सामाजिक सञ्जालमा कन्टेन्ट राख्नेले त्यसमा धेरैभन्दा धेरैको ‘अट्याचमेन्ट’ (संलग्नता) खोज्छ। तर त्यसो भएन भने ऊ भावनात्मक रुपमा बेचैन, कहिलेकाहीँ त विक्षिप्त नै हुन थाल्छ। आफूले राखेको कन्टेन्टमा सोचेजस्तो लाइक वा कमेन्ट नआउँदा वा कमेन्टमा कसैले गाली गर्दा पनि कतिपयलाई त्यसले भावनात्मक चोट पुर्याउँछ।
मनोविश्लेषक आचार्यका अनुसार कतिपयले त्यस्तो अवस्थालाई सहन सक्दैनन्, जसलाई मेडिकल भाषामा ‘मालएडप्टिभ बिहेबिएर’ (असामान्य व्यवहार) भन्ने गरिन्छ। यस्तो अवस्थामा ती व्यक्तिहरू आन्तरिक रुपमा आफू बलियो हुनुपर्नेमा उल्टै भावनालाई थप असहज बनाउने हर्कत् गर्न थाल्छन्। यसै क्रममा कसैले कुण्ठा पोख्ने, आक्षेप लगाउने, भ्रम फैलाउने, खाफू दुःखी भएको देखाउँदै सहानुभूति बटुल्न खोज्ने आदि गर्छन्। तर त्यसरी क्षणिक उन्मादमा देखाउने व्यवहारले दीर्घकालीन रूपमा असर गर्छ भन्ने बुझ्दैनन्।
प्रविधिको तीब्र विकासक्रमसँगै मानिसका खुसीको आधार, साथी भनेकै सामाजिक सञ्जाल बन्दै गएको देखिन्छ। तर यसको अधिक प्रयोग र तिनै सञ्जालको व्यवस्थापन गर्न नसक्दा पनि मानसिक समस्या निम्तिने आचार्यको भनाइ छ। अरुको पोस्टमा धेरैले लाइक कमेन्ट गरेको, अरुको सफलता वा उपलब्धिलाई आँखैअगाडि देख्दा उसले गर्न सक्ने जति म पनि गर्न सक्छु भन्ने लाग्नु मानवीय स्वभाव नै हो। “तर त्यस्तो हुन नसक्दा असहज हुन्छ। अनि आत्मग्लानी हुने र डिप्रेसनको तहमै पुग्नेसम्मको अवस्था देखिएको छ,” मनोविश्लेषक आचार्यले भने।
सामाजिक सञ्जालमा हुने ‘साइबर बुलिङ र ट्रोलिङ’ले पनि मानसिक स्वास्थ्यमा गम्भीर असर पार्दछ। अनलाइनमा हुने यस्ता नकारात्मक टिप्पणीहरूले मानिसलाई निकै पीडा दिने गर्दछ। यसले उनीहरूमा डिप्रेसन, चिन्ता र आत्महत्याको विचारसम्म पुर्याउन सक्ने हुनसक्छ।
पछिल्लो समय साइबर बुलिङ मानिसलाई भावनात्मक रुपमा विचलित पार्ने प्रमुख कारकका रुपमा फैलिँदै गएको छ। सामाजिक सञ्जाल वा कुनै अन्य अनलाइन प्लेटफर्मका माध्यमबाट कुनै व्यक्तिलाई नराम्रो वा अप्ठ्यारोमा पार्ने काम साइबर बुलिङ हो जसमा विभिन्न पोस्ट, स्टेटस, तस्वीर, च्याट, भिडियो, लाइभस्ट्रिम आदिको प्रयोग गरी कसैलाई अप्ठेरोमा पार्ने गरिन्छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता, एसपी दीपकराज अवस्थी साइबर बुलिङका कारण मानिसहरू मानसिक समस्यामा परेर ब्यूरोमा धाइरहेको बताउँछन्।
“यहाँ ब्युरोको अफिसमै आएर म आत्महत्या गर्छु, यो मेरो अन्तिम निर्णय हो भन्नेहरू छन्, जलेर मर्छु पनि भन्छन्,” उनले भने, “यहाँ मात्र नभएर विदेशमा रहेका नेपालीहरूले पनि ब्यूरोमा रिपोर्टिङ गरिरहेका हुन्छन्। उनीहरूका समस्या पनि सोसल मिडियासँग जोडिएका छन्।”
उनका अनुसार सोसल मिडिया अहिले साइबर बुलिङको प्रमुख कारक बन्नथालेको छ। यसको प्रयोग गर्न नजान्दा सम्बन्धमा दरार आउने, पारिवारिक विच्छेद हुने मात्र नभई मानसिक समस्याका कारण डिप्रेसनको औषधि खाइरहेका पनि धेरै छन्।
सबै गरेर दिनमा १०० जति उजुरी ब्यूरोमा आउने गरेका एसपी अवस्थीले बताए। उनीहरूमध्ये ठगी, मानहानी, मानसिक यातना लगायतका उजुरी धेरै छन्। यस्ता उजुरी आउनेक्रम दिनहुँ बढिरहेको, यसलाई समयमै सम्बोधन नगरिए भयावह अवस्था सिर्जना हुनसक्ने उनले बताए।