Monday, March 24, 2025

-->

बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

विद्यालय उमेरसमूहका बालबालिका अभिभावकको साथमा भारत जाँदा उनीहरूको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षाक्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित
प्रतीकात्मक तस्वीर

सुर्खेत– विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारत जानु कर्णाली क्षेत्रका लागि नौलो होइन। दैलेखको गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ। जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ।

“गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो, केटाकेटीलाई यहाँ एक्लै छाड्न सकिन्न”, स्थानीय दलबहादुर विकले भने। रोजीरोटीका लागि भारत जानुको विकल्प नभएको उनको भनाइ छ।

विकका अनुसार गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन्। दलित समुदायको बाहुल्यता रहेको यस वडाका बासिन्दा भारत जाँदा सपरिवार जाने गर्छन्। भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरूको चलन पनि हो।

जागिरको खोजीमा अधिकांश मानिस भारत जाँदा बालबालिका पनि सँगै लैजाने गरेको वडा नं २ का सदस्य रामशिला विक बताउँछन्। “यो दलित समुदायको बाहुल्यता भएको वडा हो, रोजगारीका लागि भारतमा जाने प्रचलन यहाँका लागि पुरानो हो, यहाँ गरिबीको अवस्था धेरै छ, त्यसमा पनि दलित समुदायको अवस्था दयनीय छ, उनीहरूले छोराछोरीलाई पनि सँगै लैजाने भएकाले पढ्न पाउँदैनन्”, उनले भने।

यस विषयमा आफूले वडादेखि गाउँपालिकालाई समेत ध्यानाकर्षण गराइरहेको भए पनि समस्या समाधान हुन नसकेको उनले बताए।

विद्यालय उमेरसमूहका बालबालिका अभिभावकको साथमा भारतमै जाँदा बालबालिकाको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षा क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

वडामा सञ्चालित भैरव प्राथमिक विद्यालय लमचुडीका प्रधानाध्यापक महेन्द्र रामजालीले अन्य वडाको तुलनामा वडा नं २ शिक्षाको अवस्था राम्रो नरहेको बताउँछन्। साथै महादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम भट्टराई पनि भारत जाने चलनका कारण विद्यार्थीले पढ्न नपाएको बताउँछन्। “जबसम्म सरकारले गाउँमै रोजगारी गर्ने खालका कार्यक्रम ल्याउँदैन, तबसम्म सबै बालबालिकालाई विद्यालयमा ल्याउन गाह्रो छ”, उनले भने।

भैरव प्रावि रानीवनका प्रधानाध्यापक नन्दा शाहीले पनि आफूहरूले बालबालिकालाई नियमित विद्यालय आउन जनचेतनाका कार्यक्रम सञ्चालन गरे पनि अवस्था परिवर्तन हुन नसकेको बताउँछन्।

८० जना बालबालिका भारत
राष्ट्रिय जनगणना २०७८ अनुसार गुराँस गाउँपालिका–२ को जनसंख्या दुई हजार ७३३ छ। जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको संख्या एक हजार १२१ छ। जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन्।

एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थीको संख्या ८७७ जना रहेको छ। विद्यालयको तथ्यांकअनुसार ८० जना विद्यार्थी विद्यालय आउँदैनन्। जसमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ कक्षासम्मका रहेको विद्यालयको भनाइ छ।

विद्यालयमा अनुपस्थित विद्यार्थी बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको भैरव प्रावि रानीवनका प्रधानाध्यापक नन्दा शाही बताउँछन्। अभिभावकमा आवश्यक चेतनाको कमी तथा बाध्यताका कारण यस्तो अवस्था आएको भगवती प्रावि शेरिबाडाका प्रधानाध्यापक हर्कबहादुर बिसीको भनाइ छ।

तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा २८० विद्यार्थी छन् तीमध्ये २० जना विद्यार्थी भारतमा छन्। बीपी प्राविमा भर्ना भएका १०० विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन्। दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँग भारत गएका छन्।

भैरव प्रावि रानीवन शेरीवाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि शेरिबाडामा भर्ना भएका ३२ जनामध्ये ६ जना, भैरव प्रावि लमचुडी १४१ विद्यार्थीमध्ये १८ जना बाबुआमासँगै भारत गएका छन्।

यस वडाका बालबालिकामा कुपोषणको समेत समस्या पनि रहेको पाइएको छ। वडा नं २ को पुरैनी स्वास्थ्य चौकी इन्चार्ज किरणकुमार केसीले साझेदार संस्था र गाउँपालिकाको सहयोगमा सचेतना तथा पोषणयुक्त खानाका विषयमा जानकारी गराइँदै आइएको बताए। हाल चार जनामा उक्त समस्या छ।

चेतनाका कार्यक्रम सञ्चालन गर्छौंः वडाध्यक्ष रावल
गुराँस गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर रावलले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ भनेर आफूहरूले पहल गरे पनि कठिनाइ रहेको बताए।

“बाबुआमासँगै बालबालिका भारत जानुपर्ने बाध्यता गरिबीको कारण हो”, उनले भने, “वडाबाट यो समस्या रोक्नका लागि सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ तर पूर्ण रूपमा रोक्न सकिएको छैन।”

उनले समस्या समाधानका लागि गाउँमै रोजगारीका कार्यक्रम ल्याउन जरुरी भएको बताए।


सम्बन्धित सामग्री