Friday, March 21, 2025

-->

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका बाढीपीडित

बाढीले घरखेत बगाएपछि चनौटे नयाँबस्तीका स्थानीय घरबारविहीन भएका छन्। उनीहरू पालिकाले दिएको त्रिपाल, खाद्यान्न र कम्बललगायतको साहरामा दिन बिताउँदै आएका छन्।

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका बाढीपीडित

धुलिखेल– काभ्रेपलान्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँबस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन्। बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन्। 

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन्। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरू बिचल्लीमा परेका हुन्। 

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन्। अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि सरकारले व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए। 

त्रिपालले बेरेको बासस्थान अगाडि ढुंगा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहेकी सुकुमाया सिङतानको पीडा पनि उस्तै छ। भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेकी छन्। बाढीपहिरोबाट विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको छ। 

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ। गाउँपालिकाले त्रिपाल, खाद्यान्न र कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएका छन्। पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ। प्रकाश सिङतान, भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुल्ला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन्।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ। 

बर्खामा बाढी आएर बगाउँला कि भन्ने डर, हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने डरले सताउने उनीहरू बताउँछन्। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न संघीय सरकारसँग समन्वय गरिरहेको बताए। 

“अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिएपछि उहाँहरूसँग एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन,” अध्यक्ष थिङले भने, “जिल्ला प्रशासन र शहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरुवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ।”

अहिलेसम्म पनि संघीय सरकारले अस्थायी घर निर्माण गर्न दिने भनेको ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि संघसंस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ। पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए।


सम्बन्धित सामग्री