Monday, March 24, 2025

-->

सिट बेल्टले जोगाउँछ चालक–यात्रुको ज्यान, तर पनि लगाउँदैनन् नेपाली

निजी सवारीसँगै सार्वजनिक सवारीमा पनि साना गाडी बढिरहँदा दुर्घटना भइहाले मृत्यु वा गम्भीर चोटपटकबाट जोगाउने सिट बेल्ट भने ट्राफिकको आँखा छल्न मात्र लगाइन्छ। आफ्नै सुरक्षामा किन बेपरवाह छन् नेपाली?

सिट बेल्टले जोगाउँछ चालक–यात्रुको ज्यान तर पनि लगाउँदैनन् नेपाली 
एआईको सहयोगमा तयार पारिएको तस्वीर।

काठमाडौँ– कारमा तीन जना सवार थिए। चालक सिटमा थिइन् मेलिसा केइलोह। पछाडिको सिटमा १७ वर्षीया फिबी जोनसन बसेकी थिइन्। चालक छेउको सिटमा उनीहरूकै एक जना साथी थिइन्। उनीहरू तीन जना बेलायती सन् २०२१ को एक मध्यरात बेलायतको डेर्बिशयरमा गाडीमा हुइँकिइरहेका थिए।

गाडी तीव्र गतिमा थियो। चर्को आवाजमा गीत बजिरहेको थियो। भर्खर पार्टीबाट निस्किएका उनीहरू पार्टी मुडमै थिए, चालक केइलोह पनि मदिराको नशामा थिइन्।

त्यहीक्रममा कार लड्खडाउँदै सडकबाट बाहिर हुत्तियो र एउटा रूखमा बेजोडले ठोक्कियो। पछिल्लो सिटमा रहेकी जोनसन कारबाट उछिट्टिएर बाहिर पुगिन्। डेर्बिशयर टाइम्सले भनेको छ, ‘जोनसन नजिकको झाडीमा बजारिइन्। उनलाई देखेर केइलोह चिच्याइन्– आइ ह्याभ किल्ड फिबी।’

फिबी जोनसनलाई तत्काल अस्पताल लगियो। तर अस्पतालमै उनको मृत्यु भयो। छोरीको मृत्युबारे जोनसनकी आमा निकोला जोनसनले मिडियासँग भनेकी छन्, ‘एक पलमा यो संसारमा तपाईंको अस्तित्व नरहन सक्छ। छोरीलाई भेट्न म अस्पताल गएँ, दह्रोसँग उसको हात समाएँ। म उसलाई छाड्न चाहन्नथेँ।’

यो घटना त्यो दिन भएको थियो जुन दिन जोनसनको १८औँ जन्मदिन आउन दुई हप्ता बाँकी थियो। 

कारमा सवार तीन जनामध्ये ‘सेफ्टी बेल्ट’ नलगाउने जोनसन मात्र थिइन्। ज्यान पनि उनको मात्र गयो। छोरीले बेल्ट नलगाएकै कारण मृत्यु भएको आमा निकोला जोनसनको विश्वास थियो। बीबीसीमा उनले भनेकी थिइन्, ‘सेफ्टी बेल्ट लगाएकी भए मेरी छोरी पनि बाँच्थी।’

विश्व स्वास्थ्य संगठनका अनुसार सेफ्टी बेल्टले दुर्घटनामा मानिसको ज्यान जोगाउँछ। संगठनले तयार पारेको आँकडाअनुसार गाडीमा अगाडिको सिटमा बस्ने यात्रुले सेफ्टी बेल्ट प्रयोग गर्दा घातक चोटपटकको जोखिम ४५ देखि ५० प्रतिशत कम हुन्छ। त्यस्तै, पछाडिको सिटमा बस्नेहरूमा मृत्यु र गम्भीर चोटपटकको जोखिम २५ प्रतिशतले कम हुन्छ। 

तर पनि कैयौँ चालक र यात्रुले सवारीसाधनमा बस्दा बेल्ट प्रयोग गर्दैनन्।

‘द एए च्यारिटेवल’ दुर्घटनाबारे अध्ययन र अनुसन्धान गर्ने संस्था हो। यसले यसले केही समयअगाडि बेलायतका सडकमा हुने दुर्घटनाको विश्लेषण गरेको थियो। जसले सन् २०१९ र २०२३ को बीचमा बेलायतका सडकमा दुर्घटनामा परेका कारमा सवार १७–२९ वर्ष उमेरका यात्रुमध्ये ४३ प्रतिशतले सेफ्टी बेल्ट लगाएका थिएनन्। 

बेल्ट नलगाउनेमा महिलाभन्दा पुरुष बढी थिए। त्यस्तै, दुर्घटनामा मृत्यु हुने युवा चालकहरूमध्ये २९ प्रतिशतले बेल्ट लगाएका थिएनन्। त्यसमध्ये ९५ प्रतिशत पुरुष थिए। यो संस्थाले सेफ्टी बेल्टको महत्वबारे अभियानसमेत चलाउँदै आएको छ। बेलायतमा उसको ‘बेल्ट अप इन द ब्याक’ अभियान चर्चित छ। जसको उद्देश्य हो– जनचेतना जगाउने र जीवन बचाउने। 

अहिले जोनसनकी आमा पनि बेल्ट लगाउनुपर्छ भन्ने जनचेतना अभियानमा संलग्न छिन्। उनी भन्छिन्, “यो अभियानलाई सबैले समर्थन गर्नुपर्छ। हरेक मानिसले बेल्ट लगाउनुको महत्त्व बुझ्नुपर्छ। म आशा गर्छु, अरूको परिवारले हाम्रो छोरीले जसरी ज्यान नगुमाउन्।’

च्यारिटेवलका निर्देशक एड्मन्ड किंगले ‘द नेसनल’ मा बताएअनुसार सेफ्टी बेल्ट गाडीमा सवार मानिसको ज्यान जोगाउने महत्त्वपूर्ण अस्त्र हो। उनले भनेका छन्, “सिट बेल्ट लगाउनु भनेको आफैलाई र तपाईंसँग कारमा रहेका अरूलाई मृत्यु र गम्भीर चोटपटकबाट जोगाउने सबैभन्दा प्रभावकारी तरिका हो।”

बेल्ट अनिवार्य, तर लगाउँदैनन् नेपाली
सेफ्टी बेल्टको यो महत्त्व नेपालमा पनि धेरैलाई थाहा छ। ट्राफिक प्रहरीले चालकलाई बेल्ट लगाउन अनिवार्य गरेको छ। ट्राफिक प्रहरीले यसबारे नारा नै बनाएको छ– ‘सवारी चालकले सिट बेल्टको प्रयोग गरौँ।’

तर सिट बेल्टमा कडाइ गर्ने ट्राफिक नियमको पालना भने निकै कम छ। ट्राफिक प्रहरी देख्दा चालकले बेल्ट लगाउने, तर ट्राफिकबाट छलिनेबित्तिकै बेल्ट फुकाल्ने प्रवृत्ति सामान्य झैँ छ। काठमाडौँ बाहिर चल्ने सवारी साधनमा त यो प्रवृत्ति अझ बढी देखिन्छ। कतिपय चालक नै यसलाई झन्झटका रूपमा लिन्छन्। चालकसँगै बस्ने अरू यात्रुले त झन् सिट बेल्ट नै लगाउँदैनन् भन्दा पनि हुन्छ।

नेपाल प्रहरीका प्रवक्ता, डीआईजी दिनेश कुमार आचार्य यसमा चालक आफै सचेत हुनुपर्ने बताउँछन्। आचार्य भन्छन्, “यो कुरा चालकले बुझ्दा मात्र प्रभावकारी हुन्छ। हामी उनीहरूलाई सिट बेल्ट लगाउन आग्रह गर्छौं, नलगाएको भेटिए कारबाही पनि गर्छौं। तर त्यतिले मात्र पुग्दैन।”

बेल्टले दुर्घटना रोक्ने होइन, बरु दुर्घटना हुँदा हुनसक्ने सम्भावित क्षतिलाई कम गर्ने हो। बेल्ट लगाएका कारण वा नलगाएका कारण दुर्घटनामा क्षति कति कम वा बेसी भयो भन्ने तथ्याङ्क नेपाल प्रहरीसँग छैन। तर यसले मृत्यु वा गम्भीर घाइते हुनबाट जोगाउने डीआईजी आचार्य बताउँछन्। उनले थपे, “दुर्घटना भएको समयमा गाडीभित्र मानिस यताउता ठोक्किन सक्छन्, त्यसक्रममा गम्भीर चोट लाग्न सक्छ। बेल्टले त्यसबाट जोगाउँछ।” 

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर १३ लाख ५० हजार मानिसको मृत्यु सडकमै हुन्छ। सवारी दुर्घटनामा हुने कुल मृत्युको ९३ प्रतिशत विकासोन्मुख मुलुकमा रहेको आँकडाले देखाउँछन्।

विकासोन्मुख मुलुकमा दुर्घटना र मृत्युदर बढी भएकाले नेपाल जस्ता मुलुकले थप सचेत बन्न जरुरी देखिन्छ। सडक सुरक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत जाँ टडले सन् २०२३ मा भनेका थिए, “अब हामीले विकासोन्मुख विश्वका मानिसले विकसित देशमा जस्तै सुरक्षामा ध्यान दिन त्यहाँका सरकार र सरोकारवालासँग मिलेर काम गर्नुपर्छ।”

विश्व स्वास्थ्य संगठनले पनि सिट बेल्ट अनिवार्य लगाउनुपर्नेमा जोड दिँदै आएको छ। संगठनले आफ्नो वेबसाइटमा लेखेको छ, “बेल्टले इतिहासमा कुनै पनि अन्य सडक सुरक्षाका औजारको तुलनामा धेरै ज्यान बचाएको छ। यसबाट ५० प्रतिशतसम्म मृत्युदर घटेको छ।”

तथ्य र भ्रम
बेल्टलाई विभिन्न देशले कडाइका साथ लागु गरेका छन्। युरोपमा सन् २०२१ देखि २०३० सम्मको गाइडलाइन तयार पारेर ५० प्रतिशत दुर्घटना कम गराउने लक्ष्य राखिएको छ। युरोपियन युनियनले अग्रसरता देखाएको यो कार्यको मुख्य ध्येय बेल्ट र हेलमेटलाई अनिवार्य बनाउने हो। सन् २०५० सम्ममा सवारी दुर्घटनाबाट हुने मृत्युदर शून्यमा झार्ने उसको नीति छ।

अहिले बर्सेनि युरोपका सडकमा हुने दुर्घटनाको आर्थिक मूल्य २८० बिलियन युरो बराबर छ। यो रकम युरोपियन युनियनमा आबद्ध युरोपका देशहरूको कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत हुन आउँछ।

संयुक्त राज्य अमेरिकामा पनि बेल्ट प्रयोगकर्ताको संख्या प्रत्येक वर्ष बढेको छ। त्यहाँको सडक विभागले प्रकाशित गरेको एक रिपोर्ट अनुसार ९१.९ प्रतिशतले अमेरिकामा बेल्ट प्रयोग गर्छन्। २०१० मा बेल्ट प्रयोगकर्ता ८५ प्रतिशत मात्र थिए।

बेलायतमा पनि सिट बेल्ट अनिवार्य छ। सन् २०२३ मा ९७.६ प्रतिशत चालकले बेल्ट लगाएका थिए। बेलायतमा सवारी चालकले बेल्ट लगाउनुपर्ने कानून १९८३ जनवरीदेखि लागु भएको थियो। १९९१ मा वयस्कहरूले कारको पछाडि बस्दासमेत बेल्ट लगाउनुपर्ने कानून बनाइएको थियो।

यति हुँदाहुँदै त्यहाँ पनि नियम उल्लंघन हुन्छ। सन् २०२३ मा बेलायतका तत्कालीन प्रधानमन्त्री ऋषि सुनकले बेल्ट नलगाई कार चलाएपछि उनलाई जरिबाना नै तिराइएको थियो। बेलायतको लंकशायर पुलिसले एक्समा ‘सिट बेल्ट नलगाएका कारण लन्डनका एक ४२ वर्षीय युवकलाई कारबाही गरिएको’ बताएको थियो। ती ४२ वर्षीय पुरुष सुनक थिए।

प्रधानमन्त्री सुनकले ५० पाउन्ड जरिबाना तिर्नुपरेको थियो। आफूले बेल्ट नलगाएकोमा पछि सुनकले माफी पनि मागेका थिए। प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “आफूबाट गल्ती भएको कुरा उहाँले स्वीकार गर्नुभएको छ। यसका निम्ति उहाँ माफी समेत माग्नुहुन्छ।”

बेलायतमा बेल्ट नलगाउने यात्रुलाई १०० स्टर्लिङ पाउन्डसम्म जरिबाना गर्ने कानून छ। यो मुद्दा अदालतसम्म पुग्यो भने ५०० पाउन्डसम्म जरिबाना तिर्नुपर्ने हुनसक्छ। नेपालमा पनि सडक दुर्घटनामा हुने मृत्यु वा गम्भीर चोटपटक घटाउन बेल्टलाई कडाइका साथ लागू गर्नुपर्ने विज्ञहरू बताउँछन्। बस, माइक्रो बस, जिप, टेम्पो लगायत सवारी साधनमा प्यासेन्जरका निम्ति सिटबेल्ट राखिएको भेटिँदैन। अझ कतिपय सवारीसाधनमा सिटमा भन्दा उभिने मान्छे धेरै हुन्छन्। यसले पनि दुर्घटनामा हुने क्षति निकै बढी हुने जोखिम बढाएको छ।

नेपालमा विगत केही वर्षयता ‘प्यासेन्जर भेहिकल’ भनिने चारपांग्रे साधन, त्यसमा पनि मुख्यतः कारको आयात निकै बढेको छ। तर त्यसअनुसार सुरक्षाका विधि भने नअपनाइएको सडक सुरक्षाविद् पुष्पराज पन्त बताउँछन्। “सिट बेल्ट पनि सुरक्षा उपकरण हो भन्ने ज्ञान थोरैलाई मात्र छ,” उनले भने।

गुड्दागुड्दै गाडी पल्टिइहाल्यो भने पनि बेल्ट लगाएमा त्यसले यात्रुलाई बचाउने पन्त बताउँछन्। “गाडी दुर्घटनामा परेर सडकबाहिर पुगेमा वा भीरबाट झरेमा मानिस गाडीभित्रै यताउता ठोक्किन्छ। यस्तो अवस्थामा बेल्टले थप चोट लाग्नबाट पनि बचाउँछ,” उनले थपे। दुर्घटना भइहालेमा हामफालेर बच्न सकिन्छ भन्ने भ्रमले बेल्टको प्रयोग नहुँदा दुर्घटनामा हुने क्षति झन् बढेको उनको भनाइ छ।

यो पनि : 

सिट बेल्टले जोगाउँछ चालक–यात्रुको ज्यान, तर पनि लगाउँदैनन् नेपाली
गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन
सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक
सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ
मोटरसाइकलको भयावह यात्राः दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन
गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने
सुरक्षा मापदण्डबिनाका सडकः मृत्युसँग जुधेर यात्रा
मौसमले बढाएको छ सवारी दुर्घटनाको ग्राफ


सम्बन्धित सामग्री