काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ७.७१ प्रतिशतले ह्रास भएको छ। त्यस्ता बालीको उत्पादन भने २.८५ प्रतिशतले बढेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौको उत्पादन क्रमशः ६५.७१ प्रतिशत र २५.३ प्रतिशतले वृद्धि भएको छ। तेलहनको उत्पादनमा सबभन्दा बढी १८.५३ प्रतिशतले ह्रास आएको छ।
पशुजन्य उत्पादनअन्तर्गत दूध ४.५८ प्रतिशत, मासु ९.३२ प्रतिशत र अण्डा ६.४ प्रतिशतले बढेको छ। सो प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको १०.८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ। गत असार मसान्तसम्ममा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा १.३१ प्रतिशतले ह्रास भई १६ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
अध्ययन नमूनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४८.९६ प्रतिशत रहेको छ। औद्योगिक उत्पादनमध्ये चामल र गहुँको उत्पादन वृद्धि भएको छ भने तोरीको तेल, साबुन, इँटा, चिनी र रोजिनको उत्पादनमा ह्रास आएको छ। यस्तै, पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी आएको छ। होटल शय्याको संख्या १.४७ प्रतिशतले घटेको छ। समीक्षा वर्षमा यातायात साधन संख्या ४.१२ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको ७२.४४ प्रतिशत हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ६६.५५ प्रतिशत खर्च भएको छ। पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६२.०६ प्रतिशत खर्च भएको छ। अध्ययनअनुसार, २०८० फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत् आयोजनाबाट कुल १७१ मेगावाट विद्युत् उत्पादन भएको छ।