काठमाडौँ– आर्सनल यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। बुधबार राति घरेलु मैदान एमिरेट्स स्टेडियममा डायनामो जाग्रेबलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
आर्सनलको जितमा डेक्लान राइस, काई हाभार्ट्ज र मार्टिन ओडेगार्डले समान १-१ गोल गरे। यस जितले आर्सनल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले सातमध्ये पाँच खेल जित्दै १६ अंक जोडेको छ।
बुधबारकै अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। घरेलु टोली पीएसजीसँग सिटीले ४-२ को हार बेहोरेको हो।
खेलका सबै गोल दोस्रो हाफमा भएका थिए। सिटीले दोस्रो हाफमा २-० को अग्रता लिएर पनि जोगाउन सकेन।
पीएसजीको जितमा ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे। सिटीका लागि ज्याक ग्रेलिस र एर्लिङ हालान्डले गोल गरे।
जितसँगै सात खेलमा १० अंक जोडेको पीएसजी २२औँ स्थानमा छ। सिटी समान खेलबाट ८ अंकका साथ २५औँ स्थानमा छ।

यस्तै, साविक विजेता रियल म्याड्रिडले साल्सबर्गलाई ५-१ ले पराजित गरेको छ। रियलका लागि रोड्रिगो र भिनिसियस जुनियरले समान २–२ र केलियन एम्बाप्पेले १ गोल गरे।
जितसँगै, सात खेलबाट १२ अंकसहित रियल १६औँ स्थानमा उक्लिएको छ।