दमक (झापा)– विकास तथा सहकार्यको चिनिया अभियान बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को सहयोगमा निर्माण हुने भनेर नेपाल–चीन सम्झौतामा परेको झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्स (खेलमैदान) कहाँनेर बन्ने निर्क्योल नहुँदै हानथाप शुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बढ्दो समृद्धि योजनाको पछिल्लो सूचीमा थपिएका बीरआरआई बृहत् औद्योगिक पार्क र स्पोर्टस् कम्प्लेक्समध्ये पार्कको नापनक्सा बाहिर आइसकेको छ भने खेल मैदानबारे टुंगो लागिसकेको छैन। टुंगो नभए पनि दमक नगरपालिका–३, दुम्सेमा मदन भण्डारी रंगशाला (पूर्ववर्ती फाल्गुनन्द सभागृह)मा बीआरआई स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्स बन्नेमा स्थानीय सरकारका पदाधिकारी र कार्यकर्ता ढुक्क देखिन्छन्। बीआरआईअन्तर्गत परेको नेपाल–चीन औद्योगिक पार्क पनि चर्चामा रहेको यो खेल मैदानबाट झण्डै १० किलोमिटर दूरीमा दमक नगरभित्र नै पर्छ।

“हामीसँग ४० बिघा क्षेत्रफलमा फैलिएको रंगशाला यथावत् छदै छ। नजिकै २५ बिघामा बन्ने भनिएको प्रस्तावित बुद्धमूर्ति पार्क पनि थप आकर्षणमा रहनेछ,” ३ नम्बर वडाका अध्यक्ष नवीन बरालले उकालोसँग भने, “चीनको सहयोगमा बन्ने भनिएको स्पोर्टस् कम्प्लेक्स यही स्थानमा बन्नेछ भन्नेमा भरोसा छ।”
हंसे–दुम्से सामुदायिक वनमा पर्ने मदन भण्डारी रंगशालाको भोगाधिकार राष्ट्रिय खेलकुद परिषद्मा रहेको र बुद्ध पार्कको भोगाधिकार दमक नगरपालिकाअन्तर्गत जाने प्रक्रियामा रहेको अध्यक्ष बरालले बताए। मंसिर तेस्रो साता बेइजिङमा बीआरआई कार्यान्वयनको समझदारीमा हस्ताक्षर हुनासाथ र निश्चित परियोजना झापाको दमक केन्द्रमा पर्नासाथै स्थानीयले यही गृह नगरका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै हर्षोल्लास मनाएका थिए।

“तर, भन्नैपर्ने हुन्छ– हाम्रै नगर क्षेत्रभित्रका बीआरआईअन्तर्गत औद्योगिक पार्क वा प्रस्तावित भनेर सुनिएको रंगशालाबारेमा पनि नगरपालिकालाई भने धेरै जानकारी छैन। यहाँसम्म कि दमक–३ मा ठडिएको १८ तले भ्यु टावरको सञ्चालन विधि वा गुरुयोजनाबारे हामीलाई थाहा छैन,” नगरप्रमुख राम थापाले भने, “यसबारे केन्द्रमै जानकारी होला, हामी बेखबर छौँ।”
पुस तेस्रो साता दुम्सेस्थित सम्भावित बीआरआई रंगशालामा पुग्दा समाजसेवी रनधोज नेम्बाङको सयौँ जन्मजयन्तीका अवसरमा वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन भइरहेको थियो। “हाम्रो भेगमा खुला ठाउँ, खेलमैदान वा पार्क बन्नु उत्साहको कुरा हो,” स्थानीय समाजसेवी बीरसिंह धिमालले भने, “तर, कहिले खेलकुद परिषद्ले जिम्मा लिने भन्दै र कहिले चाइनाले बनाइदिने भनेर वनक्षेत्र ओगट्ने काम मात्रै नहोस् भन्ने हो।”
धिमालले, दमक–३ मै ठडिएको भ्यु टावरको उपयोगिता र प्रयोजन नदेखिएको भन्दै ‘हाम्रै गाउँको प्रधानमन्त्री छ’ भन्दै गाउँ–गाउँमा भजन गाउने स्थिति मात्रै रहेको बताए। “यहीबेला बीआरआई सहयोगका नाममा जोडिएका औद्योगिक पार्क र स्पोर्टस् कम्प्लेक्सले थप प्रश्न जन्माउने स्थिति छ, सजिलो अवस्था भने छैन,” उनले भने।
‘थाहा पत्तो छैन’
हंसे–दुम्से सामुदायिक उपभोक्ता समूहका कोषाध्यक्ष पवन अधिकारीले वनक्षेत्रमा रहेको रंगशाला स्तरोन्नति हुने र चिनिया सहयोगमा स्पोर्टस् कम्प्लेक्स बन्नेबारे औपचारिक जानकारी नरहेको बताए। उनले रंगशाला नजिकै वनक्षेत्रमै प्रस्तावित बुद्धपार्कबारे पनि कुनै पत्राचार वा सूचना नरहेको भन्दै धेरैजसो कामकुरा ‘अरे’का भरमा सञ्चालन भइरहेको बताए।
चर्चामा रहेको दमक–३ को रंगशालाबाहेक, झापामै कमल गाउँपालिका (दमक नगरपालिका सीमावर्ती तत्कालीन तोपगाछी) मा रहेको आदिवासी जनजाति रंगशाला पनि १९ बिघा क्षेत्रफलमा फैलिएको छ। स्थानीय कमल देवानका अनुसार, सशस्त्र प्रहरीको अधीनमा रहेको यो रंगशालाको नाम परिवर्तन गर्ने र राजनीतिक फेरबदल अनुसार बजेट रोकिने कारणले मैदान स्तरोन्नति वा व्यवस्थापनको काम हुन सकेको छैन।
यस्तै, जिल्ला सदरमुकाम चन्द्रगढीमा रहेको यो भेगकै पुरानो मेची रंगशालामा अहिले पनि अन्तर्राष्ट्रिय तहका खेलकुद प्रतियोगिता जारी रहेको भद्रपुर झापा गोल्डकप संस्थापक दीपेश ढकालले जानकारी दिए। “चिनिया बीआरआई सहयोगमा झापा स्पोर्टस् कम्प्लेक्स बन्नेबारे हल्ला आइपुगेको छ, तर यही रंगशाला छनौटमा परेको भन्नेबारे सूचना छैन,” ढकालले भने, “आउने फागुनमा पनि बांग्लादेश, भुटानसहितका प्रतियोगीमाझ फुटबल अन्तर्राष्ट्रिय टुर्नामेन्ट हुँदैछ। हामी यसको तयारीमा लागेका छौँ।’ चार बिघाभन्दा बढी क्षेत्रफल ओगटेको मेची रंगशालामा पनि सरकारी बजेट नियमित नहुँदा ५० प्रतिशत मात्रै प्याराफिट बन्न सकेको उनले जानकारी दिए।

यसैगरी, बिर्तामोडस्थित १२ बिघा क्षेत्रफलमा फैलिएको डोमलाल रंगशालाको केही भाग अझै गुठीअन्तर्गत रहेको स्थानीय जेके गुरुङले बताए। “रंगशालाको केही जमिन अरूकै भोगचलनमा छ, नगर अस्पतालले पनि केही मिचेको छ,” गुरुङले भने, “यो रंगशालालाई स्तरोन्नति गर्ने वा ध्यान दिनेबारेमा कसैले पनि चासो राखेको देखिन्न।”
बिर्तामोड नजिकै दूधेमा रहेको अर्को रंगशाला (शिवसताक्षी नगरपालिका–११) को प्रवर्द्धन गर्नेमा पनि खासै चासो देखिएको छैन। “अहिले २१ बिघा क्षेत्रफलमा दुधे रंगशाला फैलिएको छ, बीरआरआई छनौटमा पर्न सकेमा वनक्षेत्रको अरू २० बिघा भूभाग थप्न सकिने स्थिति यहाँ छ,” रंगशाला सञ्चालन समूहसम्बद्ध महेन्द्र भट्टराईले भने, “यसको प्रवर्द्धन र स्तरोन्नतिका लागि हामीले प्रदेश सरकारलाई पत्राचार गर्दै आएका छौँ तर, खासै सुनुवाइ भएको छैन।” उनले चिनिया सहयोगमा आउने भनिएका परियोजनामध्ये झापाका लागि तोकिएका दुईवटै कार्यक्रम दमक केन्द्रमा राख्न उचित नहुने भन्दै दूधे रंगशाला ‘बीआरआई स्पोर्टस्–हब’ बन्न सक्ने बताए।
मंसिर तेस्रो साता चीनको बेइजिङमा बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि ‘एड–असिस्टेन्स फाइनान्सिङ’ (ऋण–अनुदान दुवै) अन्तर्गत दिइने सहयोग कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वधानमन्त्री शेरबहादुर देउवाका निम्ति दुई विशिष्ट संरचना उपहारमा प्रदान गरिने भनिएको थियो। प्रधानमन्त्री ओली बेइजिङ उत्रिएपछि मात्रै वर्तमान गठबन्धनका मुख्य पात्र ओली र देउवाका लागि विशेष उपहार (स्पोर्टस्–कम्प्लेक्स, झापा र सिटीहल, अमरगढी) प्रदान गर्ने विषय मुख्य सहमतिको बुँदामा परेको थियो। तर, यी कम्प्लेक्स अनुदान वा ऋणमा निर्माण हुने भन्ने निर्क्योल भएको छैन।

यो पनि: बीआरआई ‘फ्रेमवर्क’मा सहमति: अनुदान र सहुलियतपूर्ण ऋण दुवै!
देउवाको निर्वाचन क्षेत्र डडेलल्धुराको अमरगढीमा सुविधासम्पन्न सिटीहल बन्ने भन्दै समझदारीको बुँदा बाहिरिए पनि अमरगढी नगरपालिका भने यसबारे ‘बेखबर’ देखिन्छ। समझदारीमा नगरपालिकाको प्रशासनिक कार्यसमेत सञ्चालन हुने सिटीहल पालिका मातहत रहने भनिएको छ। “खोइ, यसबारे थाहा भएन त,” नगरप्रमुख डिल्लीराज जोशीले भने, “एक त अमरगढीमा त्यस्तो उल्लेख्य रंगशाला नै छैन, अर्कातिर चिनिया सहयोगमा अमरगढी सिटी हल बन्नेबारे कुनै प्रकारको सूचना वा जानकारी नगरलाई प्राप्त भएको छैन। थाहै नभएको कुरामा के भन्ने र?”
रंगशाला र राजनीति
झापामा रहेका आदिवासी र फाल्गुनन्द रंगशाला सम्झनासाथै राजनीतिक घेराबन्दीको सम्झना हुन्छ, जहाँ प्रधानमन्त्री ओली जोडिएका छन्।
कमल गाउँपालिका–५ अन्तर्गत गेउरिया जंगल क्षेत्रलाई इतिहासदेखि स्थानीय आदिवासी जनजाति समुदायले आफ्नो समाधीस्थल बनाउँदै आएका थिए। उक्त जंगल क्षेत्र मिचिँदै गएको र अनधिकृत उपयोग पनि बढेको अवस्थामा २०६६ सालमा तत्कालीन सरकारको पहलमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान बनाउने सहमति भएको थियो। त्यही वर्ष आदिवासी रंगशाला निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भएर सशस्त्र प्रहरीले ठेक्का लिएर निर्माण थालेपछि केन्द्रीय तहको राजनीति शुरू भएको थियो।
दूधे रंगशाला।
“२०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी रंगशालाको नाम फेरेर मदन भण्डारी रंगशाला राखेपछि स्थानीय तहमा शुरू भएको विरोध र आन्दोलन निरन्तर रह्यो,” स्थानीय कमल देवान भन्छन्, “आदिवासी रंगशालाको साटो मदन भण्डारी रंगशालाका नाममा बजेट पनि आएको थियो, तर नामको असन्तुष्टिमाझ बजेट खर्च हुन सकेन। त्यसपछि मदन भण्डारी रंगशालालाई दमक–३, दुम्सेमा रहेको फाल्गुनन्द सभागृहमा स्थानान्तरण गरियो। उता पनि किरात गुरु फाल्गुनन्दको नाम मेटिएकोमा कायम असन्तुष्टि यथावत् छँदै छ।”
आदिवासी रंगशालाका नाममा ६७ सालयता झण्डै ३ करोड रुपैयाँ विनियोजन भएको छ। मदन भण्डारी रंगशालाका नाममासमेत करिब ४ करोड रुपैयाँ आयो। तर, विवादबीच प्रधानमन्त्री ओलीले फाल्गुनन्द सभागृहको नाम फेरेर मदन भण्डारी बनाइदिए। अनि न बजेट आयो, न विवादै सल्टियो। यही नाम हेराफेरीको चक्करमा परेर स्थानीय तहमा एमाले प्रतिनिधिले चुनावसमेत हार्नुपरेको थियो। र, यही पुरानो फाल्गुनन्द र पुनः न्वारानमा परेको मदन भण्डारी रंगशाला (दमक–३) लाई बीआरआई झापा स्पोर्टस् कम्प्लेक्सका रूपमा स्थापित गर्ने ‘लबिइङ’ अघि बढेको छ।