काठमाडौँ– वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ३१ लाख रुपैयाँ ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बागलुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो। उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अभियुक्त परियारले २८ लाख, कार्कीले १ लाख र विष्टले २ लाख रुपैयाँ ठगेको पाइएको प्रहरीको भनाइ छ। उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।