Saturday, February 15, 2025

-->

मधेश आन्दोलनको १८ वर्ष: ओभाउन सकेनन् शहीद परिवारका आँसु

आन्दोलनले ल्याएको परिवर्तनले जनताको जीवनस्तर भने उस्तै रहेको शहीद परिवारको गुनासो छ। सरकारले पनि रोजगारी र जीविकोपार्जनमा आफूहरूलाई सहयोग नगरेको उनीहरू बताउँछन्।

मधेश आन्दोलनको १८ वर्ष ओभाउन सकेनन् शहीद परिवारका आँसु

सिरहा– कठ्यांग्रिँदो चिसोको वास्ता नगरी शनिबार बिहान लहानस्थित शहीदचोकमा मानिसको घुइँचो बढ्दै गएको थियो। मधेश केन्द्रित दल तथा कार्यकर्ताको चहलपहल र उपस्थिति बाक्लो थियो।

शहीदको प्रतिमामा माल्यार्पण गर्न नेता र कार्यकर्ता भेला भएका थिए। बलिदानी दिवस मनाउन उपस्थित भएका थिए। मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका शहीदको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ। 

जब माघ ५ नजिकिन्छ। लक्ष्मी सहनी र उनकी श्रीमती डोमनी सहनीको मनमा भने छटपटी बढ्दै जान्छ। विगतका स्मृति र विस्मृतिहरूलाई उप्काएर ताजा बनाइदिन्छ, जसले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो। 

यसैगरी, छटपटी र तनाव बढ्छ महम्मद मस्तकीलाई पनि। १८ वर्ष पहिले लहानमा चर्किएको मधेश आन्दोलनले सहनी परिवारको सपनालाई क्षणभरमा उजाडेको थियो। २०६३ माघ ५ गते तत्कालीन मझौरा गाविस–५ का रमेशकुमार महतो, माघ ७ गते इटहर्वा गाविस–३ का मोहम्मद अनिश, सोही दिन महदेव गाविस–२ का प्रमोद सदाय र माघ ८ गते लहान नगरिपालिका–४ का विजय सहनीको सोही आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। तिनै शहीद विजय सहनीको बुबाआमा हुन्, लक्ष्मी र डोमनी सहनी। 

दुई सन्तानमध्ये घरको जेठो १८ वर्षीय विजय सहनीलाई आन्दोलनमा गुमाएको पल सम्झिँदा बुबा लक्ष्मी सहनीलाई अझै भक्कानो छुटेर आउँछ। “प्रत्येक माघ ५ गतेले मलाई पीडा र आँसु दिएर जान्छ,” छोराको सालिक अगाडि उभिएर सहनीले भने, “आन्दोलनले के कति प्राप्त भयो थाहा छैन तर हाम्रो परिवार उजाड बनाइदियो। खुशीहरू सधैँलाई छुटिगए।”

परिवारको आर्थिक जोहो टार्न अर्को छोरो राजेश सहनी तीन वर्षदेखि भारतको केरलामा मजदुरी गरिरहेका छन्। “मेरा छोरा जस्तै शहीदको बलिदानले नेताहरूलाई सरकारमा त पुर्‍यायो, तर मेरो परिवार उस्तै गरिबी, अभाव र पीडामा छ। सम्झिँदा मन भक्कानिन्छ, सम्हाल्न गाह्रो हुन्छ,” उनले भने। 

आफूलाई जसोतसो सम्हाले पनि श्रीमतीलाई सम्झाउन गाह्रो हुने उनले सुनाए। छेवैमा रहेकी श्रीमतीतर्फ हेर्दै उनले भने, “यस्ता कार्यक्रमले पीडा थप बल्झाउने र असाध्यै सताउने गर्छन्।” 

मोहम्मद मस्तकी शहीद मोहम्मद अनिशका बुबा हुन्। यस्तै पीडा छ, उनको पनि। सरकारले शहीद परिवारको रोजगारी र जीविकोपार्जनमा कुनै सहयोग नगरेको तथा आन्दोलनले ल्याएको परिवर्तनले जनताको जीवनस्तरमा कुनै परिवर्तन ल्याउन नसकेको उनले दुखेसो पोखे। “शहीदको सपना पूरा भएन। सोचेअनुसारको परिणाम आएन। व्यवस्था त बदलियो तर जनताको अवस्था फेरिएन,” उनले भने। 


सम्बन्धित सामग्री