इजरायलले ७ अक्टोबर २०२३ मा एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो। गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका लडाकुले बलियो सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भीषण हमला गरेका थिए। यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थीसहित करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो। इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौँ भीषण युद्ध हो।
सन् १९४८ मा इजरायल स्थापना भएयता इजरायलमाथि यति ठूलो हमला कहिल्यै भएको थिएन। हमासका लडाकुले किब्बुजका घरघरमा प्रवेश गरेर बुढाबुढी, केटाकेटी, युवा जोकोहीलाई निर्ममतापूर्वक हत्या गरेका थिए। घरबस्तीलाई खण्डहरमा परिणत गरिदिएका थिए। यतिमात्र होइन, उनीहरूले २५१ जना बालबालिका, वृद्ध र युवालाई अपहरण गरेर गाजा लगेका थिए। गाजामा नाकाबन्दी गरेको, अल–अक्सा मस्जिदमा कारबाही गरेको, गाजा र पश्चिम किनारामा जबरजस्ती बस्ती बिस्तार गरेको बदलामा इजरायलमाथि आक्रमण गर्नुपरेको हमासले बताउँदै आएको छ।
यो घटनाबाट आहत भएको इजरायलले हमास विरुद्ध अक्टोबर २७ देखि भीषण स्थल सैन्य र हवाई कारबाही थालेको थियो। हमासलाई समूल नष्ट गर्ने र बन्धकलाई मुक्त गर्ने अभियानमा लागेको इजरायललाई अमेरिकासहित पश्चिमा देशले आर्थिक, सैनिक, राजनैतिक सहायता र आडभरोसा दिएका थिए। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सरकारले हमासबिरुद्ध थालेको सैन्य कारबाहीले हमासले गरेको आक्रमणलाई पनि बिर्साइदिएको छ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। यद्यपि यो संख्याका बारेमा फरक फरक विवरण आइरहेका छन्। हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ। र, मारिएका मध्ये आधाभन्दा बढी महिला र बालबालिका छन्।
एक लाख बढी प्यालेस्टिनी घाइते भएका छन्। मानवीय संकटको चरम स्थितिमा पुगे पनि इजरायली आक्रमण जारी थियो। गाजाका करिब २३ लाख सर्वसाधारण घर छाडेर टेन्टमा कष्टकर जीवन जिउन बाध्य छन्। उनीहरुका ९० प्रतिशत घर इजरायली बमबारीबाट क्षतिग्रस्त भएको सञ्चार माध्यमले बताएका छन्। युद्धको यस विभिषिकाबाट बच्ने कुनै आशा छाडेका उनीहरूले अन्तर्राष्ट्रिय समुदाय समक्ष अनेक हारगुहार गरिरहे। गाजाका अधिकांश घर भग्नावशेषमा परिणत भएका छन्, सडक बमबारीबाट क्षतविक्षत छन्, विद्यालय र अस्पताल कुनै बाँकी छैनन्। एक किसिमले गाजामा जातीय सफाया गर्न चाहेको आरोप इजरायलले खेपेको छ। अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री र हमास नेतृत्वमाथि युद्ध अपराधको मुद्दा चलाएको छ।
इजरायलले हमासका नेताहरूलाई पनि गाजा र अन्यत्र छानिछानी हत्या गरिदिएको छ। यसक्रममा २०२४ अक्टोबर १६ मा हमासका नेता याया सिनवार इजरायली स्थल सेनाको कारबाहीमा मारिएका थिए भने अर्का वरिष्ठ नेता इस्माइल हनिएको इरान भ्रमणका क्रममा हत्या भएको थियो।
लेबनान र इरानमाथि आक्रमण
गाजामा सक्रिय हमास समूहलाई समर्थन गरेको आरोप लगाउँदै इजरायलले २०२४ सेप्टेम्बर २३ देखि लेबनानको दक्षिणी र राजधानी बेरुतका कतिपय क्षेत्रमा सक्रिय इरान समर्थित हेज्बोल्लाह लक्षित स्थल र हवाई आक्रमण गरेको थियो। यसक्रममा ८०० भन्दा बढी सर्वसाधारणका साथै ठूलो संख्यामा हेज्बोल्लाह समूहका सदस्य मारिए।
झन्डै तीन महिनाको सैनिक कारबाही पछि हेज्बोल्लाह र इजरायली सरकारबीच २७ नोभेम्बरमा युद्धविराम भएको थियो। यसक्रममा हेज्बोल्लाहले पनि ड्रोन र क्षेप्यास्त्र प्रहार गरेर इजरायलमाथि दबाब सिर्जना गरेका थिए। तथापि, इजरायलको सैन्य सामथ्र्य अघिल्तिर हेज्बोल्लाह टिक्न सकेको थिएन।
उता मध्यपूर्वमै युद्ध भड्किने आशंका निम्त्याउने गरी इरानले इजरायलमाथि १ अक्टोबर २०२४ मा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो। इजरायलले पनि २६ अक्टोबरमा हवाई आक्रमण गरेर इरानभित्र क्षति गरेको थियो।
युद्धविराम, शान्तितर्फको एउटा अवसर
सन् २०२३ नोभेम्बर २४ मा कतारको मध्यस्थतामा पहिलो युद्धविराम भएको थियो। यो युद्धविरामलाई स्थायी बनाउने प्रयत्न हुँदाहुँदै ३० नोभेम्बरमा भंग भएको थियो। यस अवधिमा हमास समूहले आफ्नो नियन्त्रणमा रहेका झन्डै १५० जना बन्धकलाई मुक्त गरेका थिए। तर यो युद्धविरामलाई दिगो बनाउने प्रयास सफल भएन, र सम्पूर्ण बन्धकलाई मुक्त नगर्दासम्म युद्धविराम नगर्ने र आक्रमण जारी राख्ने इजरायलले घोषणा गरेको थियो।
इजरायलले गाजावासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै अमेरिकासमेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन्। तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धविराममा सहमति जनाउन केही नरम भएको थियो। पछिल्लो युद्धविराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकार कतारमा भेला भएका थिए।
तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धविराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। युद्धविराम सम्झौता आइतबार बिहान शुरू भएको छ। युद्धविराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन्।
हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले ६ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ। यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ। बीबीसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन शुरू गर्नेछ। विस्थापित गाजावासीलाई आफ्ना घर फर्किन दिइने छ। गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ।
इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौँ ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन्। राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्बाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षसमक्ष आह्वान गरेको छ। “गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन्। उनीहरूलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ,” डब्ल्यूएफपीले भनेको छ।
युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन्। तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु भइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ। गाजाको पुनर्निर्माण अभियान शुरू हुनेछ। एक अनुमान अनुसार, हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन। नेपाली विद्यार्थी विपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन। यद्यपि, युद्धविरामको सर्तमै बन्धक बनाइएकाहरू सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक विपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ।
पछिल्लो युद्धविरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रस्ट भइसकेको छैन। गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ? हमास वा अरू कुनै निकायले? यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन्।