काठमाडौँ— अमेरिकामा धनुष्टंकार, लहरेखोकी र भ्यागुते रोगबाट बच्न ७ वर्ष उमेर समूहका बालबालिकाले डीटीएपी (डिफ्थेरिया, टिटानास र पर्टिसस) खोप दिइन्छ। ७ वर्षभन्दा बढी उमेर समूह, गर्भवती, शिशुको स्याहार गर्ने ‘केयरगिभर’, युवा र वृद्धलाई टीड्याप (टिटानास, डिफ्थेरिया र एसलुल पर्टिसस) खोप लगाइन्छ।
यो खोप गर्भवतीलाई गर्भको बच्चाका लागि र अरूलाई बुस्टरको रूपमा दिइन्छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले प्रत्येक १० वर्षमा यो खोप लिनुपर्ने जनाएको छ। प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने र तोकिएका रोगबाट जोगाउने हुनाले बुस्टर खोप लिनुपर्ने केन्द्रको भनाइ छ।
अमेरिका र क्यानडासहित युरोपका केही देशमा यसरी नै डीटीएपी र टीड्याप दिइन्छ। यी देशमा अध्ययनका लागि जाँदा वा जुनसुकै प्रयोजनले यात्रा गर्दा टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध छैन।
वयस्क उमेर समूहका लागि लगाइने टीड्याप सरकारी स्वास्थ्य संस्थामा उपलब्ध नरहेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन्। उनका अनुसार नेपालमा यी रोगविरुद्ध डीपीटी खोप दिइन्छ, जुन ५ वर्ष उमेर समूहका लागि मात्र हो।
डीपीटीमा बुस्टरको रूपमा कुनै पनि खोप नदिइने डा. गौतम बताउँछन्। “अहिले हामी आवश्यकता र प्राथमिकताको आधारमा खोप लगाइरहेका छौँ, त्यसैले टीड्याप ल्याउन अध्ययनकै क्रममा छौँ। यसमा बजेटको समस्या पनि छ,” उनी भन्छन्।
नेपालमा टीड्याप खोपको माग नहुने डा. गौतमको भनाइ छ। बुस्टरको रूपमा यो खोप लगाउने योजना पनि छैन। “विशेषगरी विदेश जानेहरूले प्रमाणका रूपमा यो खोप लगाउँछन्, त्यो संख्या सानो छ। त्यसका लागि उनीहरूले निजी औषधि पसलबाट किन्न सक्छन्,” उनी भन्छन्।
दर्ता छैन खोप, मूल्य दोब्बर!
काठमाडौँकी काव्या विश्वकर्मा उच्च शिक्षाका लागि अमेरिका जाँदै थिइन्। उनी पढ्न जान लागेको विश्वविद्यालयले अनिवार्य रूपमा टीड्याप खोप लगाएको हुनुपर्ने बतायो। उनका बुवा कसमस विश्वकर्मा छोरीलाई लिएर खोप लगाउन टेकु अस्पताल पुगे।
अस्पतालमा खोप उपलब्ध नभएकोले निजी औषधि पसलमा उनले ५ हजार रूपैयाँ तिरेर खोप किने। अस्पतालकी नर्सले खोप लगाइदिइन्। तर खोपको मूल्यले आफूलाई चकित बनाएको उनी बताउँछन्।
उनले औषधि पसलका सञ्चालकलाई खोप महँगो हुनुको कारण सोधे। यो खोप नेपालमा दर्ता नभएको र मूल्य त्यति नै भएको जवाफ पाए। दर्ता नभएको खोप भएकोले पसल सञ्चालकले बिल पनि दिन मानेनन्।
नेपालबाट हरेक वर्ष अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत मुलुक जाने हजारौँले अनिवार्य यो खोप लगाउनुपर्छ। “सरकारले यी खोप दर्ता गरेर सुपथ मूल्यमा नै उपलब्ध गराउन किन पहल नगरेको?” विश्वकर्मा भन्छन्।
टेकु अस्पतालअगाडिका तीन वटा फार्मेसीले यो खोपको बास्तविक मूल्य हटाएर नयाँ मूल्य राखी बढी पैसा लिने गरेका छन्। क्यानडामा उत्पादन हुने यो खोप भारतीय ऐजेन्सी सानोफी हेल्थकेयर इन्डिया प्रालिले नेपाल पठाउँछ। भारतीय बजारमा यो खोपको मूल्य ९०० देखि ११ सय भारुसम्म छ।
भारतीय ऐजेन्सीले भारतमा यसको अधिकतम खुद्रा मूल्य १४ सय भारुसम्म रहेको जानकारी दिएको छ। अर्थात्, भारतमा २२ सय ४० रुपैयाँ खुद्रा मूल्यमै खोप किन्न सकिन्छ। यही खोपलाई नेपालमा ५ देखि ६ हजार रुपैयाँ तिर्नुपर्छ।
टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसौला औषधि खरिद गरेर ल्याउँदा अस्पतालका स्वास्थ्यकर्मीले लगाइदिने तर कहाँबाट र कसरी ल्याइयो भन्ने सरोकार नहुने बताउँछन्। विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको, विश्वभरि लगाइने खोप भएकाले मापदण्ड पूरा गरी ल्याइए लगाइदिने गरिएको उनको भनाइ छ।
खोपलाई चिसोमा भण्डारण गर्नुपर्छ। भण्डारणको मापदण्ड नपुग्दा त्यसको प्रभावकारिता रहँदैन। “खोप नेपालमा दर्ता भएको वा नभएको, मापदण्डलगायत हेर्ने औषधि व्यवस्था विभागले हो। हामीले त सहजीकरण गरिदिने मात्र हो,” डा. बसौला भन्छन्।
यता, औषधि व्यवस्था विभागका सूचना अधिकारी प्रमोद केसी यो खोप विभागमा दर्ता नभएको र बढी मूल्य लिएको भए औषधि मापदण्ड ऐनअनुसार कारबाही गरिने बताउँछन्। “हालसम्म यसबारे कुनै निवेदन आएको थिएन, थप अध्ययन र अनुगमन गरी ऐनअनुसार कारबाही गरिन्छ,” उनी भन्छन्।
केसीका अनुसार यो खोप दर्ताका लागि प्रस्तावसमेत आएको छैन। केही महिनाअघि चीनमा उत्पादन हुने टिटानस, डिफ्थेरिया र पर्टुसिसविरुद्धको खोप दर्ताका लागि भने प्रस्ताव आएको थियो। विभागले अध्ययन गरिरहेकाले अनुमति भने दिइनसकेको उनी बताउँछन्।
नेपालमा टीड्याप खोपको आवश्यकताबारे कुरा उठे पनि आयातको निश्चित योजना नभएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतम बताउँछन्। यो खोप महँगो हुने कारण आवश्यकता र प्राथमिकताका आधारमा विज्ञहरूसँग छलफलपछि मात्र दर्ता र आयातको योजना बनाइने उनको भनाइ छ।
तर टेकु अस्पतालले खोप खरिदका लागि टेन्डर आह्वान गरेको निर्देशक डा. बसौला बताउँछन्। टेकु अस्पतालमा बर्सेनि हजारौँले यो खोप लगाइरहेको उनको भनाइ छ। यसको आवश्यकता मध्यनजर गर्दै अस्पतालले आयातका लागि टेन्डर गरेको उनी बताउँछन्। “अहिले दोस्रो पटक टेन्डर आह्वान भएको हो,” उनी भन्छन्, “यसअघि कुनै पनि आवेदन नपरेपछि अहिले पुनः खोलेका छौँ।”
नेपालमा डीपीटी
टीड्यापमा धनुष्टंकारविरुद्धको मात्रा धेरै र भ्यागुते रोग तथा लहरे खोकीविरुद्धको मात्रा कम हुन्छ। नेपालमा दिइने डीपीटीमा सबै डोज मिल्ने बालरोग विशेषज्ञ डा. अनिल ओझा बताउँछन्।
डा. ओझाका अनुसार टीड्याप पूर्ण नभई केही कोशिकाहरूको ‘कम्पोनेन्ट’बाट तयार गरिएको खोप हो। “डीटीएपीमा रोगविरुद्धको डोज होलसेलमा मिल्छ। जसलाई पूर्णमात्रामा रहेको भनिन्छ। टीड्यापमा सेलहरूको केही कम्पोनेन्ट मात्रै हुन्छ। त्यसलाई ठूलो उमेरका व्यक्तिलाई बुस्टरको रूपमा दिइन्छ,” उनी भन्छन्।
सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार वृद्ध अवस्थामा पनि लहरे खोकी र धनुष्टंकारले सताउँछ। त्यसैले सबै खोप समयमै लगाउनुका साथै समयसमयमा बुस्टर पनि लिन आवश्यक छ। “विदेशमा शिशु अवस्थादेखिका सबै खोप र बुस्टर पनि लगाउन स्वास्थ्य संस्थाहरूले सुझाउँछन्। यो सबै आवश्यक छ,” उनी भन्छन्।
नेपालमा शिशुलाई डीपीटी खोप दिइन्छ भने गर्भवतीलाई टीडी खोप दिइन्छ। सरकारले यो खोप निःशुल्क रूपमा दिन्छ। सरकारले दिने खोपमा धनुष्टंकार, लहरेखोकी, भ्यागुते रोग, हेपाटाइटीस बी र हिमोफिलस इन्फ्लुएन्जा टाइप बीविरुद्धको प्याकेज हुन्छ।
नेपालमा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था (गाभी)ले सर्वसुलभ मूल्यमा डीपीटी खोप दिँदै आएको छ। यो खोप शिशु जन्मेको ६ हप्तामा पहिलो डोज, १० हप्तामा दोस्रो डोज र १४ हप्तामा तेस्रो डोज लगाइन्छ। गर्भवतीलाई पहिलो पटक गर्भ रहेमा एक महिनाको अन्तरमा दुई पटक र दोस्रो पटक गर्भवती भए एक पटक टीडी खोप दिइन्छ।
डा. गौतमका अनुसार यो खोप दिन २०३४ सालमा धनुषा, रूपन्देही र सिन्धुपाल्चोक जिल्लाबाट शुरू गरिएको थियो। २०४६ सालसम्ममा तत्कालीन ७५ वटै जिल्लामा खोप पुर्याइएको थियो। सरकारले तोकेको केन्द्रमा खोप निःशुल्क पाइन्छ। सरकारले गाभीमार्फत आयात गर्ने खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर चिन्ह प्राप्त रहेको डा. गौतमको भनाइ छ।