काठमाडौँ– न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ प्रक्रिया शुरू भएको छ। सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले खड्काविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार सुनुवाइका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने निर्णय भएको बताइन्।
“सुनुवाइका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समितिसमक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेलजस्ता विद्युतीय सञ्चारका माध्यममार्फत संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु,” उनले भनिन्।
शनिबार बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता खड्काको नाम सिफारिस गरेको थियो।