Saturday, February 15, 2025

-->

भूकम्प सुरक्षा दिवस: पूर्वतयारीका लागि संकल्प जरुरी

भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने विज्ञले बताएका छन्।

भूकम्प सुरक्षा दिवस पूर्वतयारीका लागि संकल्प जरुरी

काठमाडौँ– १९९० सालको विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरू अहिले निकै कम संख्यामा छन्। तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव संकालेकाहरू कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ। त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रबिन्दु भएको भूकम्पले काठमाडौँलगायत क्षेत्रको जमिन हल्लाउँदा त्यसले नौ वर्षअघिको भूकम्पको सम्झना दिलाएको थियो। 

१९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ। भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरूपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमासमेत गरिएको छ। 

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यक्रम सञ्चालन गरी बुधबार २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ। 

विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरू पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए। “विगतका भूकम्पबाट सिकेको पाठ भूकम्पीय जोखिम न्यूनीकरण गर्नुपर्छ भन्ने हो,” उनले भने, “यसका लागि हामीले बनाउने संरचना भूकम्प प्रतिरोधी हुनैपर्छ। यस दिवस भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्यांकन गर्दै, हाम्रा कमीकमजोरीलाई पनि सुधार गर्ने लक्ष्यका साथ आइरहेका छौ।”

भूकम्पको जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्न सबै सरोकार निकायदेखि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यससम्बन्धी प्रचारप्रसार आवश्यक भएकोमा उनको जोड छ। 

“भूकम्पीय जोखिम न्यूनीकरण गर्न सुरक्षित भवन निर्माण गर्नुपर्ने र यसका लागि नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ,” उनले भने, “भूकम्प पश्चात्को सम्भाव्य अवस्थालाई पूर्वआकलन गरी प्रभावकारी र दूत खोज तथा उद्धार, सीपयुक्त र तालिम प्राप्त उद्धारक एवम् तत्काल राहतको आवश्यकतालाई समेत तयारी अवस्थामा राख्नु पनि उत्तिकै जरुरी  छ।” 

भवन संहिता कार्यान्वयनका लागि नीतिगत व्यवस्था, नीतिगत जनचेतना तथा अभिमुखीकरण, क्षमता अभिवृद्धि, प्राविधिक कार्य, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्यांकन, समन्वय तथा सहकार्य जस्ता क्षेत्रहरूमा आवश्यक कार्य निरन्तर भइरहेको महर्जनले बताए। विगतका भूकम्पबाट पाठ सिकेर भवनको नक्सा डिजाइन गर्न आवश्यक पर्ने भार र डिजाइन गर्ने विधिसहितको भवन निर्माण संहिता अद्यावधिक गरी लागू गरिएको उनको भनाइ छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएमा के गर्ने? के नगर्ने विपद्मा कसरी संयमता अपनाउने? सुरक्षित हुने तरिकाहरू के हुन्ने? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउँछन्। सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ।

पूर्वतयारीको अभावमा जाजरकोट भूकम्पपीडितले अझै पनि पूर्ण रूपमा राहत नपाएको अवस्था छ। पूर्वतयारी नहुँदा भूकम्पपछि सर्वसाधारणले दुःख पाउने गरेको विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीको भनाइ छ। “अहिलेसम्म कतिपय भूकम्पपीडितले राहत पाउन नसक्दा उनीहरू अस्थायी आवासमै कष्टपूर्ण रूपमा बस्नु परेको छ,” उनले भने। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जाजरकोटको भूकम्पबाट प्रभावित भई  पुनर्निर्माण गर्नुपर्ने निजी आवासको संख्या ९५ हजार ७८७ छ। भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्‌बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको योजना कार्यान्वयनका लागि १ खर्ब १ अर्ब १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।  

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निमित्त कार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेकोमा जोड दिए।  “हामीले भूकम्प प्रतिरोधी संरचना बनाउन सकिरहेका छैनौँ। सबै स्थानीय तहमध्ये भवन निर्माण संहिता ५० वटा स्थानीय तहमा मात्रै कार्यान्वयन भएको छ,” उनले भने, “भूकम्प कहिले र कहाँ  जान्छ भनेर भविष्यवाणी नै गर्न त सकिँदैन। तर भूकम्पबाट बच्ने मुख्य उपाय स्वरूप पूर्वतयारी गर्न सकिन्छ। यो भनेको भूकम्प प्रतिरोधी संरचना बनाउने, बनिसकेका संरचनालाई सुधार गर्ने र अन्य पूर्वतयारीका गतिविधि नै हो।”

भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि राष्ट्रिय संकल्प आवश्यक भएको उनको भनाइ छ। “राज्य तथा अन्य सरोकारवाला निकायबाट व्यापक जनचेतना अभिवृद्धिका साथै विपद्पछिको प्रतिकार्यसम्बन्धि योजना र कार्यान्वयनका लागि तयार हुनुपर्छ,” उनले भने, “यसका साथै व्यक्ति आफैले पनि भूकम्पबाट सुरक्षित हुन आफ्नो तर्फबाट तयारी हुनुपर्छ। कसरी संयमता अपनाउने, आफ्नो घर भूकम्प प्रतिरोधी छ कि छैन? लगायतका विषयमा सचेत हुनुपर्छ।”

इन्जिनियर अमितप्रसाद तिमल्सेनाले भूकम्पमैत्री संरचना निर्माणका लागि भवन निर्माण संहिताको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने आवश्यकता औँल्याए। “अधिकांश घर र संरचना निर्माणमा मापदण्ड पालना भएको छैन। भवन निर्माण संहिता कार्यान्वयन भए नभएको विषयमा राज्यले अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुपर्छ,” उनले भने। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण थालनी हुने जानकारी दिए। गत आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले भूकम्प र मनसुनजन्य विपद्पश्चात्को पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ। 

बैठकले योजनाबमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई यथाशीघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देशन दिएको प्राधिकरणले जानकारी दिएको छ।


सम्बन्धित सामग्री