Saturday, February 15, 2025

-->

बेलायतको राजनीतिमा एलोन मस्कको चर्चा

बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका ठूला काण्डमध्येका यी श्रृंखलाबद्ध घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन।

बेलायतको राजनीतिमा एलोन मस्कको चर्चा

राजनीतिमा नयाँ वर्ष एक जना अर्बपतिको ‘धमाका’बाट शुरू भयो। ती अर्बपति थिए– अमेरिकी राजनीतिमा प्रभाव जमाइरहेका एलोन मस्क।

यसपटक उनले अमेरिकी नभई बेलायती राजनीतिमा तरंग पैदा गरे। ४२६ विलियन डलरका मालिक मस्कले जनवरी ३ मा बेलायत सरकारविरूद्ध सामाजिक सञ्जाल एक्समा आक्रोस पोखे। त्यो आक्रोसको चर्चा अहिले पनि सेलाएको छैन।

मस्कको चासो विगतमा बेलायती शहरमा बालबालिकामाथि भएका बलात्कारका जघन्य अपराधप्रति थियो। उनले बेलायती प्रधानमन्त्री केयर स्टारमरलाई भोटका निम्ति ‘सामूहिक बलात्कारमा संलग्न भएको’ आरोप लगाए। उनले सुरक्षामन्त्री जेस फिलिप्सलाई बलात्कार नरसंहारको क्षमायाचनाकर्ता भने र उनलाई जेल हाल्न आह्वान गरे।

मस्कको यो आरोप बुझ्न विगत नियाल्नुपर्छ। किनकि, उनले उठाएको बलात्कारको मुद्दा अहिलेको होइन।

सन् १९८० र २०१० को बीचमा बेलायतका विभिन्न शहरमा गरिब पृष्ठभूमिका केटीहरूलाई प्रायः पाकिस्तानी मूलका पुरुषको समूहले यौन दुर्व्यवहार गर्ने, लागुऔषध खुवाउने र बलात्कार गर्ने गरेको बताइन्छ। सन् २०११ मा यस विषयमा ‘द टाइम्स अफ लन्डन’ले अनुसन्धानमूलक रिपोर्टहरूको श्रृंखला नै प्रकाशित गरेको थियो। ती रिपोर्ट सन् १९९७ देखि उत्तरी र मिडल्यान्ड्स इंल्यान्डमा आपराधिक गिरोहद्वारा केटीहरूमाथि भएको यौन शोषणबारे थिए। 

यस घटनालाई ‘ग्रुमिङ ग्यांग’ काण्डको रूपमा चिनिन्छ। मस्कले भनेको ‘ग्रुमिङ स्क्यान्डल’ पनि यही हो।

सन् २०१४ मा प्रोफेसर एलेक्सिस जेको एक रिपोर्टले रोदरहममा सन् १९९७ र २०१३ को बीचमा करिब १४ सय बालबालिकाको यौन शोषण भएको अनुमान गरेको थियो। रिपोर्टमा भनिएको थियो, “बाल पीडितहरूले भोगेको दुर्व्यवहारको भयावह प्रकृति वर्णन गर्न गाह्रो छ। उनीहरूलाई धेरै अपराधीहरूले बलात्कृत गरे, कतिपयलाई इंल्यान्डको उत्तरका शहरहरूमा बेचबिखन गरे। उनीहरूलाई निर्घात कुटपिट पनि गरिएको थियो।”

रिपोर्टअनुसार बालबालिकालाई पेट्रोल छर्किएर जलाउने धम्की दिइएको थियो। दृष्य विभत्स थियो। बच्चालाई हिंसात्मक बलात्कारको साक्षी बनाइएको थियो र तिनीहरूलाई भनिएको थियो– यो कुरा सार्वजानिक ग¥यौ भने तिमीहरूको पनि यही हालत हुनेछ।

पीडित र सहयोग माग्ने अभिभावकलाई प्रायः प्रहरी र सामाजिक सेवा गर्नेहरूले बेवास्ता गरेका थिए। केही प्रहरी अधिकारीहरूले पीडितलाई ‘उत्ताउली’ र ‘नखरमाली’ भन्दै उनीहरूमाथि भएका दुर्व्यवहारलाई ‘जीवनशैलीको छनोट’ भनेका थिए।

अपराधको यो श्रृंखलाबारे न्युयोर्क टाइम्समा लेखिएको छ, “यो मुद्दा विवादास्पद थियो। किनभने रोदरह्यामका पीडितहरू प्रायः गोरा थिए, जबकि अपराधीहरू फरक जातीय पृष्ठभूमिका थिए। २०१२ मा अक्सफोर्ड, ओल्डह्याम र रोचडेलमा धेरै केटीहरूको दुर्व्यवहारको लागि मुद्दा चलाइएको थियो, जसमा पाकिस्तानी, बंगलादेशी र अफगानी मूलका पुरुषहरू संलग्न थिए। जसले लामो जेल सजाय पाएका थिए।”

सन् २०१६ मा प्रोफेसर जे ‘इन्डिपेन्डेन्ट इन्क्वेरी इन टु चाइल्ड सेक्स्युअल एब्युज’ को अध्यक्ष बनेकी थिइन्। २०२२ को एक रिपोर्टमा उनको निष्कर्ष थियो, “संगठित समूहहरूद्वारा इंल्यान्ड र वेल्समा व्यापक दुर्व्यवहार गरिएको सत्य हो।”

उनले तयार पारेको प्रतिवेदनमा २० वटा सिफारिस गरिएको थियो। युरो न्युजका अनुसार ती सिफारिस अहिलेसम्म कार्यान्वयनमा आएका छैनन्।
बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका यी घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन। विभिन्न सञ्चारमाध्यमले बेलाबेला यस विषयमा लेखेका थिए। तर बेलायती अधिकारीहरूमाथि उक्त दुर्व्यवहारलाई बेवास्ता गरेको आरोप लगाइन्छ।

मस्कले जनवरी ३ मा एक्समा पोस्ट गरेपछि यो मुद्दा पुनः चर्चामा आएको छ। उनले लेखेका थिए, “स्टारमर ६ वर्षसम्म क्राउन प्रोसिक्युसनको प्रमुख हुँदा बेलायतमा भएको बलात्कार (रेप अफ ब्रिटेन)मा संलग्न थिए। स्टारमरले जानुपर्छ र बेलायतको इतिहासको सबैभन्दा खराब सामूहिक अपराधमा संलग्न भएको आरोपको सामना गर्नुपर्छ।”

अहिलेका बेलायती प्रधानमन्त्री स्टारमरले सन् २००८ देखि २०१३ सम्म सार्वजानिक अभियोजनको नेतृत्वकर्ताको रूपमा काम गरेका थिए। इंल्यान्ड र वेल्समा हुने आपराधिक क्रियाकलापमा संलग्नकर्तालाई उनले त्यतिबेला कारबाही गर्नसक्ने हैसियत राख्थे। तर कारबाही भएन।

सन् २००९ मा स्टारमरले पद सम्हालेको नौ महिनापछि रोचडेलमा आरोपित अपराधीहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको थियो। तर कतिपय सञ्चारमाध्यमले स्टारमरविरुद्ध मस्कको आलोचनालाई अनावश्यक र बेतुक मान्छन्। यस सन्दर्भमा गार्जियनले लेखेको छ, “क्राउन प्रसिक्युसन सर्भिसका वकिलहरूले पीडितका तर्क भरपर्दो वा विश्वसनीय नदेखिने तर्क गरे। स्टारमरलाई मुद्दाको विवरणबारे जानकारी गराइएको कुनै प्रमाण पनि छैन।”

एलोन मस्कको पोष्टपछि बेलायती प्रधानमन्त्री केयर स्टारमर पनि प्रतिरोधमा उत्रिएका थिए। बेलायतमा बाल यौन दुर्व्यवहारबारे ‘झूटो र गलत सूचना फैलाउनेहरू’प्रति उनको निन्दा थियो। उनले पत्रकारहरूसँग भनेका थिए, “सकेसम्म व्यापक रूपमा झूट र गलत सूचना फैलाउनेहरू पीडितहरूमा केन्द्रित छैनन्, तिनीहरूको आफ्नै स्वार्थ छ।”

बेलायतस्थित लेबर पार्टीका सदस्य तथा स्वास्थ्यमन्त्री एन्ड्रयु ग्वेन्नले मस्कलाई आफ्नै देशको राजनीतिप्रति मात्र चासो देखाउन आग्रह गरे। एलबीसी रेडियोसँगको एक अन्तरवार्तामा उनले भनेका छन्, “एलोन मस्क एक अमेरिकी नागरिक हुन्, उनले संयुक्त राज्यमा मामिलाहरूमा मात्र ध्यान केन्द्रित गर्दा हुन्छ।”

बेलायतमा मस्कको स्वार्थमाथि विभिन्न टिकाटिप्पणी भएको छ। विश्लेषकहरू भन्छन्– मस्क बेलायतमा दक्षिणपन्थी पार्टीलाई सत्तामा ल्याउन चाहन्छन्।

एक्सको एउटा पोस्टमा मस्कले राजा चाल्र्स तृतीयलाई संसद् भंग गर्न र बेलायतमा नयाँ चुनावको आदेश दिन आह्वान गरेका थिए। बेलायतमा पछिल्लो पटक ६ महिनाअगाडि मात्र निर्वाचन भए पनि मस्क बेलायतमा पुनः निर्वाचनका लागि आग्रह गरेपछि यसको विभिन्न कोणबाट विश्लेषण भएको छ।

मस्कले केही दिनअगाडि अप्रत्याशित रूपमा दक्षिणपन्थी पार्टी रिफर्म यूकेका नेता निगेल फराजले पद त्याग्नुपर्ने बताए। यद्यपि, मस्कले तुरुन्त अर्को उम्मेदवारलाई समर्थन गरेनन्, यसअघि कैदमा परेका अति दक्षिणपन्थी आन्दोलनकारी टमी रोबिन्सनको रिहाइमा जोड दिएका छन्। यसकारण उनको समर्थन टमी रोबिन्सनप्रति रहेको बुझ्न गाह्रो छैन।

मस्कले बलात्कारको विषय उठाउनुमा निहित स्वार्थ भए पनि यसले बेलायतमा बलात्कारको मुद्दालाई चाहिँ पुनः चर्चामा ल्याएको छ। बेलायतका राजनीतिशास्त्री म्याट गुडविनले केही दिनअगाडि एक्समा पोस्ट गर्दै यो मुद्दा नउठाएकोमा मिडियाको समेत आलोचना गरेका थिए। आफूले लामो समयदेखि यस बलात्कार गिरोह काण्डलाई पर्याप्त रूपमा कभर गर्न असफल भएको बताउँदा आलोचना खेपेको उनको भनाइ थियो।

यो बेलायतको इतिहासमा सबैभन्दा ठूलो काण्डहरूमध्ये एकको रूपमा चिनिने गुडविनको दाबी छ। उनले भनेका छन्, “मानिसले यो काण्डमा ध्यान दिइरहेका छन्। उनीहरूले यसलाई याद गरेका छन् र नजिकबाट नियालेका छन्। अब प्रश्न छ– मिडियाले यसलाई गम्भीरतापूर्वक लिनेछ र अगाडि ल्याउनेछ वा एलोन मस्कमा ध्यान केन्द्रित गरेर र आफ्नै असफलताहरूलाई बिर्सिएर मुद्दालाई बेवास्ता गरिरहनेछ।”

मस्क पछिल्लो समय विभिन्न मुलुकको राजनीतिक बहसमा सामेल छन्। विशेषगरी डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा पुनः निर्वाचित गर्न सफल भएपछि राजनीतिमा आफ्नो भूमिका बढाएका छन्।

उनको चासो र चिन्ता जर्मनीमा पनि छ। गत महिना उनले जर्मनीको दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीलाई समर्थन गरे। यो यस्तो दक्षिणपन्थी पार्टी हो, जसले नाजी विचारधारालाई समर्थन गर्छ। जर्मन सरकारले मस्कलाई  सन्निकट चुनावलाई ‘प्रभाव पार्ने प्रयास’ गरेको आरोपसमेत लगायो। 

मस्कको पोस्टहरूमा कसरी प्रतिक्रिया दिने भनेर सोध्दा, जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मन मिडियासँग भनेका थिए, “ट्रोललाई धेरै बढावा नदिनुस्।” आफू मस्कसँग नजुध्ने समेत उनले बताएका थिए।


सम्बन्धित सामग्री