तस्वीर: म्यानहेम कहाना/एएफपी)
कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोत र इजरायली मिडियाले मंगलबार बताएका छन्।
वार्ताबारे जानकार एक स्रोतले मंगलबारबाट एएफपीलाई दोहामा ‘अन्तिम चरणको वार्ता’ शुरू हुने बताएको थियो। मध्यस्थकर्ता देशहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनमा सम्झौता गर्ने प्रयास तीव्र पारेका छन्।
वार्तासँग सम्बन्धित दुई स्रोतले एएफपीलाई प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको बदलामा ३३ बन्धक रिहा गरिने बताए।
यी बन्धक सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजापट्टिमा बन्दी बनाइएका ९४ जनामध्येका हुन्। यो संख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन्।
टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ।
वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ। जसअनुसार पहिले बालबालिका र महिलालाई रिहा गरिनेछ।
टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजरायली अधिकारीले प्रस्तावित प्रारम्भिक आदान–प्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन्। यद्यपि इजरायल अधिकारीहरू उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ।
“यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागू भएको १६औँ दिनमा इजरायलले बाँकी बन्दीलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता शुरू गर्नेछ”, रिपोर्टमा भनिएको छ, “यसमा पुरुष सैनिक, सैन्य उमेरसमूहका पुरुष र मारिएका बन्धकका शव समावेश छन्।”
गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको संकेत गरेको थियो।
इजरायली मिडियाले मंगलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरण कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ।
“सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट इजरायली सेना फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दालाई उत्तरतिर जान अनुमति दिनेछ”, वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम चरणमा पुगेको र यो मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताएका थिए।
“इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव... अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ”, बाइडेनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भने।
वार्ताका मुख्य अड्चनका विषयमा युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ। अन्य विवादका विषयमा विस्थापित गाजावासीको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाका पुनः खुला गर्ने विषय समावेश छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गरेका छन्। उनले त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको पनि विरोध गरेका छन्।
वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ता हमास र इजरायली वार्ताकार दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन्। मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ।