Wednesday, February 12, 2025

-->

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि, २२ खर्ब ७३ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षमा सरकारले ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ५ महिनामा मुद्रास्फीति बढेर ६.०५ प्रतिशत पुगेको छ।

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि २२ खर्ब ७३ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत मंसिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.९५ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ। गत मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले वृद्धि भएको छ।

गत मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले वृद्धि भएको छ भने शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले वृद्धि भएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३६, मधेश प्रदेशको ६.७७, बागमती प्रदेशको ५.८४, गण्डकी प्रदेशको ४.८१, लुम्बिनी प्रदेशको ५.५३, कर्णाली प्रदेशको ४.१९ र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत रहेको छ।

यस अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२, तराईको ६.३१, पहाडको ५.६५ र हिमालको ६.५८ प्रतिशत रहेको छ। गत मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.६३ प्रतिशत रहेको थियो। यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.१४ प्रतिशतले घटेको छ।

मुलुकको चालु खाता बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुगेको छ। विप्रेषण आप्रवाहमा पनि उल्लेख्य सुधार भएको छ।

समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४१ अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको थियो। यो अवधिमा खुद पुँजीगत ट्रान्सफर तीन अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब ८७ करोड रुपैयाँ थियो।

यसैगरी, गत मंसिर मसान्तसम्ममा ६ अर्ब तीन करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी तीन अर्ब ९३ करोड रुपैयाँ रहेको थियो।  चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १६ अर्ब पाँच करोड रुपैयाँले बचतमा थियो।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनामा ११.५ प्रतिशतले वृद्धि भई २०८१ मंसिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा समीक्षा अवधिमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड डलर पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २० खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ। गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। 

यसैगरी विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४२५ रहेको छ।


सम्बन्धित सामग्री