Wednesday, February 12, 2025

-->

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

सकारात्मक सोच र भूकम्पको जोखिम व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।

भूकम्पको मनोवैज्ञानिक असर कायमै संयमता अपनाउन आग्रह
तस्वीर: सिन्ह्वा

काठमाडौँ– मंगलबार बिहानको भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो। चिसो मौसममा पनि मानिसहरू सडकमा निस्किए। कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए। कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो। 

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो। जसका कारण मंगलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो। बिहान ६ः५० बजे चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिंगी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प नेपालका कोशी, मधेश र बागमतीमा विभिन्न जिल्लामा महसुस गरिएको थियो। 

भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो। गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो।

भूकम्पको धक्काले अत्तालिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हाम फाले। हालफाल्दा घाइते भएका उनको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ। भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका–१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ।

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन्। “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ। एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ। यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ,” उनले भने, “२०७२ सालको भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो। यस्ता विपद्बाट मानसिक रोग देखापर्छ। विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने? भन्ने कुरामा ख्याल गर्नुपर्छ।”

भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन। यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ। विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ। डा. कार्कीले भने, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ। यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ।”

फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने उनले बताए। “यस्ता विपद्‌बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन,” उनले भने, “सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।”

अनावश्यक त्रास नफैलाउन आग्रह 
खानी तथा भू-गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरे। “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ। भूकम्प संयमता अपनाउनुपर्छ,” उनले भने, “सामाजिक सञ्जालमा ठूलो भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन। भूकम्पको भविष्यवाणी सम्भव छैन।” आधिकारिक सूचनामात्रै ग्रहण गर्न उनको आग्रह छ। 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचना विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए। चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गरे। “भूकम्पका कारण हिमताल फुट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं। आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु,” जोशीले भने।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहनसमेत आग्रह गरेका छन्। संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ। 

किन जान्छ भूकम्प ?
सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ। पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ। यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ। यी प्लेट एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ। 

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन। टेक्टोनिक प्लेटबीचको अन्तरसंघर्षको कारणले भूकम्प जाने गर्छन्। स-साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्छन्। हरेक दिन जाने साना भूकम्पले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्प जाने गर्छन्। 

“विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन्। सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको कांगरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्प हुन्,” केन्द्रले भनेको छ। 

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमार (बर्मा) सम्मको करिब दुई हजार ५०० किलोमिटर लामो सक्रिय हिमशृंखलाको मध्य भागको करिब ८०० किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ। टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा विनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ।


सम्बन्धित सामग्री