Saturday, February 15, 2025

-->

कहाँ ‘हराए’ दुई वर्षमा विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी?

स्तरीय पढाइ हुने ठूला क्याम्पसमा पहिलेभन्दा विद्यार्थी बढ्दा धेरैजसो क्याम्पसमा भने विद्यार्थी ह्वात्तै घटेका छन्। यसका पछाडि विदेश मोहभन्दा विश्वविद्यालयहरूको खस्कँदो स्तर ज्यादा जिम्मेवार छ, कसरी?

कहाँ ‘हराए’ दुई वर्षमा विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी

काठमाडौँ– मानविकी र व्यवस्थापन संकायमा पढाइ हुने कालीमाटीस्थित काठमाडौँ क्याम्पसमा एक दशकअघिसम्म पुग्दो विद्यार्थी हुन्थे। क्याम्पस प्रमुख रोश्ना जोशीलाई धादिङ, मोरङ सुर्खेतलगायतका जिल्लाबाट समेत विद्यार्थी आएर पढ्ने गरेको सम्झना छ। “त्योबेला भौतिक संरचना नहुँदा पनि विद्यार्थी हुन्थे। अहिले भौतिक संरचना पर्याप्त छन्, शिक्षक छन्, तर विद्यार्थी छैनन्।”

क्याम्पसमा अहिले विद्यार्थी र कर्मचारी बराबर छन्, १०–१० जना। प्राध्यापक, कर्मचारी नियमित आउँछन्। विद्यार्थी आउँदैनन्। विभिन्न प्रयास गरे पनि विद्यार्थी बढाउन सकिएको छैन।

क्याम्पसले विद्यार्थी आकर्षित गर्न छात्रवृत्तिदेखि निःशुल्क भर्नासम्मको व्यवस्था गरेको छ। तर विद्यार्थी आउँदैनन्। किन त? जोशी भन्छिन्, “जुन क्षेत्रबाट विद्यार्थी आइरहेका थिए, त्यहाँबाट विदेश जानेको संख्या बढेको छ। यो कारणले पनि हाम्रो क्याम्पसमा विद्यार्थी नभएका हुन्।”

विद्यार्थी नहुनुको अर्को कारणचाहिँ उच्च शिक्षाको गतिलाई ठान्छिन् जोशी। “परीक्षा समयमा हुँदैन। चार वर्ष भनेको कोर्स सकिन ६–७ वर्ष लाग्छ। विश्वविद्यालय जसरी अगाडि बढिरहेको छ, त्यसले गर्दा पनि विद्यार्थी नभएका हुन्,” उनले भनिन्।

कालीमाटीको काठमाडौँ क्याम्पसजस्तै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त बौद्ध बहुमुखी क्याम्पसमा २०७२ सम्म एक सयभन्दा धेरै विद्यार्थी थिए। व्यवस्थापन संकायको पढाइ हुने यो क्याम्पसमा २०७६ सम्म आइपुग्दा विद्यार्थीको संख्या ६६ जनामा झर्‍यो।

चार वर्षको अन्तरालमा करिब आधा विद्यार्थी घट्नु सामान्य थिएन। तर क्याम्पसले विद्यार्थी किन घटे भनेर चासो देखाएन। २०८०/८१ सम्म आइपुग्दा विद्यार्थी पाउन मुस्किल भयो। यो वर्ष बल्लतल्ल १९ जना भर्ना भएका छन्। उनीहरूको पनि क्याम्पसमा भौतिक उपस्थिति दुर्लभ बनेको छ।

शिक्षा, मानविकी र व्यवस्थापन संकायको पढाइ हुने शिखरापुर क्याम्पस काठमाडौँको दक्षिणकाली क्षेत्रको एक मात्र क्याम्पस हो। मकवानपुर लगायतका ठाउँबाट विद्यार्थी आउने यो क्याम्पसले विद्यार्थी खोज्नु पर्दैनथ्यो। अहिले अवस्था कस्तो आएको छ भने शैक्षिकसत्र २०८० मा शिक्षा संकायमा विद्यार्थी नै भएनन्। क्याम्पसमा प्रशासन हेर्ने रोजिन श्रेष्ठ भन्छन्, “अघिल्लो वर्ष विद्यार्थी नपाएर भर्ना नै लिएनौँ, यसपालि भने शिक्षा संकायमा भर्ना लिइरहेका छौँ।”

यसपालि शिक्षा संकायमा १९ जना भर्ना विद्यार्थी भएका छन्। मानविकीमा १४ र व्यवस्थापन संकायमा १९ जना छन्। बीबीएस कार्यक्रममा विद्यार्थी भएकाले अघिल्लो वर्ष क्याम्पसलाई त्यसैले भरथेग गर्‍यो। शिक्षा र अन्य संकायमा तुलनात्मक रूपमा विद्यार्थी घट्नुमा रोजगारी वा अरू काममा विदेश जानु, विश्वविद्यालयले परीक्षामा ढिलाइ गर्नुलगायत प्रमुख कारण रहेको सहायक क्याम्पस प्रमुख विनोद महतको अनुमान छ।

महत भन्छन्, “१२ कक्षा पास गर्नबित्तिकै विदेशका विभिन्न विश्वविद्यालयका लागि भाषा परीक्षा (आएल्स आदि) दिने, अंग्रेजी, जापानी, कोरियाली भाषा अध्ययन गरेर बाहिर जाने धेरै भए। देशमा रोजगारीको विकल्प नभएर पढ्दापढ्दै छाड्नेहरू पनि धेरै छन्।”

काठमाडौँका यी तीन सामुदायिक क्याम्पसको अवस्थासँग मिल्दोजुल्दो छ ललितपुरको ललित बहुमुखी क्याम्पस पनि। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यो क्याम्पसमा शिक्षा संकायको पढाइ हुन्छ। २०७८/७९ सम्म विद्यार्थी संख्या ७३ थियो। २०८०/८१ मा त्यो संख्या १८ मा झरेको छ।

तीन वर्षको अन्तरालमा ७५ प्रतिशतले विद्यार्थी घटेको यो क्याम्पसजस्तै काठमाडौँ उपत्यकाका सामुदायिक क्याम्पस मात्र छैनन्। निजी क्याम्पस र शैक्षिक कार्यक्रमको अवस्था पनि आशालाग्दो छैन।

उच्च शिक्षामा किन घट्यो विश्वास? 
नेपाल कलेज अफ म्यानेजमेन्टमा २०७० सालमा ४१५ जना विद्यार्थी भर्ना भएका थिए। ६ वर्षपछि, २०७६/२०७७ सम्म आइपुग्दा त्यो संख्या ३८ जनामा खुम्चियो। व्यवस्थापन संकायका बीबीए, बीएचएम र बीएचटीएम विषयको पढाइ हुने क्याम्पसमा अन्य कार्यक्रममा विद्यार्थी भए पनि बीएचटीएम अर्थात् ब्याचलर इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रममा अहिले एक जना मात्र विद्यार्थी छन्।

नयाँ कार्यक्रम लागू गरेर विद्यार्थी आकर्षण गर्न सकिने आकलन गरिए पनि त्यस्तो देखिएन। काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यो कलेजसँगै अरू निजी क्याम्पसको अवस्था योभन्दा फरक छैन।

Made with Flourish

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काठमाडौँको एभरेस्ट कलेज अफ नर्सिङमा २०७६/७७ मा १९८ जना विद्यार्थी थिए। २०८०/८१ को भर्ना रेकर्ड हेर्दा त्यो संख्या ३१ जनामा झरेको छ। एउटा नर्सिङ क्याम्पसमा पाँच वर्षमा ८४ प्रतिशतले विद्यार्थी घटेको यो अवस्था नै अहिलेको यथार्थ हो त? के उच्च शिक्षामा यस्तै अविश्वास चुलिएको हो?

देशकै पुरानो त्रिभुवन विश्वविद्यालयअन्तर्गत थोरै तर केही यस्ता क्याम्पस छन् जहाँ अहिले पनि धेरै विद्यार्थी पढ्छन्। तिनको अवस्थाले के देखाउँछ भने स्तरीय शिक्षा, पाठ्यक्रम र वातावरण हुने हो भने क्याम्पस नै रित्तिने अवस्था भने आउँदैन।

जस्तो, व्यवस्थापन विषयमा पढाइ हुने त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक क्याम्पस शंकरदेव क्याम्पसमा २०८०/८१ मा आठ हजार ११२ विद्यार्थी छन्। पछिल्ला तीन वर्षको तुलना गर्दा शंकरदेवमा विद्यार्थी संख्या बढेको देखिन्छ। २०७७/२०७८ शंकरदेवमा विद्यार्थी संख्या सात हजार ३७५ थियो।

व्यवस्थापनकै पढाइ हुने मीनभवनस्थित त्रिविकै आंगिक क्याम्पस नेपाल कमर्स क्याम्पसमा ६ हजार ९० विद्यार्थी छन्। त्यस्तै, व्यवस्थापन संकायमा पढाइ हुने अर्को क्याम्पस, पब्लिक युथमा तीन हजार ५४९ विद्यार्थी छन्। यी तीन क्याम्पस त्यस्ता क्याम्पस हुन् जहाँ भर्ना पाउन पनि कठिन छ।

यसबाहेक अरू क्याम्पस पनि छन्। जस्तो, पोखराको पृथ्वीनारायण क्याम्पसको २०८०/०८१ को भर्ना रेकर्ड हेर्दा १० हजार ३७० विद्यार्थी भर्ना छन्। शिक्षा, कानून, मानविकी, व्यवस्थापन र विज्ञान तथा प्रविधि संकायको पढाइ हुने यो क्याम्पसमा व्यवस्थापन संकायतर्फ विद्यार्थी धेरै छन्। चार हजार ९२३ विद्यार्थी व्यवस्थापन संकायमा भर्ना भएका छन्।त्यसपछि शिक्षा संकायमा एक हजार ८३१ र मानविकीमा एक हजार ४२५ विद्यार्थी भर्ना छन्।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी, कानून, व्यवस्थापन र विज्ञान तथा प्रविधि संकायमा पढाइ हुन्छ। यहाँ व्यवस्थापन संकायको बीबीएस कार्यक्रममा मात्र एक हजार ७८४ विद्यार्थी भर्ना छन्। क्याम्पसका सबै संकायमा गरेर यहाँ २०७६/७७ मा तीन हजार ८१ विद्यार्थी थिए। २०८०/८१ सम्म आइपुग्दा विद्यार्थी संख्या ७७ प्रतिशतले विद्यार्थी बढेर पाँच हजार ४५५ पुगेका छन्।

शंकरदेव, मीनभवन, पब्लिक युथ, पृथ्वीनारायण र महेन्द्र बहुमुखी क्याम्पससहित ठूला शहरका केही क्याम्पसमा विद्यार्थीको संख्या घटेका छैनन्। तर, साना अरू क्याम्पसमा भने विद्यार्थी घटिरहेका छन्। यसमा के कारणले भूमिका खेलेको छ त?

प्राध्यापक विद्यानाथ कोइराला क्याम्पसहरूमा विद्यार्थी घट्नुका चार कारण देख्छन्। “पहिलो कारण दलका नेताहरू हुन्। विश्वविद्यालय सुधार होस्, उच्चशिक्षाको शिर ठाडो बनोस् भन्ने हाम्रा नीति र नेतृत्वले सोच्दैनन्,” कोइरालाले भने, “दोस्रो विश्वविद्यालय आफै हो। यसले समयअनुसारको शिक्षा दिन सकेन। विश्वविद्यालयको नेतृत्वले त्यहाँ ध्यान दिएनन्। परिणाम, विद्यार्थीलाई छ–सात वर्ष पढेर केही हुन्छ भन्ने लागेन।”

तेस्रो कारण भने विद्यार्थीलाई कमाउनुपर्ने बाध्यात्मक परिस्थिति आइलागेको उनले उल्लेख गरे। “विश्वविद्यालयको शिक्षा जीवनमा काम लाग्ने भएन। त्यही भएर केटाकेटी क्याम्पसबाट बाहिरिए,” उनी भन्छन्, “अर्कोचाहिँ नीति निर्माणको तहमा बसेकालाई विद्यार्थीलाई विश्वविद्यालयसम्म पुर्‍याउने बुद्धि आएन। यहीकारण यस्तो दुर्दशा भएको हो।”

विद्यार्थी कुरिरहेका क्याम्पस
कुनै बेला बागलुङको बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थी थेगिनसक्नु हुन्थ्यो। स्थापना हुँदादेखि नै त्यसक्षेत्रको ग्रामीण भेगका धेरैले यहीँ पढ्थे। अहिले त्यो एकादेशको कथा भएको छ। शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुने यो क्याम्पसमा अहिले जम्मा २१ जना विद्यार्थी भर्ना छन्।

क्याम्पसका लेखापाल हरिप्रसाद शर्माका अनुसार तिनमा पनि क्याम्पस पढ्न आउने विद्यार्थी एक जना पनि छैनन्। भर्ना भएका सबै जना परीक्षा फारम भर्दासम्म कायम रहँदैनन्।

क्याम्पससँग भौतिक पूर्वाधार पुग्दो छ। आर्थिक अवस्था पनि नराम्रो छैन। आंशिक भए पनि प्राध्यापकहरू छन्, एक पूर्णकालीन र नौ आंशिक। क्याम्पससँग एक करोड ४५ लाखको अक्षयकोष पनि छ। विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदान पाउँदै आएको क्याम्पससँग सबै कुरा हुँदाहुँदै पनि विद्यार्थी नभएपछि केही नभएको जस्तो भएको शर्मा बताउँछन्।

विद्यार्थी संख्या बढाउन क्याम्पसले अनेक उपाय अपनायो। भर्ना शुल्क, मासिक शुल्कलगायतका शुल्क नलिने नीति लियो। केही गरे पनि विद्यार्थी नआएपछि चार दशकदेखि बलेवा बहुमुखी क्याम्पस प्रमुखको जिम्मेवारी बहन गरेका ज्ञानेन्द्रराज पन्तले राजीनामा दिएका छन्।

उनी क्याम्पसबाट बिदा भएको एक महिना पुगेको छैन। “यहाँका विद्यार्थी शहर र विदेश केन्द्रित भएपछि संकट आइलाग्यो। मान्छेहरू काठमाडौँ, पोखरा रोज्न थाले। कोही बजार गए,” उनले भने, “त्यसले गर्दा हाम्रो क्याम्पसमा विद्यार्थी घटे।”

पन्तका अनुसार समय बित्दै गएपछि बलियो आर्थिक अवस्था भएका स्थानीयले छोराछोरीलाई उच्चशिक्षाका लागि शहर पठाउन थाले। काठमाडौँ, पोखरा उनीहरूको रोजाइमा परे।

सबै अभिभावकसँग छोराछोरीलाई ठूला शहरमा पढ्न पठाउने क्षमता थिएन। कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूले उच्चशिक्षा पढ्नु भन्दा कुनै काम खोज्नु वा बिदेसिनु उपयुक्त ठाने। “त्यसपछि क्याम्पसमा विद्यार्थीको संकट आइलाग्यो,” पन्तले भने, “छोरी, बुहारी क्याम्पसमा पढ्न आउँथे। अब त उनीहरूले पनि छाडे।”

विद्यार्थी अभावको समस्या झेल्ने बलेवा एक्लो होइन। बैतडीको सुर्नया गाउँपालिकास्थित रौलाकेदार बहुमुखी क्याम्पस अर्को उदाहरण हो। २०७० सालमा स्थापना भएको यो क्याम्पस पाँच वर्षमा अनिश्चितकालका लागि बन्द भएको थियो। २०८० तिर यो क्याम्पसमा फेरि पढाइ शुर भयो।

मानविकी संकाय पढाइ हुने यो क्याम्पसमा ६२ जना भर्ना छन्। तर उनीहरू भर्नामा सीमित छन्, कक्षामा आउँदैनन्।

ग्रामीण क्षेत्रलाई उच्च शिक्षामा जोड्न स्थापना गरिएका बलेवा पैयुँपाटा र रौलाकेदार जस्तै देशभरका ५०५ क्याम्पसले विद्यार्थी अभाव भोगिरहेका छन्। यी क्याम्पसमा सयभन्दा कम अर्थात् पहिलेको तुलनामा ३७.२७ प्रतिशत मात्र विद्यार्थी भर्ना छन्।

Made with Flourish

विद्यार्थीको संकट विकट ठाउँका क्याम्पसमा मात्र सीमित छैन। शहर र सुगम भनिएका ठाउँका क्याम्पसको अवस्था पनि उस्तै छ। जस्तो, भक्तपुरको आदर्श बहुमुखी क्याम्पसमा ४७ विद्यार्थी छन्। भक्तपुर खरिपाटीकै श्रीकृष्ण बहुमुखी क्याम्पसमा १४ विद्यार्थी छन्। काठमाडौँसँग जोडिएको जिल्ला धादिङको नमूना बागेश्वरी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्रको पढाइ हुन्छ। त्यहाँ विद्यार्थी भने ६ जना मात्र छन्।

राष्ट्रिय शिक्षा नीति २०७६ मा विद्यार्थी संख्या कम भएका क्याम्पस, शिक्षण संस्थालाई ‘मर्जर’मा लैजान सक्ने व्यवस्था गरिएको छ। क्याम्पसहरूले विद्यार्थी पाउन गाह्रो हुँदै गएपछि २०८० सालमा विश्वविद्यालय अनुदान आयोगले मर्जरको नीति ल्याएको थियो। त्यसपछि केही विश्वविद्यालयले मर्जरका लागि प्रस्ताव आह्वान पनि गरे। २०८० साउन २ गते त्रिविले मर्ज हुन चाहने सम्बन्धनप्राप्त क्याम्पसहरूलाई सूचना जारी गर्‍यो। तर क्याम्पसहरू त्यसरी मर्जमा आउन चाहेनन्।

उच्चशिक्षामा पहुँच बढाउने नाममा विश्वविद्यालयहरूले ठोस नीति र योजनाबिना हचुवाका भरमा दिएको सम्बन्धनले क्याम्पसमा विद्यार्थी संकट आइलागेको शिक्षाविद् मीनाक्षी दाहालको बुझाइ छ। अध्ययन र अनुसन्धानबिना पहुँचका भरमा बाँडिएको सम्बन्धनले क्याम्पसमा निम्तिएको विद्यार्थी संकटको थप दुर्दशा बैतडीमा देखिन्छ। यहाँ त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएका १५ वटा क्याम्पस छन्। त्यसमध्ये १० क्याम्पस त्रिविबाट सम्बन्धनप्राप्त छन्।

बैतडीमा सुदूरपश्चिम विश्वविद्यालयका चार आंगिक क्याम्पस छन्। एक सम्बन्धनप्राप्त क्याम्पस छ। यी क्याम्पसमा विद्यार्थीको संकट कतिसम्म छ भने त्रिविबाट सम्बन्धन पाएको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसको बीएस्सी कार्यक्रममा जम्मा चार जना विद्यार्थी छन्। नङ्लाशैनी क्याम्पसमा मानविकी संकायमा पढाइ हुन्छ जहाँ १२ विद्यार्थी छन्। शिगास शिक्षा क्याम्पसमा ६७ विद्यार्थी छन्।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस जगन्नाथ बहुमुखीमा शिक्षा संकायतर्फ ९० विद्यार्थी छन्। ९० विद्यार्थीमध्ये आठ जना मात्र छात्र छन्।

“हामीले क्याम्पस ल्यायौँ भनेर जसले भाषण गरे, उनीहरूले छोराछोरीलाई क्याम्पस पठाएनन्,” शिक्षाविद् दाहालले भनिन्, “गुणस्तरीय शिक्षाको लागि भन्दै तिनले छोराछोरी जिल्ला बाहिर पठाए। गरिब, विपन्नका छोराछोरीलाई जस्तो शिक्षा दिए पनि भयो भन्ने सोच छ। यसले गर्दा पनि विद्यार्थी घटेका हुन्।”

विश्वविद्यालयले सम्बन्धन बाँडे पनि विद्यार्थी रोक्ने नीति र कार्यक्रम नभएको, व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड पनि नदिएकाले क्याम्पसहरूले विद्यार्थी नपाएको उनको ठहर छ। “छात्रा धेरै हुँदैमा, गरिब, विपन्नका छोराछोरी धेरै हुँदैमा पढाइ कमजोर भयो भन्न पाइँदैन। विश्वविद्यालय र सरकारले जे नगर्नुपर्ने थियो, त्यही गरेकाले यस्तो भएको हो,” उनले भनिन्।

हुन पनि अध्ययनबिनै हचुवाका भरमा गाउँ–गाउँसम्म क्याम्पसलाई विश्वविद्यालयहरूले सम्बन्धन दिएको देखिन्छ। तर विद्यार्थीहरूले गुणस्तरीय शिक्षा र शैक्षिक कार्यक्रमको खोजीमा गाउँ छाड्न थालेपछि सामुदायिक क्याम्पसमा विद्यार्थी संकट आइलागेको जानकारहरू बताउँछन्। 

विश्वविद्यालय अनुदान आयोगले गरेको अध्ययनको निचोडले पनि त्यही देखाउँछ। आयोगले २०७४ सालमा गरेको अध्ययनले उच्चशिक्षा काठमाडौँ उपत्यका, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नेपालगन्जजस्ता शहरमा केन्द्रित भएको देखाएको छ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति  केदारभक्त माथेमा उच्चशिक्षामा भएको लापरबाहीले विद्यार्थी घटिरहेको बताउँछन्। “हाम्रा विश्वविद्यालय जुन रूपले चलिरहेका छन्, समस्याको जरा त्यहाँ छ। कति वटा विश्वविद्यालय, क्याम्पस चाहिन्छ, कहाँ–कहाँ चाहिन्छ भनेर पहिले अध्ययन हुनुपर्ने थियो। त्यो भएन,” उनी भन्छन्, “हचुवाका भरमा उच्चशिक्षा चलाउँदा यो समस्या आएको हो। विश्वविद्यालय जसका लागि चाहिएको थियो, उनीहरु नै भएनन्।”

विदेश एउटा कारण, सरकारी प्रतिवेदन भन्छ– गुणस्तरहीन शिक्षा मुख्य कारण
विदेशमा अध्ययनका लागि विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार विद्यार्थीहरूको विदेश जानेक्रम घटेको छैन। २०७५/७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएकोमा २०८०/८१ सम्ममा एक लाख १२ हजारले लिए। पाँच वर्षमा यो संख्या ७७ प्रतिशतले बढेको देखिन्छ। गत वर्ष प्रतिमहिना नौ हजार ३३३ जनाले एनओसी लिएको देखिन्छ। चालु आर्थिक वर्षका पहिला तीन महिनामा २७ हजार ७२७ जनाले एनओसी लिए।

Made with Flourish

अर्थात् अहिले पनि गत वर्षकै हाराहारीमा विद्यार्थी बिदेसिइरहेका छन्। विज्ञहरू शिक्षाको गुणस्तरमा कमी आउनु र अवसर (रोजगारी) को अभाव हुनुले विद्यार्थी बिदेसिइरहेको बताउँछन्। “विश्वविद्यालयमा गुणस्तरको कमी ठूलो समस्या हो,” प्राध्यापक माथेमा भन्छन्।

उनले भने झैँ अध्ययनले पनि शिक्षामा गुणस्तरको कमी प्रमुख कारण रहेको देखाउँछ। २०७४ सालमा विश्वविद्यालय अनुदान आयोगले गरेको अध्ययन प्रतिवेदनले उच्चशिक्षामा सुधार टड्कारो देखाएको छ। प्रतिवेदनमा नेपाली विद्यार्थीहरू विदेश जानु, शैक्षिक गुणस्तरमा गिरावट  आउनु र त्यहीकारण उच्च शिक्षाले विद्यार्थीको आवश्यकता पूरा गर्न नसकेको उल्लेख छ। प्राध्यापक माथेमा थप्छन्, “विश्वविद्यालयको गति ठिक छैन। बरबादीको बाटोतिर जान लागेको छ। राजनीति र गलत नीतिले हाम्रो उच्चशिक्षालाई बरबाद बनाएको हो।”

आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाले शैक्षिक गुणस्तर कायम राख्न क्याम्पसहरूलाई प्रमाणपत्र प्रदान गर्दै आएको छ। देशभरका १ हजार ५१४ क्याम्पसमध्ये २९५ क्याम्पस मात्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी छन्। यो १९.४८ प्रतिशत हो।

बाँकी क्याम्पस अझै गुणस्तर सुनिश्चिततामा अगाडि बढ्न सकेका छैनन्। यसमा ७० आंगिक क्याम्पस, १४६ सामुदायिक क्याम्पस, ७७ निजी क्याम्पस र दुई विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक संस्था समावेश छन्।

अहिले देशभरका १६ विश्वविद्यालय र ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ लाख ३३ हजार विद्यार्थी भर्ना छन्। १० विश्वविद्यालयमा एक प्रतिशत विद्यार्थी पनि छैनन्। ७७ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा मात्र भर्ना भएका छन्।

२०७७/७८ मा त्रिभुवन विश्वविद्यालयमा तीन लाख १३ हजार विद्यार्थी थिए। २०८०/८१ मा यो संख्या चार लाख ४३ हजार पुग्यो। “तर उच्चशिक्षामा विद्यार्थी घटेको/बढेको यसले मापन गर्ने होइन। जनसंख्या र पढ्नहरूको वृद्धि हेर्नुपर्छ, त्यसो त २०४६ साल र अहिलेको तुलना गर्दा विद्यार्थी बढेका छन्,” प्राध्यापक माथेमा भन्छन्। 

उच्चशिक्षाको बिन्दु कक्षा १२ उत्तीर्णलाई मानिएको छ। यो वर्ष १२ कक्षाको परीक्षा दिने विद्यार्थी चार लाख ९१ हजार ४९७ विद्यार्थी थिए। राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार ५२.९१ प्रतिशत अर्थात् २ लाख ३१ हजार २३६ विद्यार्थी पहिलो प्रयासमा उत्तीर्ण भए। अनुत्तीर्णमध्ये पूरक परीक्षाबाट ८६ हजार २४६ विद्यार्थी उत्तीर्ण भए। अर्थात् यो वर्ष कुल ३ लाख १७ हजार ४८२ विद्यार्थी १२ कक्षा उत्तीर्ण भए।

देशभरका १६ विश्वविद्यालय र ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेर २०७८/०७९ मा पाँच लाख ७९ हजार ४४८ विद्यार्थी थिए। २०७९/०८० मा भर्ना भएका विद्यार्थीको रेकर्ड भने विश्वविद्यालय अनुदान आयोगको शिक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा छैन।

२०७८/०७९ को तथ्यांकसँग तुलना गर्दा २०८०/०८१ सम्म ५३ हजार ६०६ विद्यार्थी बढेर ६ लाख ३३ हजार ५३ पुगे। २०८०/०८१ मा  कक्षा १२ उत्तीर्ण गरेर तीन लाख १७ हजार ४८२ विद्यार्थी उच्चशिक्षा पढ्नयोग्य भएका थिए।

माध्यमिक शिक्षा पूरा गरेर ५३ हजार ६०६ विद्यार्थीले उच्चशिक्षा अध्ययनका लागि भर्ना गरे पनि बाँकी उच्चशिक्षा पढ्नयोग्य दुई लाख ६३ हजार ८७६ विद्यार्थी ‘बीच बाटोमै हराएको’ देखिन्छ।

यसरी उच्चशिक्षा अध्ययन गर्नयोग्य लाखौँ विद्यार्थी विश्वविद्यालयसम्म नपुगेर कहाँ गए? विश्वविद्यालय अनुदान आयोगका सूचना अधिकारी कृष्णहरि प्रजापति विद्यार्थी कहाँ गए भन्नेबारे अध्ययन नभएको बताउँछन्। “अध्ययन भएपछि त्यसको वास्तविकता थाहा होला, अहिलेसम्म त्यसको अध्ययन भएको छैन,” उनले भने।

(विश्वविद्यालय भर्ना हुनयोग्य तर विश्वविद्यालयमा नआएका विद्यार्थीको संख्या फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ –सम्पादक)


सम्बन्धित सामग्री