काठमाडौँ– ‘हजारों जवाफों से अच्छी है मेरी खामोसी, नजाने कितने सवालों कि आबरु रख ले।’ अर्थात्, हजारौँ जवाफ भन्दा मेरो मौनता नै ठीक छ, थाहा छैन यसले कति सवालको इज्जत ढाक्छ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले बेलाबखत ‘फर्माउने’ सायरी हो यो।
भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा अर्थशास्त्री सिंहको डिसेम्बर २६ मा ९२ वर्षको उमेरमा निधन भयो। उनले राजनीतिक जीवनमा शान्त र विनम्र वक्ताको छवि बनाएका छन्। शब्दमा सशक्त रूपमा विचार व्यक्त गर्ने उनी संसद्मा उठेका सवालको सिधा–सोझो जवाफ दिन खप्पिस थिए।
व्यक्तिगत आक्षेप लगाउने र तर्कहीन सवाल जवाफ गर्ने प्रवृत्तिलाई दुरुत्साहन गर्न संसद्मा मनमोहनको प्रस्तुति अनुकरणीय छ। कम बोलेर अथवा नरम शब्द प्रयोग गरेरै विपक्षी नेतालाई भरपुर जवाफ दिन सकिन्छ भन्ने उनको त्यो शैली नेपालकै संसदीय अभ्यासमा पनि प्रेरणा बन्न सक्छ।
एक दशकसम्म भारतको प्रधानमन्त्री रहेका सिंह भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार मानिन्छन्। उनले सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्दा र त्यसअघि अर्थमन्त्रीका रूपमा भारतीय अर्थन्त्र सुधारका काम गरेका थिए। तर उनी सार्वजनिक रूपमा कम बोल्ने नेताका रूपमा चिनिन्थे।
विनम्रतासाथ बिस्तारै बोल्ने मनमोहन सिंहले संसद् ‘थर्काउने’ भारतीय जनता पार्टी (भाजपा)की नेतृ सुष्मा स्वराजलाई हँसाइदिएका छन्, शायराना अन्दाजमा।
यी दुई दिवंगत नेताको कवितात्मक संयोजनले धेरै पटक भारतीय संसद्को वातावरणलाई हास्यमा बदलिदिएको छ। संसद्मा सत्ता र विपक्षी नेताबीच कटुता र वैरभाव मात्र नभई काव्यिक ढंगले प्रेमपूर्वक सवाल जवाफ गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गरिदिएको छ।
बेलाबेला संसद्भित्रै हीनता र हिंसाकै हदसम्म पुग्ने राजनीतिक प्रवृत्तिलाई काव्यात्मक र तर्कशील बनाइराख्न यी दुई नेताबीच हुने शायराना जुगलबन्दीको किस्सा रोचक छ।
त्यो थियो, सन् २००९ देखि २०१४ बीच पन्ध्रौँ लोकसभाको समय। त्यतिबेला मनमोहन प्रधानमन्त्री थिए, भाजपाकी वरिष्ठ नेतृ सुष्मा विपक्षी नेता थिइन्। सन् २०११ मा विकिलिक्सलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षीबीचको सवालजवाफले सदन तातेको थियो। प्रतिपक्षीले सवालमाथि सवाल गर्दै सत्तापक्षलाई र्याखर्याख्ती परिरहेको थियो। त्यति बेला हो विपक्षी नेता सुष्मा र मनमहोनबीच शेर–ओ–सायरी चलेको, यसका क्लिप अझै पनि युट्युबतिर भेटिन्छन्। जसमा दुवै नेताले एकअर्कालाई काव्यात्मक शैलीमा प्रहार तथा प्रतिरक्षा गरेका छन्।
यसै क्रममा विपक्षी नेतृ सुष्मा स्वराजले प्रधानमन्त्री सिंहलाई शाहब जाफरीको सायरी सुनाएकी थिइन्ः
‘तू इधर उधर की न बात कर, ये बता कि काफिला क्यों लुटा, हमें रहजनों से गिला नहीं, तेरी रहबरी का सवाल है।’
अर्थात्, यो र त्यसको कुरा नगर्नुहोस्, मलाई भन्नुहोस् कि काफिला (यात्रीहरूको समूह) किन लुटियो, हामीलाई रहजनों (यात्रीहरूलाई लुट्ने मान्छे)सँग कुनै गुनासो छैन, यो तपाईंको पथप्रदर्शनको प्रश्न हो।
विपक्षी नेताको यो हमलालाई तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पनि काव्यात्मक ढंगले जवाफ दिएका थिए। उनले अल्लामा इकबालको सायरी पढे।
‘माना कि तेरी दीद के काबिल नहीं हूं मैं, तू मेरा शौक देख्, मेरा इंतजार तो देख्।’
अर्थात्, म स्वीकार गर्छु कि तिम्रो दर्शनको योग्य छैन, तिमी मेरो चाहना र मेरो प्रतीक्षालाई त हेर।
यो दोहोरी सुनेर सुष्मा स्वराजको अनुहारमा मुस्कान छायो र सदनमा हाँसो गुन्जिन थाल्यो।
त्यसपछि पनि २०१३ मा राष्ट्रपतिको सम्बोधनमा धन्यवाद प्रस्तावमाथिको बहसका क्रममा दुवै नेताले एकअर्कालाई काव्यात्मक प्रहार गरेका थिए। मनमोहन सिंहले मिर्जा गालिबको कविता सुनाएर भाजपालाई निशाना बनाए।
‘हमको उनसे है वफा की उम्मीद, जो नहीं जानते वफा क्या है।’
अर्थात्, वफादारी भनेको के हो नजान्नेहरूबाट हामी वफादारीको अपेक्षा गर्छौँ।
त्यसको जवाफमा विपक्षी नेतृ सुष्मा स्वराजले सायरीको चलन अनुसार त्यसको जवाफ फर्काइहाल्नुपर्छ नत्र त्यो ऋण हुन्छ भन्दै दुइटा सायरी वाचन गरेकी थिइन्।
‘कुछ तो मजबूरियां रही होंगी, यूं ही कोई बेवफा नहीं होता।’
अर्थात्, कुनै बाध्यता त अवश्य नै थियो होला, नत्र यसरी धोकेवाज कोही हुँदैन।
लगत्तै उनले अर्को सायरी भनिन्, ‘तुम्हें वफा याद नहीं, हमें जफा याद नहीं, जिंदगी और मौत के दो ही तो तराने हैं, एक तुम्हें याद नहीं एक हमें याद नहीं।’
अर्थात्, तिमीलाई इमान्दारिता याद छैन, मलाई अत्याचार याद छैन। जीवन र मृत्युका दुई वटा मात्र गीत छन्, एउटा तिमीलाई याद छैन र अर्को मलाई याद छैन।
संसद्मा आफ्नो कुरा राख्न शेर सायरीको अधिक प्रयोग गर्थे मनमोहन। पीवी नरसिम्ह रावको सरकारमा (१९९१–९६) मनमोहन वित्तमन्त्री भएपछि उनले गरेका आर्थिक नीतिगत निर्णयमाथि प्रश्न उठेका थिए। आफूले गरेका यी निर्णयको महत्त्व सबैले बिस्तारै बुझ्दै जाने कुरा बोल्न उनले मजरुह शुल्तानपुरीको सायरी सापटी लिएका थिए।
‘हम अकेले हि चले थे जानि–ए–मंजिल मगर, लोग साथ आते गए और कारवां बनता गया।’
अर्थात्, गन्तव्यमा पुग्न म एक्लै हिँडेको थिएँ, तर मानिसहरू मसँग जोडिन थाले र कारवां (पैदल यात्रीहरूको समूह) बन्न थाल्यो।
नेपालको संसद्मा पनि बेलाबेला नेताहरूले काव्यिक तर्क पेश गर्छन्। २०८० को फागुन २४ गते कांग्रेसका नेता रमेश लेखकले संसद्मा सायरी वाचन गरेका थिए।
उनले त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गर्दै उर्दू शायर मिर्जा गालिबको सायरीको सहारा लिए।
‘उम्र भर गालिब यही भूल करता रहा, धूल चेहेरे पर थी ऐना साफ करता रहा।’
अर्थात्, जीवनभर गालिबले एउटै गल्ती दोहोर्याइरह्यो, धूलो अनुहारमा लागेको थियो, ऐना सफा गरिरह्यो।
प्रचण्डले विभिन्न दलसँग मिलेर गठबन्धन सरकार बदल्दै गएको चरित्रलाई लक्षित गर्दै लेखकले भनेका थिए। “अरूमा मात्रै समस्या देख्ने, अर्कोमा मात्रै धूल देख्ने, अरूकोमा मात्रै दोष देख्ने र आफूमा सबै कुरा ठीक देख्ने समस्याले पनि सही ठाउँमा पुर्याउँदैन।”
संसद्को गरिमा तर्कमा
नेपालमा नेताबीच तार्किक सवालजवाफको खडेरी नै छ। व्यक्तिगत आक्षेप, दोष लगाउने र विपक्षीलाई खुइल्याउन कुतर्क पेश गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ। संसद्मै पनि यस्ता निकृष्ट हर्कत देखिनुले ‘राजनीति’ शब्दकै गरिमासमेत माटोमा मिलाउने गरेको जनमत पार्टीका अध्यक्ष सीके रावत बताउँछन्।
“अधिकांशले बोल्ने विषयमा तथ्यपरक कुरै हुँदैन। कुनै अध्ययन नै नगरी हावादारी गफ गरेर पनि संसद् चलिरहेको छ। कति निकृष्ट शब्दको चयन गरेको सुनिन्छ। यो दुःखद कुरा हो,” उनले भने, “सांसदले बोलेको कुरालाई टिपोट गर्ने, त्यसमाथि बहस गर्ने छलफल गर्ने कामै हुन्न, गम्भीरताका साथ लिइन्न। भारतमै हेर्नुस् न, संसद्मा बोलेको कुराले देशै तरंगित हुन्छ।”
पुराना सांसद हुन् नारायण ढकाल। संसद्मा कविता वाचन गरेरै आफ्ना भावना राख्ने उनी राजनीतिभन्दा बढी साहित्यिक व्यक्तित्व हुन्। संसद्मा उनको भेटघाट बेग्लैबेग्लै दलका बेग्लै नेताहरूसँग भयो, जो एकअर्कालाई खुइल्याउन उनकै शब्दमा भन्नुपर्दा ‘तुच्छ’ शब्द प्रयोग गर्थे। त्यस्तोमा उनले वाचन गर्ने कविताको अर्थ के हुन्थ्यो होला?
आफूले गरेको संसदीय अनुभव (२०५१–५५) का आधारमा टिकेर उनी भन्छन्, “म साहित्यबाट आएको थिएँ र त्यहाँ (संसद्मा) पनि कविता वाचन गर्थेँ, किनकि यसमा तर्क हुन्छ। कसैलाई व्यक्तिगत आक्षेप नलगाई नरमभावमा चोटिलो कुरा भन्न सकिन्छ।”
उनी थप्छन्, “मैले देशविदेशका प्रख्यात साहित्यकारका कवितांश भन्थेँ, साथीहरूले बुझ्थे बुझ्दैनथे थाहा भएन, तर पछि गज्जब कविता भन्नुभयो भनेर हात मिलाउन आउँथे।”