काठमाडौँ– विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चार महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार असारमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेर कात्तिकमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति असारमा १५ अर्ब २७ करोड रहेको थियो। कात्तिकमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकको वित्तीय स्थितिमा उल्लेख छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये केन्द्रीय बैंकमा २० खर्ब ८ अर्ब १५ करोड रहेको छ। बैंक तथा वित्तीय संस्थामा दुई खर्ब ४७ अर्ब २० करोड रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ।
त्यसैगरी समीक्षा अवधिमा रेमिट्यान्स ९.१ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आव्रवाह ३ अर्ब ८७ करोड पुगेको छ।