काठमाडाैँ– तालिबान सरकारका शरणार्थी मामिला मन्त्री खलील उर रहमान हक्कानीको बुधबार काबुलस्थित मन्त्रालयको भवनमा भएको आत्मघाती बम आक्रमणमा मृत्यु भयो।
यस हमलामा अन्य व्यक्तिको पनि ज्यान गएको खबर छ तर हताहतको संख्याबारे स्पष्ट जानकारी छैन। तालिबान सरकारका एक वरिष्ठ अधिकारीले बीबीसी पश्तोसँगको कुराकानीमा यसको पुष्टि गरेका हुन्।
खलील हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिबानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए। उनलाई हक्कानी नेटवर्कको प्रमुख व्यक्तित्वमध्ये एक मानिन्थ्यो। हक्कानी नेटवर्कलाई तालिबानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार मानिन्छ।
सन् १९६६ मा अफगानिस्तानको पक्तिया प्रान्तको गार्द ए रावा जिल्लामा जन्मिएका उनी १९८० को दशकमा सोभियत संघ विरुद्ध मुजाहिद्दीनका शीर्ष कमान्डरहरूमध्ये एक थिए। उनी आफैँले सोभियत संघविरुद्धको युद्धमा भाग लिएका थिए।
पछिल्ला दुई वर्षमा पाकिस्तान र इरानले अफगानिस्तानका शरणार्थीहरूलाई आफ्नो देश फर्काउने अभियान चलाउँदै आएका छन्। त्यसबेलादेखि हक्कानीले आफ्नो देश फर्किनेहरूका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेका थिए।
अमेरिकाले तोकेको थियो पुरस्कार
तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो। त्यसअघि हक्कानी समूह अमेरिकाको लागि टाउको दुखाई थियो।
अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर (६७ करोड रुपैयाँ) पुरस्कार तोकेको थियो। हक्कानी नेटवर्क अमेरिकामा 'विदेशी आतंकवादी संगठन' को सूचीमा छ।
अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटले खलील उर रहमान हक्कानीले सन् २०१० देखि अफगानिस्तानको लोगर प्रान्तमा तालिबानको नेतृत्व गरेको उल्लेख गरेको छ।
सन् २००१ मा एक अन्तर्वार्तामा हक्कानीले अमेरिकाले उनको घरमा बम विष्फोट गरेको र त्यसमा धेरै मानिसहरू मारिएका बताएका थिए। तर उनी भाग्न सफल भएका थिए। उक्त अन्तर्वार्तामा खलिल हक्कानीले अमेरिका र पाकिस्तानको संयुक्त अभियानमा आफूलाई पक्राउ गरेर चरम यातना दिइएको बताएका थिए। पछि उनलाई ३५० पाकिस्तानी सैनिकको बदलामा चार वर्षको जेल सजायपछि रिहा गरिएको थियो।