काठमाडौँ– संघीय राजधानी काठमाडौँ रात झर्दै गएपछि सुनसान हुन थाल्छ। रात्रीकालीन व्यवसाय भएका ठमेललगायत केही ठाउँमा मात्र चहलपहल भेटिन्छ। त्यसबाहेक ठूला अस्पतालबाहिर चिया–नास्ता सेवा दिनेहरू सक्रिय हुन्छन्।
फूलमाया तामाङ हातमा थर्मस बोकेर सिभिल अस्पतालको गेट आसापास सेवाग्राही कुरिरहेकी हुन्छन्। उनी रातको समयमा चिया बेच्छिन्। अस्पतालका कर्मचारी र बिरामी कुरुवा उनका ग्राहक हुन्।
कुनै समय मिनभवनस्थित ‘थ्री ब्रदर्स आयल स्टोर्स’ नजिकै सडकछेउमा उनको टहरो थियो। त्यहाँ पसल चलाउँथिन्। तर फुटपाथ बढाउने क्रममा काठमाडौँ महानगरपालिकाले टहरो भत्काइदियो।
गुजारा चलाउनै पर्ने थियो। उनले ठेला किनिन् र सिभिल अस्पताल गेटअगाडि राख्न थालिन्। उनी राति चिया र खाजा बेच्थिन्। उनको ठेला पनि महानगरले खोसिदियो।
अब उनलाई काठमाडौँमा धानिनै मुस्किल पर्न थाल्यो। महानगर प्रहरीले लेखेटीलखेटी ठेला खोस्न थालेपछि उनले फेरि अर्को ठेला किन्न सकिनन्।
रामेछाप पुर्ख्यौली घर भएकी फूलमाया ६१ वर्षकी भइन्। उनी काठमाडौँ आएको नै साढे तीन दशकभन्दा बढी भइसकेको छ। काठमाडौँ आएदेखि सानोतिनो व्यापार गरिरहेकी छन्।
त्यहीबीचमा उनका श्रीमान्ले दोस्रो बिहे गरे। त्यसपछि दुःखका दिन शुरू भए। “दुःख त सम्झिनै मन छैन, २ रुप्याँ कपदेखि चिया बेचेको हुँ। चार छोरा एक छोरी चिया बेचेरै हुर्काएँ,” उनी भन्छिन्।
तर अहिले जीवन चलाउनै समस्या पर्न थालेको उनी सुनाउँछिन्। केही उपाय नलागेपछि थर्मसमा चिया बोकेर बेच्न थालिन्। राति अस्पतालमा बिरामी कुरुवा र कर्मचारीलाई चिया खुवाएर कमाउने थोरै पैसा उनको जीवन धान्ने उपाय बन्यो।
तर प्रहरीले चिया बेच्न पनि दिँदैन। पहिला महानगर प्रहरीले ठेला खोस्थे, अब नेपाल प्रहरीले चियाको थर्मस खोस्न थालेको छ। दिउँसो त चिया बेच्नै पाउँदिनन्, राति भने लुकीछिपी बेच्ने गरेकी छन्।
त्यसो नगरे बाँच्ने उपाय पनि नभएको उनी बताउँछिन्। “अस्पतालले कम्प्लेन गर्यो रे, हल्ला गरे भनेर धपाउँदै छन्” उनी भन्छिन्, “दिनभरि लुकाउनु पर्छ, राति मात्रै बेच्ने हो। त्यैपनि देखे भने धपाउँछन्।”
सिभिल अस्पतालको गेटअगाडि चिया बेच्ने उनी एक्ली होइनन्। त्यहाँ ६–७ जना महिलाले थर्मसमा चिया बेच्छन्। परिवारको दायित्वले नै राति निन्द्रा मारेर दुःख गर्नु परेको उनी बताउँछिन्।
रातको समयमा उकालोसँग कुरा गर्दागर्दै प्रहरी त्यहीँ नजिक आइपुगे। उनी कुराकानी छाडेर नजिकैको पेट्रोल पम्पपछाडि लुक्न गइन्। उनीसँगै उनका साथीको पनि भागभाग भयो।
फूलमायाजस्तै लीलादेवी (उनकै आग्रहमा नाम परिवर्तन गरिएको) पनि सिभिल अस्पतालअगाडि चिया बेच्छिन्। प्रहरीले किन लखेटेको भन्ने पनि उनलाई जानकारी छैन। “यसरी पसल गरेर नखाऊ, यस्तो काम नगर भन्या होला नि बाबु,” उनले भनिन्, “चिया, चाउचाउ, बिस्कुट बोकेर हिँडेको देख्यो कि प्रहरीले लखेट्छन्, गरिखान दिदैनन् बाबु।”
उनी आठ वर्षदेखि यहाँ चिया र बिस्कुट बेचिरहेकी छन्। “आफ्ना दुःख जसलाई जति सुनाए पनि केही हुने होइन,” उनले निराशा पोखेर कुरा टुंग्याइन्।
सिभिल अस्पतालका प्रवक्ता रञ्जना नेपाल बिरामीका आफन्तहरूको गुनासोका कारण अस्पताल हाता वरपर खुला व्यवसाय गर्न रोकेको बताउँछिन्। ठेला राखेर ‘नाइटलाइफ’ जस्तो गरी मदिरा बिक्री गर्ने, मदिरा खाएर होहल्ला गर्ने गरेपछि रोक लगाएको उनको भनाइ छ।
ओपीडीअगाडिको सार्वजनिक शौचालयमा राति चुरोट, मदिरा र लागुपदार्थ खाने गरिएको उनी बताउँछिन्। “त्यहाँ अनावश्यक बस्तु फेला परेका कारण साँझ ५–६ बजेपछि शौचालय नै बन्द गर्नुपरेको छ,” उनी भन्छिन्।
अस्पतालका एक सुरक्षागार्डका अनुसार सडकमा मदिरा सेवन गर्ने र दिसापिसाबका लागि अस्पताल छिर्ने क्रम बढेपछि चिया बेच्न बन्द गर्न भनिएको हो। त्यस्ता व्यक्तिले अस्पतालभित्र झगडा गर्ने, सामान चोरी गर्ने जस्ता घटना बढेपछि प्रहरीसँग समन्वय गरेर बन्द गरिएको उनी बताउँछन्।
एक पटक मदिरा सेवन गरेर आएका व्यक्तिले अस्पतालका सुरक्षा गार्डलाई दुर्व्यवहार गरेपछि असहज परिस्थिति बनेको र उनलाई प्रहरीकै जिम्मा लगाउनु परेको पनि ती सुरक्षागार्डले बताए।
बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरिक्षक वीरेन्द्र गोदार दुई महिनायता अस्पताल प्रशासनबाट सुरक्षाको माग गरेर कुनै सूचना नआएको बताउँछन्। सडक छेउछाउका ठेलाग्ले गाडी आवतजावतमा समस्या भएपछि प्रहरीले हटाएको तर चिया बेच्नेलाई केही नगरेको उनको भनाइ छ।
“सडकमै ठेलागाडा राखेर व्यापार गर्दा सवारी आवतजावतमा समस्या भयो, त्यसपछि हामीले त्यस वरपर ठेलागाडा हटाएको हो। चिया बेच्ने अरूलाई केही कारबाही गरिएको छैन,” गोदार भन्छन्।