Thursday, January 16, 2025

-->

पानी अभावले रित्तिँदै गाउँ, बस्नेलाई उस्तै सास्ती

भूकम्पपछि खानेपानी अभावले जाजरकोटका बस्ती रित्तिँदै छन्। मध्यम आर्थिक अवस्था भएका बसाइँ सरिसकेका छन्। निम्न आर्थिक अवस्था भएका कि सास्तीमा छन्, कि परिवारै लिएर कालापहाड जान बाध्य छन्।

पानी अभावले रित्तिँदै गाउँ बस्नेलाई उस्तै सास्ती

काठमाडौँ– जाजरकोटको नलगाडस्थित फुल्चाउलीकी कमला रावललाई झिसमिसेमै खानेपानीको मुहान भएको मूलपानी पुगिसक्नु पर्छ। त्यहाँ पुगेर आउन दुई घण्टा लाग्छ।

गएको कात्तिक २४ गते फुल्चाउली पुग्दा कमला मूलपानीबाट फर्किंदै थिइन्। पिठ्युँमा पानीको गाग्रो थियो। “झिसमिसेमा नजाने हो भने दिउँसो पानी पाइँदैन। ढिला उठे रित्तो भाँडो समातेर घर फर्किनुपर्छ,” उनको गुनासो थियो।

कमला १२ वर्षअघि तिलबहादुरसँग बिहे गरेर सदरमुकाम खलंगादेखि पूर्वमा पर्ने फुल्चाउली आएकी हुन्। बिहे गरेदेखि आफूले पानी बोक्न थालेको उनी बताउँछिन्।

पानी लिन ग्रागी बोकेर मूलपानी, चौर र तल्लोभातचिउर पुग्नु उनको दैनिकी हो। यति नगरे तिर्खा मेटिँदैन। कहिलेकाहीँ श्रीमान् तिलबहादुरले सघाउँछन्।

फुल्चाउलीमा थातथलो भएका अधिकांश छिमेकीले गाउँ छाडिसकेका छन्, उनका साथीसंगी घट्दै छन्। “पहिला छिमेकी बाक्ला हुन्थे। पानी बोक्ने दिदीबहिनी पनि धेरै थिए,” उनले सुनाइन्, “खानेपानी भएको भए बाउबाजेको थातथलो बाँझो राखेर गाउँ किन छाड्नुपर्थ्यो र?”

छिमेकी जयबहादुर रावल, कालीबहादुर रावल, शेरबहादुर रावल, मकर रावल, वेदबहादुर रावलको परिवारले पानी अभावकै कारण फुल्चाउली छाडे। वकिल वली र धनपति वलीका परिवार पनि बसाइँ हिँडिसकेका छन्।

नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तका अनुसार यहाँका अधिकांशले थातथलो छाडेका छन्। वडा कार्यालयका अनुसार फुल्चाउलीमा ४० घरपरिवारको थातथलो थियो। वडाध्यक्ष बद्री पन्त भन्छन्, “पानीको समस्याका कारण अहिले कोही बस्दैनन्।”

फुल्चाउलीमा अहिले कमला र माया रावलको दुई वटा परिवार मात्र छन्। स्थानीय माया भन्छन्, “बर्खामा केही मान्छे आउँछन्। मूलहरू सुकेपछि फर्किन्छन्।” बाँकी रहेका दुई परिवार पनि अब गाउँमा रहने कि छाडेर जाने दोधारमा छन्।

प्यासकै पीर
मायाका छोरा कपिल रावल भानुभक्त माविमा कक्षा ८ पढ्छन्। विद्यालयमा हुँदा किताब र कापी हुने उनका हातमा अरू बेला गाग्रो र जर्किन हुन्छ।

विद्यालय जानुअघि र फर्केपछि पानी बोक्नु उनको दैनिकी हो। एकाबिहान नजिकैको तालमा पानी भर्न आएका कपिलले भने, “यो पानीले भाँडा माझ्छौँ। भैँसीलाई दिन्छौँ। मूलपानी जान सकिएन भने यही पानी पिउनुपर्ने बाध्यता हुन्छ।”

पानी बोक्न गएपछि स्कुल पुग्न ढिला  हुन्छ। जर्किन समातेर छेउमा उभिएका भाइ अर्जुन र भविष्यलाई देखाउँदै कपिलले पानी बोक्नुको कहर कहे, “यिनीहरू सानासाना भाडामा पानी लिन सक्छन्। बुवाममी बूढो भइसक्नु भयो, मैले पानी नबोकिदिए दिनमा खानेपानीकै समस्या हुन्छ।”

फुल्चाउलीबाट पानी बोक्न कहिले तल्लो भातचिउर पुग्नुपर्छ, कहिले मूलपानीदेखि चौरसम्म। मूलपानी पुग्न सिधा बाटो भएकाले कम समय लाग्छ। “भातचिउर र चौरको बाटो जाँदा ओरालो छ, आउँदा उकालो। दुई/तीन घण्टा लाग्छ,” कपिलले भने।

बर्खाका बेला पानी जम्मा पारिएको पोखरीमा पुगेका थिए कपिल। यो पोखरी स्थानीय बलबहादुर रावल र जनार्दन रावलको जग्गामा छ। पानी अभावले उनीहरूले थातथलो छाडेपछि पोखरी बनेको हो। यो पोखरीबाट फुल्चाउली, भातचिउ र प्यारगारामा रहेका बाँकी घरपरिवारले पानी लैजान्छन्।

स्थानीय बसाइँ हिँडेपछिको फुल्चाउली गाउँ।

करिब एक किलोमिटरको दूरमा तलमाथि र वारिपारि रहेका फुल्चाउली, प्यारगारा र भातचिउरा तीन वटै गाउँमा पानीको चरम अभाव छ। मध्यम आर्थिक अवस्था भएकाले गाउँ छाडे पनि निम्न अवस्थाका स्थानीय समस्यामा छन्। पानीको सास्ती सहेर बस्नु वा देशै छाडेर कालापहाड जानु पर्ने बाध्यता रहेको फुल्चाउलीका तिलबहादुर बताउँछन्।

उनले पनि पटकपटक फुल्चाउली छाड्ने सोच बनाएका थिए। “पुर्खाले छाडिदिएको श्रीसम्पत्ति सित्तैमा छाड्ने कुरा हुँदैन,” उनी भन्छन्, “अरू ठाउँमा जग्गा किन्न पैसा छैन। यो घडेरी बिक्री हुँदैन। आर्थिक अवस्थाले साथ दिए उहिले फुल्चाउली छोडिसक्ने थियौँ।”

गाउँ रित्त्याउने तिर्खा
प्यारगारा गाउँ फुल्चाउलीबाट पश्चिममा पर्छ। पानी अभावले प्यारगारालाई धेरैले माया मारिसकेका छन्। विष्णु नेपालीको परिवार भने अझै यहीँ छ। 

विष्णु १८ वर्षको उमेरमा बिहे गरेर प्यारगारा आइपुगेकी थिइन्। त्यहीँदेखि पानीको समस्या भोगिरहेकी छन्। “बर्खामा पानी पाइन्छ। लक्षिमी (बस्तुभाउ)ले पाउँछन्,” उनी भन्छिन्, “हाम्रा लागि हिउँद होइन, पानी बोक्ने पिर आउने हो। दुईतीन घण्टा लगाएर बोक्नु पर्छ।”

विष्णुलाई यो गाउँ कहिले छाड्ने होला भन्ने लागिरहन्छ। प्यारगाराका धेरै गाउँ छाड्ने दिन कुरिरहेका छन्। यसअघि गाउँ छाड्नेको लर्को लामै छ। विष्णुका छिमेकी खड्गबहादुर, लालसिंह, बलबहादुर, भक्तबहादुर नेपाली र धनबहादुर विकले गाउँ छाडिसके।

प्यारगारा, फुल्चाउली र भातचिउरी गरेर ११५ घरधुरी थिए। अहिले ४६ परिवारको मात्र बसोबास छ।

पहिला प्यारगारमा मात्र २० घरधुरी थिए, अहिले १४ वटा छन्। विष्णुका छिमेकी हातिराम नेपाली परिवारका पाँचै सदस्य लिएर कालापहाड हिँडेको एक वर्ष बितिसक्यो। कहिलेकाहीँ विष्णुको सम्पर्क हुँदा उनीहरूको आउने सुरसार छैन। 

अर्का छिमेकी गोपाल पनि चार जनाको परिवार लिएर  भारत पसे। तर जग्गा बिक्री नहुँदा विष्णुको परिवार बाध्यताले बसेको छ। घरमा केही बस्तुभाउ छन्, तिनलाई हप्ता १० दिनमा मात्र पानी पिउन दिन्छन्। “मान्छेलाई समस्या छ, गाई, बाख्रालाई कहाँबाट पियाउनु?” उनी भन्छिन्।

उनी पानीका लागि चार घण्टा धाएर पञ्चासेसम्म पुग्छिन्। “पञ्चासे जाँदा बस्तुभाउ पनि लैजान्छौँ। त्यहीँबाट आफूलाई पानी बोकेर ल्याउँछौँ। पानी बोक्दाबोक्दै ढाड दुख्ने भइसक्यो, पेट दुख्ने भइसक्यो,” उनी भन्छिन्। 

अहिले वडा कार्यालयले प्यारगारमा एक क्वाइल पाइप दिएपछि पानी पाइने आशा पलाएको छ। अब बर्खामा फुट्ने मूलबाट पानी ल्याउने योजना छ। तर हिउँदमा मूल सुकेपछि उस्तै दुःख हुने स्थानीय बताउँछन्।

वडाध्यक्ष बद्री पन्त मान्छेहरू विस्थापित भएपछि ‘दुई चार हप्ता किन नहोस्, आस जगाउन भए पनि’ पाइप उपलब्ध गराएको बताउँछन्। “आफैँले उधारो गरेर पाइप व्यवस्था गरेको छु। योजनाबद्ध रूपमा काम नगर्ने हो भने सबैको उठिबास हुन्छ,” उनी भन्छन्। 

भातचिउरीका स्थानीय बर्खामा आकाशे पानीको भरमा हुन्छन्। यसलाई उनीहरू ‘बलादी’ भन्छन्। “बर्खा त कटिहाल्छ, बलादी (बलेसी)को पानी हुन्छ। हिउँदै हो मर्नु न बाँच्नु हुने,” स्थानीय उमा रावल भन्छिन्।

पानीको समस्याबारे यहाँका नेतालाई पनि जानकारी गराइएको उनको भनाइ छ। “चुनाव आएको छैन, जनतालाई सम्झिँदैनन्। उइलतइल (अरूबेला) जनतालाई सम्झिने रन्छन्,” उनी भन्छिन्, “नेताहरू पानी आउँछ, आउँछ भन्दै मर्ने दिन आइहाल्ने छन्।” 

प्यारगारा (बायाँ) र फुल्चाउली गाउँ।

कर्णाली प्रदेश सरकार र नलगाड नगरपालिकाको संयुक्त योजनामा प्यारगारा, फुल्चाउली र भातचिउरी गरी तीन बस्तीका लागि फुल्चाउली लिफ्ट खानेपानी आयोजना बनेको थियो। प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९/८० मा ५० लाख बजेट विनियोजन पनि भयो।

तर नगरपालिकाले थप ५० लाख रुपैयाँ हाल्न नसक्दा बजेट नै फिर्ता गएको वडाध्यक्ष पन्त बताउँछन्। पानी लिफ्ट गर्ने भन्दा अरू विकल्प नभएको उनको भनाइ छ। “नगरपालिकाले बजेट नहाल्दा दुईपटक बजेट फिर्ता भएको छ। आर्थिक वर्ष २०८०/८१ मा पनि फिर्ता भयो,” उनी भन्छन्। 

भूकम्पपछि झन् हाहाकार
मूलपानी आसपासका बर्खे मूलहरूमा फुल्चाउली, प्यारगारा र भाउतचिउका स्थानीय मंसिर–पुससम्म आश्रित हुन्थे। २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कतिपय मुहान सुके।

वडा कार्यालयका अनुसार नलगाड–४ मा भूकम्पका कारण १० वटाभन्दा धेरै मूल सुकेका छन्। भूकम्पपछि जाजरकोटका अरू बस्तीमा पनि खानेपानीको समस्या छ। ४७ घरधुरी भएको औलगाउँमा तिपतिपे मुहानबाट पानी आएको थियो। भूकम्पपछि जमिन भासिएर मुहान सुकेपछि पानीको समस्या भएको छ। 

यो बस्ती अहिले खोलाको भरमा छ। यहाँ २०७९ सालतिर मात्र खानेपानी आयोजना बनेको थियो। 

औलगाउँजस्तै समस्या जाजरकोटको सीमा गाउँको पनि हो। २० घरपरिवार बस्ने सीमामा ढोटेना मुहानबाट पानी आउँथ्यो। भूकम्पले मुहान सुकाइदियो। सीमामा आउने पाटा मुहान पनि सुक्यो। स्थानीय विष्णु रावल भन्छन्, “मुहान पूर्णरूपमा सुकेपछि समस्या आइलागेको हो। खोलाकै फोहोर पानी भए पनि पिउनै पर्ने भयो।”

१४ घरधुरी रहेको बाटघर गाउँमा जुम्लीगारे मुहानबाट पानी आउँथ्यो। भूकम्पले मुहान नै तहसनहस पारिदियो। यहाँ अब ठूलोखोला मुहानबाट पानी ल्याउने योजना छ।

मुहान सुकेपछि बाउसेखोला गाउँका ७५ घरपरिवार पनि खानेपनीको समस्यामा छन्। यहाँ ठूलाखोला मुहानबाट स्थानीयले पानीको जोहो गर्थे। त्यसैगरी, लम्ली मुहान सुकेपछि खन्टाकुराका स्थानीय समस्यामा छन्।

नेताले नदेखेको सास्ती
जाजरकोटको झिलिंगा गाउँमा ६ वर्ष अघिसम्म १८ परिवारको बसोबास थियो। अहिले सात घर छन्। “खानेपानी छैन, गाउँ रित्तिने भयो,” तुलसी पुन चिन्ता व्यक्त गर्छिन्।

झिलिंगा गाउँ दुई खोलाको बीचमा छ। बस्तीमाथि ठूलो चट्टान छ। दायाँतर्फ नाखोला भिर र बाँयातर्फ भेरी खोला भिर छन्। यी चट्टान टुक्रिएर ढुंगा खसिरहन्छन्। ढुंगा आइरहेका बेला पानी बोक्न जान सकिँदैन थियो।

पानी ल्याउन सधैँ दुई जना खटिनु पर्थ्यो। एक जनाले ढुंगा हेर्ने र अर्काले पानी भरेर ल्याउनु पर्ने बाध्यता थियो। भूकम्पले मुहान र संरचना भत्काइदिएपछि झिलिंगाबासीलाई थप समस्या आइलाग्यो।

प्यारगाराकी विष्णु, झिलिंगाकी तुलसी र फुल्चाउलीकी कमला।

तुलसीको परिवारले खोलाबाट पानी ल्याउनुपर्ने भयो।  २०८० कात्तिक २२ गते आफू ढुंगा हेर्न बसिन्। छोरा कमल र केशवलाई पानी लिन पठाइन्। त्यही बेला ढुंगा खस्न थाले।

“छोराहरू ढुंगामा परेर मरिसके भन्ने लाग्यो, पारि हेर्न सकिनँ,” उनले भनिन्, “के दशाले छोरा बाँचे, भाडाकुडा ढुंगाले लगे।” 

ढुंगाले लागेर छोराहरू घाइते भए। त्यही दिनदेखि तुलसीलाई गाउँ बस्न मन छैन। “धनपैसो भए गइहाल्ने थियौँ, हाइसञ्चो हुने थियो। कमाउने उपाय छैन। यहाँबाट गएर के खाने, कहाँ बस्ने टुंगो छैन,” उनी भन्छिन्। 

यो समस्याबारे नेताहरूलाई जानकारी गराएको नलगाड–४ का वडा सदस्यसमेत रहेका झिलिंगाबासी टकबहादुर शाही बताउँछन्। उनी भन्छन्, “माननीय, मन्त्री, नेता सबैलाई भनियो। समस्या हल गरिदिन्छु भनेर आश्वासन दिए। बरु गाउँलेहरू गाउँ छाड्न थाले, नेता आएनन्।”

भूकम्पले पानी ट्यांकी र मुहानमा पुगेको क्षति देखाउँदै वडा सदस्य टकबहादुर शाही।

संघीय संसद्‍मा जाजरकोटबाट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत प्रतिनिधित्व गर्छन्। उनी पटकपटक मन्त्री भए। 

प्रदेशसभामा नेपाली कांग्रेसका वेदराज सिंह र राजीवविक्रम शाह छन्। यसअघि माओवादी नेतृत्वको कर्णाली सरकारमा सिंह आर्थिक मामिला तथा योजनामन्त्री थिए। एमालेले नेतृत्व गरेको अहिलेको सरकारमा शाह अर्थमन्त्री छन्। 

‘आश्वासन आउँछ, योजना आउँदैन’ 
पानी अभावले ११ घरपरिवारले झिलिंगा छाडिसकेका छन्। कसैले भूकम्पपछि छाडेका हुन् भने कसैले पानी बोक्नुपर्ने बाध्यताले त्यसअघि नै। बाँकी रहेका सात परिवार वैकल्पिक व्यवस्थाको खोजीमा छन्।

खानेपानीको समस्या सहन नसकेर झिलिंगा छाडेका आकाश परियार भन्छन्, “पानीको निकै दुःख छ। त्यहाँ छाडेर कल्पत आएका छौँ।” पानीकै सास्तीले आकाशका भाइबन्धु जनक, भविलाल, टकवीर परियारले पनि झिलिंगा छाडेसकेका छन्। 

भूकम्पले सुकेका मुहानहरूको विवरण माग गरिए पनि स्थानीय तहले उपलब्ध नगराएको खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख एवं इन्जिनियर मंगल शाही बताउँछन्। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार जाजरकोटमा भूकम्पले भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकामा खानेपानीका संरचनामा बढी क्षति पुगेको छ।

भूकम्पले भेरी नगरपालिकामा ५२ वटा खानेपानी संरचना र मुहानमा क्षति पुर्‍याएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका अनुसार भेरीमा पाँच हजार ४१३ परिवारले उपभोग गर्ने पानीका संरचना र मुहानमा क्षति भएको छ।

नलगाड नगरपालिकाको कार्यालयमा पूर्ण विवरण छैन। तर वडा नम्बर ७ का ६ वटा बस्तीले पिउने खानेपानीका संरचनामा भूकम्पले क्षति पुर्‍याएको छ। यसबाट ४५९ परिवार प्रभावित छन्। त्यस्तै, छेडागाड नगरपालिकाका १४५ र कुशे गाउँपालिकाका एक हजार ४६ परिवार खानेपानीबाट प्रभावित छन्। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका जाजरकोट हेर्ने इन्जिनियर रामसुन्दर चौधरी भूकम्पका कारण धेरै मुहान सुके पनि जिल्लाभरको यकिन तथ्यांक नआएको बताउँछन्। 

प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदराज सिंह खानेपानीमा धेरै काम गरिएको बताउँछन्। “संघीयतापछि हामीले (कांग्रेसले) जाजरकोटमा पहिलोपटक जितेका हौँ। म निर्वाचित भइसकेपछि सरकारमा कुरा उठाएको छु। सरकारमा हुँदा योजनाहरू हाल्ने काम भएका छन्,” उनी भन्छन्। पानी अभावले उठिबास भइरहेको समस्यालाई गम्भीर रूपमा लिएको सिंह बताउँछन्।

जलाधारविज्ञ मधुकर उपाध्या भने पानी अभावले विस्थापित हुने समस्या जाजरकोटको मात्र नभएर पश्चिम नेपालको साझा कथा भएको बताउँछन्। “पश्चिम पहाडमा पानीका स्रोतहरू घटेका थिए, कसैले त्यसमा चासो दिएनन्। न सरकारले दियो न संघसंस्थाले,” उपाध्या भन्छन्, “सन् २००९ देखि पानीका स्रोतहरू निरन्तर सुके। पहाडका बस्तीहरूबाट मान्छेहरू विस्थापित भएका छन्।”

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालमा सन् २००८/०९ मा देशभर औसतभन्दा ५० प्रतिशत कम वर्षा भयो। त्यसपछिको खडेरीले धेरै स्थानीय प्रभावित भए।

रिलिफवेबमा प्रकाशित रिपोर्टअनुसार खडेरीले बाली उत्पादनमा प्रभाव पार्‍यो। ६६ प्रतिशत घरपरिवारलाई खाद्य संकट आयो। यही संकटलाई मध्यनजर गरेर एशियाली विकास बैंक (एडीबी)ले पानी संरक्षणका लागि केही जिल्लामा कार्यक्रम अगाडि बढायो।

पोखरी, कुवा, मुहानलगायत पानीका स्रोत संरक्षण गर्ने एडीबीको अवधारणा थियो। बैतडी, बाजुरा, बझाङ, डोटी, डडेल्धुरा र अछाममा २०७१ देखि २०७७ सालसम्म उक्त कार्यक्रम चल्यो।

एडीबीको कार्यक्रमले रिपोर्ट राम्रो बनाए पनि पानीका स्रोतहरू संरक्षण हुन नसकेको जलाधारविज्ञ उपाध्याको बुझाइ छ। “एडीबीले यहाँ झारा टार्ने काम गर्‍यो। रिपोर्ट बनाउन सक्यो होला, पानीका स्रोतहरू संरक्षण हुन सकेनन्,” उनी भन्छन्। 

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको जलवायु परिवर्तनसम्बन्धी सर्वेक्षणले पनि कर्णालीसहित पश्चिम पहाडमा पानीको संकट बढ्दै गएको देखाउँछ। नेसनल क्लाइमेट चेन्ज सर्भे २०२२ शीर्षक दिएको उक्त प्रतिवेदनअनुसार मुहान, कुवालगायत पानीका स्रोत घट्नुले पहाडमा पानीको संकट आइलागेको छ।

सिजनमा पर्याप्त वर्षा नहुनु, खडेरी हुनु, जथाभावी सडक निर्माण हुनु र वन विनासले पानीका मुहान सुकेको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तन, भूकम्प र भू–क्षयलगायतका कारणले पनि पानीका स्रोतहरू सुकेका छन्। 

जाजरकोटको फुल्चाउलीकी कमला भन्छिन्, “धित मर्नेगरी पानी पिउन थातथलो छाड्नुपर्ने भयो।”


सम्बन्धित सामग्री