Thursday, January 16, 2025

-->

लरेन्स विश्नोईको नाममा दुर्गा प्रसाईंले चलाएका थिए ‘असुली’, व्यवसायी धम्क्याउन भारतमा रहेका फुएलको प्रयोग

दुर्गा प्रसाईंले व्यवसायीहरूलाई धम्क्याउन हरिचन्द्र फुएल नाममा भारतीय आधारकार्ड लिएका नवीन प्रधानलाई प्रयोग गरेको, उनले नेपालका २४० जनालाई विश्नोईको नामबाट फोन गरेको खुलेको छ।

लरेन्स विश्नोईको नाममा दुर्गा प्रसाईंले चलाएका थिए ‘असुली’ व्यवसायी धम्क्याउन भारतमा रहेका फुएलको प्रयोग

काठमाडौँ– कात्तिक अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आएको एउटा सूचना असुलीसँग सम्बन्धित थियो। सूचना नेपालबाटै आएको थियो, तर त्यसको ‘नेक्सस’ भारत र हङकङसम्म जोडिएको थियो। सूचनामा भनिएको थियो– भारतीय गुन्डानाइके लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीसँग रकम मागिएको छ।

व्यवसायीहरूलाई फोन गरेर रकम दिन धम्की दिइएको थियो। प्रहरीले आफ्नै स्रोतबाट यस्तो सूचना पाए पनि औपचारिक उजुरी आएको थिएन। तर सूचनाकै आधारमा अनुसन्धान शुरू भइसकेको थियो। व्यवसायी धम्क्याउन प्रयोग भएका नम्बर दुबई र भारतका भएको पत्ता लाग्यो।

यसैबीच, सीआईबीमा मंसिर ५ गते चार जनाले उजुरी दिए। उजुरी आएपछि अनुसन्धान गर्न सहज र प्रभावकारी भएको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटी बताउँछन्। “उजुरी आएको हप्ता १० दिनअगाडि नै हामीले यो विषयमा अनुसन्धान अघि बढाएका थियौँ,” बोगटी भन्छन्, “उजुरी आएपछि थप कुराहरू खुल्दै गयो।”

उजुरीपछि सीआईबीलाई एउटा नाम प्राप्त भयो, लरेन्स विश्नोई। व्यवसायीहरूसँग विश्नोईकै नाममा रकम मागेर धम्क्याइएको थियो। उजुरीमा पनि उनको नाम उल्लेख थियो।

विश्नोई भारतीय मुलका गुन्डानाइके हुन्, जो अहिले नयाँ दिल्लीको तिहाड जेलमा छन्। उनीमाथि फिरौती असुली र हत्याको आरोप छ। यसअघि उनलाई राजस्थानको सेन्ट्रल जेल भरतपुरमा राखिएको थियो। 

तर जेलभित्रबाटै गिरोह बनाएर फिरौती मागिरहेको खुलेपछि तिहाड जेल सारिएको हो। उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिँदै आएका छन्।

“विश्नोईको नाम आएपछि साँच्चिकै उनी नै हुन् कि नाम मात्रै प्रयोग गरिएको हो भनेर तथ्य जाँच्न थाल्यौँ,” बोगटी भन्छन्, “अनुसन्धान गर्दै जाँदा प्रत्यक्ष रूपमा उनको कुनै संलग्नता देखिएन।”

विश्नोईको आवरणमा प्रसाईं!
सीआईबीले मंसिर १४ गते हरिचन्द्र फुएललाई झापाबाट पक्राउ गरेको जनाएको थियो। प्रहरीको उच्च स्रोतका अनुसार भने उनलाई भारतको आसामबाट ल्याइएको थियो। उनी पक्राउ परेपछि मात्र व्यवसायीलाई धम्क्याउन विश्नोईको नाम मात्र प्रयोग भएको प्रहरीले पत्तो पायो।

त्यति मात्र नभई, फुएल पक्राउपछि उनलाई प्रयोग गर्ने ‘मेन भिलेन’को नाम पनि खुल्यो। फुएलले नै आफू मेडिकल व्यवसायी दुर्गा प्रसाईंका लागि काम गरिरहेको बताएका छन्। विश्नोई समूहको नाम प्रयोग गरेर नेपालका व्यवसायीहरूसँग आर्थिक सहयोग माग्न प्रसाईंले नै लगाएको फुएलले प्रहरीलाई बयान दिएका छन्।

“प्रसाईंसँग फुएलको डाइरेक्ट कनेक्सन देखिन्छ। हामीले उसको डिभाइस (मोबाइल) हेर्दा प्रसाईंका मेसेजहरू अडियो/भिडियोमा प्राप्त गरेका छौँ,” सीआईबी प्रवक्ता बोगटी भन्छन्, “एकपटक प्रसाईंले ५ लाख रूपैयाँ पनि पठाएका रहेछन्, तर उताबाट (फुएलको मोबाइलबाट) आफूले नपाएको बताइएको रहेछ।”

प्रसाईं मंसिर ४ गते नै पक्राउ परेका थिए। कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको अभिव्यक्ति दिएपछि सीआईबीले उनलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो।

साइबर ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो। अनुसन्धानपछि ब्युरोले विश्नोईको नाम जोडिएको विषयमा अनुसन्धान गर्न सोमबार सीआईबीको जिम्मा लगाएको छ।

भारतीय ‘ग्याङ्स्टर’ विश्नोईको नाम लिएर रकम माग्दा व्यवसायीहरू चाँडै तर्सिने र दिने सम्भावना देखेर प्रसाईंले फुएललाई अह्राएको हुनसक्ने बोगटी बताउँछन्। “त्यो नामले डराउँछ भनेर नै यहाँ व्यवसायी र राष्ट्र बैंकका उच्चपदस्थ पदाधिकारीहरूलाई धम्क्याउने, पटकपटक फोन गरेर २४ घण्टाभित्रै मारिदिन्छु भन्ने गरेका थिए,” उनी भन्छन्, “फुएलमाथि त अनुसन्धान चलिरहेकै छ, प्रसाईंमाथि पनि अनुसन्धान गर्दैछौँ।” 

सीआईबी प्रमुख, एआईजी दिपक थापाका अनुसार फुएलले हालसम्म नेपालका २४० जनालाई विश्नोईको नामबाट फोन गरेका छन्। कतिपयले तर्सिएर उनलाई पैसा पनि पठाएको उनको भनाइ छ।

“प्रायः कहलिएका मारवाडी व्यवसायीहरूलाई धम्क्याउँदै फोन गरेको रहेछ। धम्कीमा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानलाई सहयोग गर्न भनिएको छ,” एआईजी थापा भन्छन्, “एउटा मान्छेले हङकङबाट पनि फोन गरेर पैसा माग्ने गरेको सूचना प्राप्त भएको छ। त्यो पनि नेपाली नै हुनुपर्छ भन्ने अनुमान छ, खोज्दै छौँ।”

प्रहरीका अनुसार फुएलको वास्तविक नाम नवीन प्रधान हो। तर भारतको आसामबाट उनले हरिचन्द्र फुएलको नाममा आधार कार्ड प्राप्त गरेका छन्।

फुएल एकपटक चेक बाउन्सको मुद्दामा सुनसरीमा जेल पनि बसिसकेका छन्। उक्त मुद्दामा उनी १ लाख ४० हजार रुपैयाँ धरौटीमा छुटेका थिए। अर्को चेक बाउन्सकै मुद्दा मोरङमा चलेको थियो। त्यसमा भने उनी फरार अभियुक्त रहेको पनि खुलेको छ।

बोगटीका अनुसार सीआईबीले प्रसाईं र फुएललाई आपराधिक लाभ र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ।

को हुन् लरेन्स विश्नोई?
लरेन्स विश्नोई भारत, पञ्जाबको फिरोजपुर गाउँका हुन्। अपराधको दुनियाँमा उनको ‘इन्ट्री’ सन् २०१० मै भएको हो। पञ्जाब विश्वविद्यालयबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका विश्नोई सन् २०१० मा विद्यार्थी संगठनको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार थिए। तर पराजित भए।

भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’का अनुसार चुनाव हारेलगत्तै उनले आफ्ना प्रतिद्वन्द्धी उम्मेदवारमाथि हमला गरेका थिए। उनीविरुद्ध मुद्दा पनि चलेको थियो। तर सन् २०११ मा धरौटीमा रिहा भए।

त्यही वर्ष उनी पुनः विद्यार्थी संगठनको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भए र चुनाव जिते। कलेज पढ्दै विश्नोईविरूद्ध १८ वटा मुद्दा दर्ता भइसकेका थिए।

“२०१३ मा विश्नोई आफै चुनाव नलडेर आफ्नै समूहका एक जनालाई अध्यक्षको उम्मेदवार बनाएका थिए। चुनावी अभियानको दौरान नै विश्नोई र उनको समूहले प्रतिद्वन्द्धी उम्मेदवारको हत्या गरिदिए,” इन्डियन एक्सप्रेसले लेखेको छ, “त्यसपछि उनीहरू फरार भए। तर २०१४ मा विश्नोई गिरफ्तारीमा परे र २०१५ मा उनलाई अदालतले जेल पठाइदियो।”

भारतीय युट्युबर ध्रुव राठीका अनुसार विश्नोईविरुद्ध हालसम्म फिरौती र हत्याका ८४ वटा मुद्दा दर्ता भएका छन्। उनी जेलभित्र रहे पनि उनको समूहका गोल्डी बरार र सन्दीप भनिने काला जठेडी ‘विश्नोई ग्याङ’को नाममा असुली र अपराध गरिरहेका थिए।

पछि सन्दीपसँग विश्नोईको सम्बन्ध बिग्रिएपछि उनीहरू छुट्टिए। भारतीय प्रहरीका अनुसार जबसम्म उनीहरू साथ थिए, दिल्ली, हरियाणा, पञ्जाब र राजास्थानमा विश्नोई समूहले ३० वटा हत्याका घटना गराएको थियो।

विश्नोइ समूहमा बरार र जठेडीबाहेक सुब्बे गुज्जर र आन्नदपाल सिंह पनि सक्रिय थिए। तर प्रहरी ‘इन्काउन्टर’मा दुवैको मृत्यु भइसकेको छ। अहिले विश्नोई समूहका कतिपय जेलमा छन् भने केहीलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको छ। समूहका कतिपय सदस्य अझै सक्रिय छन्।

प्रहरी वा जो कसैले जेलमा भएका विश्नोईको हत्या गरे एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ दिने घोषणा तीन महिनाअघि भएको छ। यस्तो घोषणा क्षत्रिय कर्नी सेनाले गरेको हो। ‘इन्डिया टुडे’का अनुसार क्षत्रिय कर्नी सेनाका अध्यक्ष सुकदेव सिंहको राजस्थानस्थित घरमै हत्या भएको थियो, जसको जिम्मा विश्नोई समूहले लिएको थियो।

यसबाहेक पनि विश्नोई समूहमाथि महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्धिकि, पञ्जाबी गायक सिधु मुसेवालाजस्ता ‘हाई प्रोफाइल’को हत्या गरेको आरोप छ। 

भारतीय टीभी च्यानल आजतकका अनुसार विश्नोई जेलभित्र रहे पनि भारतका कैयन राज्यमा उनको समूहका ६०० भन्दा धेरै सदस्य छन्। “उनले कतै केही गर्न परे ह्वाट्स एपको एक मेसेजले सबै काम हुने गरेको छ,” २०२३ जुन २१ मा आजतकमा प्रसारित रिपोर्टमा उल्लेख छ, “उनको उमेर ३० भए पनि अपराधको ग्राफमा ६० पार गरिसकेका छन्।”


सम्बन्धित सामग्री