Thursday, January 16, 2025

-->

पूर्वराष्ट्रपति भण्डारीको आक्रोश: बालमन्दिरको जग्गा कर्पोरेट हाउसलाई किन?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहाराविहीन बालबालिकाको संरक्षणका लागि राज्यले नेपाल बाल संगठनलाई प्रदान गरेको जग्गा ‘कर्पोरेट हाउस’लाई वर्षौंका लागि लिजमा दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीको आक्रोश बालमन्दिरको जग्गा कर्पोरेट हाउसलाई किन

काठमाडौँ– “संगठन (बाल संगठन)को यतिका धेरै जग्गाजमिन छ तर कर्पोरेट हाउसले लिइरहेको छ। अभिभावकविहीन बालबालिकाका लागि राज्यले छुट्याएको जग्गाजमिन या सम्पत्ति कर्पोरेट हाउसलाई दिने हो?” यो आक्रोशयुक्त अभिव्यक्ति हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको।

नेपालकै ठूला व्यापारिक समूहमध्येको विशाल ‘ग्रुप’ संलग्न निजी विद्यालय बृहस्पति विद्या सदनलगायत विभिन्न निकायले चारैतिरको जग्गा विभिन्न बहानामा कब्जा गरेपछि नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर साँघुरिएको छ। संगठनले त्यही साँघुरिँदै गएको स्थानमा विगतमा आश्रय दिएर हाल विभिन्न पेसा क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरूको पुनर्मिलनका लागि शनिबार कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा संगठनका विभिन्न बालमन्दिरमा आश्रित बालबालिकाको पनि बाक्लो उपस्थिति थियो।

कार्यक्रमकी प्रमुख अतिथि थिइन्, पूर्वराष्ट्रपति भण्डारी। भण्डारी संगठन र कार्यक्रममा उपस्थितलाई शुभकामना दिएर मात्रै दिए बिदा हुने धेरैको आकलन थियो। आयोजकको समेत सोही किसिमको अनुमान थियो। तर पूर्वराष्ट्रपति भण्डारी सहभागी र आयोजकको आकलनभन्दा फरक रूपमा प्रस्तुत भइन्।

उनले बेसहारा बालबालिकाका लागि जोडिएको संगठनको सम्पत्ति हिनामिना भएकोप्रति आक्रोशसमेत पोखिन्। त्यति मात्रै होइन, अतिथिका रूपमा आसीन नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छालीको नामै लिएर संगठनको जग्गा किन लिएको भनेर हप्काउनसमेत भ्याइन्।

शुरूआतमा संगठनको महत्त्वमा समय खर्चिएकी भण्डारीले लगत्तै संगठनको सम्पत्ति क–कसले कसरी हिनामिना गरे भन्ने तथ्य खुलाउँदै आक्रोशित भएकी हुन्। आफ्नो स्थापनाकालको शुरूआतमै संगठनले मुलुकका सबैजसो जिल्लामा आफ्ना शाखा खोली जोखिममा रहेका बालबालिकालाई सेवा दिएको उनले स्मरणसमेत गरेकी थिइन्।

उनले स्थापनाकालमा चलअचलन सम्पत्ति र अभिभावकत्व पाए पनि पछिल्ला दिनमा राज्यका आँखा संगठनमा नपरेको बताइन्। संगठन खण्डहर अवस्थामा पुगेको र आश्रित बालबालिकाको अवस्था नाजुक भएको थाहा पाएपछि संगठनको पुनर्गठन गरिएको भण्डारीको भनाइ थियो।

अघिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारले ३० वर्षदेखि संगठनको नेतृत्वमा रहेकी गणेशमानकी छोरी र हाल शहकारी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहलाई हटाएर संगठनकी अध्यक्षमा विद्या न्यौपानेलाई नियुक्त गरेको थियो। न्यौपानेले पुरानो कमिटी भंग गरी नयाँ कमिटीको निर्वाचन गरेकी थिइन्। त्यो बेला भण्डारी राष्ट्रपति थिइन्। उनकै पहलमा सरकारले न्यौपानेलाई संगठनको अध्यक्ष नियुक्त गरेको थियो।

“संगठनको खण्डहर अवस्था, बालबालिकाको गति ओझेलमा परेको महसुस गरेर नै संगठन पुनर्गठन गरेको हो। संगठनका बालबालिका दरबार स्कुल पठाउने, संगठनलाई राष्ट्रिय बजेट र प्रधानमन्त्री तथा राष्ट्रपति कोषमा समावेश गराउने कुराको म पनि साक्षी छु,” उनले भनिन्, “कति गर्न सकेँ त्यो अहिले भन्न सक्दिनँ।”

अहिले संगठनमा भइरहेको पुनर्मिलनदेखि पुनर्जागरणसम्मले संगठनको भविष्य राम्रो हुने संकेत गरेको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले देशका जुनसुकै कुनामा जन्मिएका या जस्तोसुकै परिस्थितिमा हुर्किएका भए पनि बालबालिकालाई गुणस्तरीय शिक्षा, सुरक्षा र माया दिनबाट राज्य चुक्न नहुने बताइन्। बाल अधिकार प्रदान गर्न बाल संगठन राज्यका लागि आधिकारिक संस्था भएको, यही आधिकारिक संस्थाकै भवन समयमै नबनाइदिनेदेखि सम्पत्तिसमेत हिनामिना पार्ने कोशिश भएको उनले बताइन्।

अभिभावकविहीन बालबालिकाका लागि राज्यले छुट्याएको जग्गाजमिन, सम्पत्ति कर्पोरेट हाउसलाई किन दिएको भन्दै प्रश्न गरेकी भण्डारीले संगठनमा भइरहेको चलखेलविरुद्ध आवाज नउठाएकोप्रति नागरिक समाजप्रति पनि असन्तुष्टि व्यक्ति गरिन्। “यसमा हाम्रो नागरिक समाजले के बुझेको छ? के आवाज उठाएको छ?” भण्डारीले भनिन्।

भण्डारीले तत्कालीन सरकारले अधिग्रहण गरेर संगठनका लागि छुट्याएको जग्गा चार टुक्रा पारेको भन्दै आक्रोश व्यक्त गरिन्।उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई संगठनकै जग्गा किन लिनुपर्ने भन्दै प्रश्न गरिन्।

“संगठनलाई दिएको जग्गा पनि चार टुक्रा। नारदमणि हार्तम्छाली हुनुहुन्छ, तपाईंले अन्त जग्गा पाउनुहुन्न? संगठनकै जग्गा लिनुपर्ने? कला, साहित्य, प्रतिष्ठानले छुट्टै ग्राम बनाउनुपर्ने हुन्छ,” उनले भनिन्, “प्रतिष्ठान एउटा थियो, तीन टुक्रा भएको छ अनि कहीँ जग्गा नपाएर संगठनको जग्गामा ल्याएर राखेको छ। यो मलाई मन परेको छैन।” 

संगठनको सम्पत्ति हिनामिनाबारे आफूले धेरै पटक संगठनकी अध्यक्षसँग छलफल गरेको समेत उनले सुनाइन्। अध्यक्ष न्यौपाने मात्रै लडेर संगठनको सम्पत्ति जोगाउन नसकिने उल्लेख गर्दै उनले भनिन्, “अनाथ बालबालिकाको संरक्षणका लागि बाल संगठनको नाममा समर्पित जग्गाजमिनको विषयमा अदालतले अब न्यायको नाममा कस्तो न्याय गर्ने होला?”

यसअघिको नेतृत्वले संगठनको २८ रोपनीभन्दा धेरै जग्गा विशाल ग्रुप संलग्न वृहस्पतिलाई आगामी २१३२ सालसम्मका लागि लिजमा दिने सम्झौता गरेको थियो। गत वैशाखमा संगठनले सम्झौता भंग गरिदिएको थियो।

त्यसपछि वृहस्पतिले विवाद मिलाउनुपर्ने भन्दै मध्यस्थकर्ता नियुक्तिको मागसहित गत असार २ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। संगठनले मध्यस्थकर्ता नियुक्त गर्न नचाहे पनि अदालतले मध्यस्थकर्ता नियुक्त गर्न आदेश दिएको थियो। संगठनले मध्यस्थकर्ता नियुक्त गरिसकेपछि यससम्बन्धीको मुद्दाको पेशी पटक–पटक सरेको सर्‍यै छ। संगठनको चलअचल सम्पत्ति हिनामिनालगायतका विषयमा उकालोले विगत दुई वर्षदेखि फलोअप गर्दै आएको छ।

कार्यक्रमको शुरूआतमै संगठनकी अध्यक्ष न्यौपानेले विगतमा संगठनभित्र भएका बेथितिबारे बोलेकी थिइन्। उनले संगठनमा आएका बालबालिकाका जीवितै रहेका बुवाआमाक मृत्युदर्ता प्रमाणपत्र बनाइ बालबालिकालाई धर्मपुत्रपुत्रीका रूपमा विदेशमा पठाएकोदेखि हिनामिना भएको सम्पत्ति खोज्न राज्यले सहयोग नगरेको गुनासो गरेकी थिइन्।

बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले राज्य र मनकारी दाताबाट बालमन्दिरको नाममा अर्पण गरेको भौतिक सम्पत्ति हिनामिना भएको सुन्दा दुःख लागेको बताए। 

संगठनका कोषाध्यक्ष देउमान विष्टले संगठनको सम्पत्ति हिनामिनाको खेल भइरहेको थाहा पाएपछि आफूहरूले दैलो अगाडिबाटै त्यसलाई रोक्ने कोशिश गरेको सुनाए। “हामीले वृहस्पति विद्या सदनसँग भएको गैरकानूनी जग्गा लिज सम्झौता भंग गरेर संगठनको सम्पत्ति कब्जा गर्ने खेल भत्काउने कोशिश गरेका छौँ,” विष्टले भने, “तर यो विषय अहिले अदालत पुगेको छ। अदालतले हामीलाई न्याय दिए त ठीकै होला। नदिए के होला?”

कार्यक्रममा संगठनबाटै शिक्षादीक्षा प्राप्त गरी विभिन्न क्षेत्रमा स्थापित व्यक्तिले संगठन आफ्ना लागि घर मात्रै नभई हौसला केन्द्र भएको र यसलाई जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

बालमन्दिर प्रकरण : सम्बन्धित समाचार

बालमन्दिर प्रकरणः विशाल ग्रुपलाई बलियो बनाउने ‘अनुसन्धान’, थप निरीह बन्दै बाल संगठन
पैसाका लागि बालमन्दिरबाटै बेपत्ता पारिन्थ्यो अनाथ र सहाराविहीन बालबालिका
बालमन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन्
बालमन्दिर प्रकरण: रीता सिंहदेखि सिद्धार्थ केडियासम्मलाई पक्राउ पुर्जी, कसको के भूमिका?
बालमन्दिर जग्गा हिनामिना प्रकरणः बाल संगठनका पूर्वपदाधिकारीसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी
‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा..

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता
बालमन्दिर प्रकरणमा अख्तियारको प्रवेश, सीआईबी पनि छुट्टै अनुसन्धानमा
२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका
बालमन्दिरको जग्गामा व्यापारीको कब्जा: गैरकानूनी सम्झौता रद्द गर्न सरकारकै असहयोग
बाल संगठनको घरजग्गामा आँखा : नमूना नगर भक्तपुरमा बालगृहलाई नै ‘बारबन्देज’
बालमन्दिरको जग्गामा १० तले कम्प्लेक्स बनाउने विशाल ग्रुपको योजनामा ‘अंकुश’
बाल संगठनबाटै बालक 'बेपत्ता' प्रकरण अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन, मानव बेचबिखन ब्यूरोले थाल्यो अनुसन्धान
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाल संगठनले ५ वर्षको हुँदा बेपत्ता पारेका टुहुरा बालकलाई १७ वर्षदेखि खोजिरहेका मामा
बालमन्दिरको २९ रोपनी जग्गा हडप्ने योजनामा अंकुश, रीता सिंह र मनोज मिश्रबीचको सम्झौता खारेज
बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
बाल संगठनको जग्गा हडप्न गरिएको सम्झौतालाई सरकारकै टेको!
बाल संगठनका पदाधिकारीहरूले गुहारे सरकार– बृहस्पतिलाई जग्गा दिने सम्झौता खारेज गरिदेऊ
बाल संगठनका पदाधिकारी–कर्मचारीबाट बर्बाद अनाथ बालकको जीवन–कथा
लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन
बालमन्दिर प्रकरण : पर्साको जग्गामा पनि व्यापारीको कब्जा, बाबुले निर्णय गरेर छोरालाई दिए
‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ


सम्बन्धित सामग्री