काठमाडौँ– जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विज्ञान विषय लिएर स्नातक तह पहिलो वर्षमा अध्ययनरत अजित यादव आफ्नै बलबुतामा परीक्षाको तयारीमा छन्। पाठ्यपुस्तक नभई ‘गाइड’ र ‘सोलुसन सेट’ उनको सहारा बनेका छन्।
महोत्तरीको सनोखराबाट बिहानै क्याम्पस आउने उनी अधिकांश शिक्षक नै अनुपश्थित हुँदा दु:खी छन्। “यहाँ शिक्षक मात्र होइन भर्ना भएका विद्यार्थी पनि पढ्न आउँदैनन्। तर पढ्न आउनेहरूलाई त पढाउन आउनु पर्यो नि,” उनी भन्छन्, “यही २८ गतेदेखि हाम्रो परीक्षा छ। तर कक्षामा केही पढाइएको छैन।”
करिब डेढ महिनाअगाडि राराब क्याम्पस पुग्दा अजित विज्ञान भवनअगाडि ‘माइक्रो बायोलोजी’ पढाउने शिक्षक नासिर मुलालाई कुरिरहेका थिए। १०:४५ देखि शुरू हुने कक्षामा ११ बजेसम्म पनि नासिर आएका थिएनन्। कक्षा कोठा पनि खाली थियो।
“पहिलो घन्टी नै केमेस्ट्रीको हो। तर दुई महिनायता पढाइ नै भएको छैन। हामीलाई पढाउने म्याम अनिता कुमारी दुई महिनादेखि आउनु भएको छैन," अजित भन्छन्, "हुन त कुनै विषयको पनि सिलेबसअनुसार पढाइ सकेको छैन।”
सन्तोष यादव बीबीएस पहिलो वर्षमा अध्ययनरत छन्। उनी पनि राराबको पढाइदेखि आजित छन्। कति दिन त उनी नपढी घर गएका छन्।
“विद्यार्थी र शिक्षकभन्दा पनि प्रशासन दोषी छ। शिक्षकलाई खुला छाडिदिएको छ। शिक्षक नै कक्षामा भएन भने विद्यार्थीको त कुरै भएन,” सन्तोष भन्छन्, “कुनै शिक्षक पढाउन आए पनि विद्यार्थी नै हुँदैन। ती शिक्षक पनि एक त १० देखि १५ मिनेट ढिलै प्रवेश गर्छन्। चाँडै निस्किहाल्छन्।”
पूर्वविद्यार्थी मुकेश मिश्रका अनुसार शिक्षकहरू नआए पनि रजिष्टरमा उनीहरूको हाजिर हुन्छ। चार वर्षअगाडि क्याम्पस नै नआउने अंग्रेजी शिक्षक इन्द्रदेव यादवको हाजिर देखेपछि विद्यार्थी संगठनहरूले आन्दोलन नै गरेका थिए।
राराबमा नामको लागि मात्र विद्यार्थी भर्ना हुने बीबीएस तेस्रो वर्षमा अध्ययनरत राजन महतो बताउँछन्। “खासमा यहाँ पढ्छु भनेर कोही भर्ना हुँदैनन्। पढ्नेहरू थोरै छन्,” राजन भन्छन्, “यहाँ भर्ना हुने विद्यार्थीहरू दुई प्रकारका छन्- एउटा आसपासका गाउँतिरका आर्थिक रूपमा विपन्न, अर्को नपढी पास भइन्छ भनेर सोच्नेहरू।”
परीक्षामा सहभागी भए ‘पास’
राराबमा अहिले करिब १८ हजार विद्यार्थी छन्। तर क्याम्पसमा ८०० विद्यार्थी पनि आउँदैनन्। कक्षा चलिरहेकै बेला पनि क्याम्पस परिसरमा भएका कतिपय विद्यार्थी कक्षाकोठामा जाँदैनन्।
बीएस्सी तेस्रो वर्षमा अध्ययनरत मनोज गुप्ताका अनुसार कक्षाकोठा बाहिर भेटिने विद्यार्थीहरू विद्यार्थी संगठनका कार्यकर्ता हुन्। उनीहरूसँग शिक्षकहरूले नै अन्य विद्यार्थीभन्दा फरक व्यवहार गर्छन्। हाजिरी पनि मिलाइदिन्छन् र प्रयोगात्मक परीक्षाको अंक यतिकै राखिदिन्छन्।
“उनीहरू एकैपटक परीक्षामा आउँछन्। गार्डदेखि क्याम्पस प्रशासनसम्म सबै ती विद्यार्थीहरूको पक्षमा हुन्छन्,” मनोज भन्छन्, “कक्षामा एक दिन पनि हाजिर नहुने विद्यार्थी कसरी पास भइहाल्छन्, भगवान नै जानून्।”
एमबीएसमा अध्ययनरत गोपाल झाका अनुसार राराबमा नियमित कक्षामा उपस्थित हुन नपरोस् भनेर नै विद्यार्थीहरू भर्ना हुन्छन्। विद्यार्थी संगठनहरूको कार्यक्रममा आइदिने विद्यार्थीलाई खासै दु:ख गर्नुपर्ने बाध्यता नरहेको उनी बताउँछन्। उनी भन्छन्, “संगठनले आफ्ना विद्यार्थीहरूको राम्रो ख्याल गर्छ। उसलाई चाहिने जति किताब, गाइड र मोबाइल परीक्षा हलमै पुगिजान्छ।”
राराबका विद्यार्थीका लागि परीक्षा केन्द्र सधैँ यही क्याम्पस हो। बीबीएसका शिक्षक सन्तोष सिंहका अनुसार राराब स्थापना भएदेखि नै यहाँका विद्यार्थीको परीक्षा केन्द्र अन्य क्याम्पसमा तोकिएको छैन।
त्यसैले पनि विद्यार्थीहरूलाई चोरेर पास हुन सजिलो हुने अंग्रेजीमा स्नातकोत्तर गरिरहेका राजेश साह बताउँछन्।
डेढ महिनाअगाडि परीक्षा हलबाहिर होहल्ला हुँदै थियो। ती होहल्ला गर्ने विद्यार्थीहरू आफूहरूको उत्तरपुस्तिका ५ मिनेटअघि नै खोसेको भन्दै थिए। एक जना शिक्षक उनीहरूतिर आएर भने, “त्यति चोरेर पनि मन भरेन?”
नेवि संघबाट निर्वाचित स्ववियु सभापति मनीष यादव भने राराबको परीक्षामा चोरी भइरहेको सूचना सत्य नभएको बताउँछन्। आफूहरूले जितेपछि राराबमा निकै नै परिवर्तन भएको र परीक्षा पनि मर्यादित हुने उनको दाबी छ।
“त्रिविका क्याम्पसलाई परीक्षा केन्द्र सम्बन्धित क्याम्पसमा नै राख्ने अधिकार छ। देशैभरि यस्तो हुन्छ,” उनी भन्छन्, “पटकपटक परीक्षा केन्द्र सार्ने कुरा नउठेको होइन, तर यहाँ मात्रै त्यस्तो हुन लाग्दा हामीले आन्दोलन गरेर त्यस्तो हुन दिएका छैनौँ।”
विपक्षी विद्यार्थी संगठन भने नेवि संघकै कारण पढाइ र परीक्षा प्रणाली बिग्रिएको आरोप लगाउँछन्। अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष वृकेश अधिकारी विद्यार्थीहरूलाई चोरी गराएर उत्तीर्ण गराउने ठेक्का नेवि संघले नै लिएको दाबी गर्छन्। “राराबको परीक्षा केन्द्र अन्यत्र नतोकिनुमा नेवि संघ नै जिम्मेवार छ। उनीहरू अन्यत्र परीक्षा केन्द्र सार्न दिँदैनन्,” उनी भन्छन्।
स्ववियु सभापतिमा प्रमुख प्रतिद्वन्द्वी रहेका लोकतान्त्रिक विद्यार्थी संघका प्रशान्त झा पनि राराबमा वर्चश्व रहेको नेविसंघकै कारण विकृति मौलाएको बताउँछन्। कतिपयको परीक्षा नेविसंघका कार्यकर्ताहरूले नै लेखिदिने गरेको उनको आरोप छ।
यता, राराब क्याम्पस प्रमुख प्रदीपप्रसाद साह पनि विद्यार्थी चोरेर पास हुने गरेको आरोप सत्य नभएको बताउँछन्। राराबमा जति शान्तिपूर्ण परीक्षा अन्य कमै क्याम्पसमा हुने उनको दाबी छ। तर विद्यार्थीले मोबाइलबाट चोरी गरिरहेको प्रमाण भिडियो भएको बताउँदा उनले झोक्किँदै भने, “चोरी यहाँ मात्रै हुन्छ? काठमाडौँमा हुँदैन? अलिअलि त जहाँ पनि भइहाल्छ नि!”
राराबमा प्रमुख साहको कार्यकाल सकिसकेको छ। उनी अहिले निमित्तको जिम्मेवारीमा छन्।
डिग्री पाउने ‘अड्डा’
राराबका पूर्वविद्यार्थी तथा व्यवसायी अशोक तिवारी पहिला विद्यार्थी पढ्न आउने र अहिले प्रमाणपत्रका लागि आउने बताउँछन्। पहिला ‘डिग्री’ लिन चाहनेहरू भारतको यूपी र बिहार पुग्थे, तर अहिले राराबबाटै पाइने उनको भनाइ छ। अशोक भन्छन्, “यहाँ स्थानीय मात्रै होइन, देशैभरिका कर्मचारीदेखि प्रहरीसम्मका मान्छेहरू डिग्री लिन भर्ना भएका छन्।”
पूर्वविद्यार्थी सुरेश यादव आफूले पनि राराबबाट एमबीएसको डिग्री लिन खासै मिहिनेत गर्नु नपरेको बताउँछन्। “यहाँ सजिलो छ भनेर नै विद्यार्थीहरू भर्ना हुन्छन्। कति त पढ्नकै लागि पनि भर्ना हुन्छन्,” उनी भन्छन्, “सबैको चाहना डिग्री नै त हो, यसमा लुकाउनु पर्ने कुरै छैन।”
राराबमा स्नातकोत्तर गरिरहेका एक विद्यार्थीले तीन वटा डिग्री बनाउन मैथली पढिरहेको बताए। “मैले वाणिज्य र शिक्षामा एमए गरिसकेको छु। मैथिलीको पनि डिग्री भए तीन विषमा एमए गरेको हो भन्न पाउँछु नि," ती विद्यार्थीले भने, "भर्ना भएदेखि खाली परीक्षा दिइरहेको छु। अलिअलि सहयोग भित्रकै चिनेका कर्मचारीहरूले गरिदिन्छन्।”
सहायक क्यम्पस प्रमुख सुरेन्द्र राय भने राराब डिग्री बाँड्ने अड्डा नभएको बताउँछन्। यस्तो आरोप लगाएर क्याम्पसको बदनाम गर्न खोजिएको उनको भनाइ छ। “यहाँ चोरी नहुने होइन, जति कडाइ गरे पनि अलिअलि भइहाल्छ। तर डिग्री बाँड्ने अड्डा यो होइन,” उनी भन्छन्, “यो क्याम्पसको मात्रै कमजोरी होइन, विश्वविद्यालयले पनि ध्यान देओस्।”
राराबमा स्नातक तहमा विज्ञान, वाणिज्य, मानविकी, शिक्षा, कम्युटर, माइक्रो बायोलोजी, वातावरण विज्ञानलगायतका विषय पढाइ हुन्छ। त्यस्तै, स्नातकोत्तरतर्फ गणित, ईपीएम, अंग्रेजी, राजनीतिशास्त्र, अर्थशास्त्र, जनसंख्या, सामाजिक विज्ञान, नेपाली, मैथिलीलगायत विषय छन्।
कहिलिएको त्यो राराब
राराबको स्थापना २०१४ सालमा भएको हो। २००४ सालमा सरस्वती माविको स्थापना भएपछि जनकपुरमा कक्षा १० पछिको पढाइका लागि रामस्वरूप साह र रामसागर साहको संयुक्त प्रयासमा क्याम्पस स्थापना भएको थियो। शुरूमा क्याम्पसको पढाइ सरस्वती माविमै चलेको थियो। जग्गा र भवन प्राप्त भएपछि सरस्वती माविबाट सरेको थियो।
त्योबेला नेपालमा विश्वविद्यालय थिएन। राराबले पटना विश्वविद्यालयबाट स्वीकृति पाएको थियो।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीद्वारा लिखित राराबको दस्तावेजअनुसार पहिलो वर्ष यहाँ ५५ जना छात्र थिए। २०२२ सालमा मानविकी र वाणिज्यमा प्रविणता प्रमाणपत्र तहको पढाइ सञ्चालनमा आयो। २०२६ सालमा परीक्षा केन्द्र आयो र २०२८ सालमा विज्ञानको पढाइ शुरू भयो।
त्योबेला राराबको पढाइ गुणस्तरीय भएको २०३० सालमा क्याम्पस प्रमुख रहेका किरणनाथ प्याकुरेल बताउँछन्। “देशभरि नै राराबको छुट्टै पहिचान थियो। परीक्षा पनि एकदमै मर्यादित हुन्थ्यो। विद्यार्थी राजनीति हुन्थ्यो तर पढाइमा कुनै दख्खलअन्दाजी स्वीकार्य थिएन,” उनी भन्छन्।
त्योबेला राराब पढेका र पढाएकाहरू मन्त्रीसमेत भएका छन्। पटकपटक मन्त्री भएका महन्थ ठाकुर, आनन्दप्रसाद ढुंगाना, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की यहीँकै विद्यार्थी हुन्। राराबकै मदन पाठक, देवराज दाहाल र धरणिधर रेग्मी त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नातकोत्तर दुवैमा प्रथम भएका थिए। अविनकान्त झा र प्रतिमा श्रीवास्तव पनि स्नातक तहमा प्रथम भएका थिए।
राराबमा करिब ३२ वर्ष व्यतित गरेका प्रा.डा. राजेन्द्र विमल पनि त्योबेलाको पढाइ तारिफयोग्य भएको बताउँछन्। राराबलाई तत्कालीन जनकपुर अञ्चलको ‘अक्सफोर्ड’ मानिन्थ्यो। “त्योबेला विद्यार्थी वीरगन्जदेखि दोलखासम्म र भिठ्ठामोडदेखि काठमाडौँसम्मका हुन्थे,” उनी भन्छन्, “विद्यार्थी राजनीति थियो तर पढाइ बिग्रेको थिएन। कतिले त शिक्षकलाई बाहिर निस्की भनेर धम्क्याउँथे। शिक्षकहरू इमान्दार, धम्कीले डराउँदैनथे।”
डा. विमलका अनुसार निजी क्याम्पसहरू च्याउजस्तो उम्रिन थालेपछि नै राराब धरासायी भएको हो। राजनीति हाबी भएरै पढाइ ध्वस्त भएको उनको बुझाइ छ। “यस्तो बेथितिउपर लगाम लगाउने निकाय पनि भइदिएन,” उनी भन्छन्, “त्यसले पनि समस्या झन् विकराल बन्दै गयो।”
राजनीतिक विश्लेषक रोशन जनकपुरी बहुदल आएपछि नै राराबको यो हबिगत भएको बताउँछन्। पढाइभन्दा राजनीतिको प्रभाव धेरै हुने जुनसुकै संस्थाको अवस्था बर्बाद नै उनको भनाइ छ।
“यहाँ शिक्षक र विद्यार्थी दुवै कुनै न कुनै दलसँग आबद्ध छन्। पढ्नेभन्दा राजनीति गर्ने धेरै छन्,” जनकपुरी भन्छन्, “अर्को कुरा, पढ्नेहरूको लागि विकल्प निजी क्याम्पसहरू आइसके।”