Thursday, January 16, 2025

-->

कम्पनी विशेषका ‘ब्रान्ड नेम’ जो त्यो वस्तुकै नाम बने

उपभोक्ताले जुनसुकै पारासिटामोललाई सिटामोल भनेर चिन्छन्, लुब्रिकेन्टलाई मोबिल भन्छन्। यस्ता अनेक ‘ब्रान्ड’ छन्, जो कालान्तरमा वस्तुको नामसरह भए। कसरी स्थापित हुन्छन् यस्ता नाम?

कम्पनी विशेषका ‘ब्रान्ड नेम’ जो त्यो वस्तुकै नाम बने

काठमाडौँ– सोनी कम्पनीले कुनै समय रिल भएको क्यासेट हालेर बजाउन मिल्ने सानो ‘डिभाइस’ बजारमा ल्यायो, जसलाई नाम दियो– वाकमेन। त्यो निकै लोकप्रिय भयो। पछि अन्य कम्पनीले पनि त्यसरी टेप क्यासेट हाल्ने सानो ‘म्युजिक प्लेयर’ बनाए। जुनसुकै कम्पनीका यस्ता सामग्रीलाई पनि वाकमेन भन्न थालियो।

कुनै कम्पनीले उत्पादन थालेको ‘ब्रान्ड’ पछि त्यस्तै अन्य सामग्री चिनाउने चल्तीका नाम हुन पुगेका धेरै उदाहरण छन्। ब्रान्डले कुनै उत्पादन बजारमा स्थापित र प्रवर्धन गर्न भूमिका खेल्छ। कुनै उत्पादनको ‘ब्रान्ड नेम’ भने वस्तुकै नाममा परिवर्तन भएका छन्।

विश्वव्यापी रूपमा विभिन्न क्षेत्रको तथ्यांक राख्ने स्टाटिस्टाका अनुसार सन् २०२४ सम्म विश्वमा ‘बजार प्रवर्धन तथा विज्ञापन’को बजार १७५६.६ बिलियन अमेरिकी डलर बराबरको भएको छ। यो भनेको ताजा विनिमय दरअनुसार २ हजार ३८३.०६ खर्ब रूपैयाँ बराबर हो। नेपाल सरकारको पछिल्लो वार्षिक बजेटभन्दा ‘बजार प्रवर्धन तथा विज्ञापन’को बजार १२८ गुना ठूलो छ।

यत्रो रकम खर्च भइरहेको प्रवर्धन तथा विज्ञापनको बजारमा ब्रान्डलाई उपभोक्तामाझ स्थापित गराउन प्रतिस्पर्धा भइरहेको हुन्छ। तर कुनै ब्रान्ड यस्ता पनि हुन्छन्, जो नाम नै वस्तुको प्रकारको संज्ञा भइदिने गर्छन्।

जिप
एक अमेरिकी अटोमोबाइल ब्रान्ड हो जिप, जुन बहुराष्ट्रिय कम्पनी स्टेलान्टिसको स्वामित्वमा छ। जिप भनेको एउटा अटोमोबाइल कम्पनीको ब्रान्ड हो। तर यो नाम यतिमा मात्र सीमित छैन। ठूला तथा अग्ला पांग्रा भएको र कच्ची सडक तथा ट्र्याकका लागि यो गाडी डिजाइन गरिएको हो। 

विश्वका देशहरूको नक्सा नै बदलिदिएको र ठूलो भौतिक तथा मानवीय क्षति भएको दोस्रो विश्वयुद्धको एउटा ‘बाइप्रडक्ट’को रूपमा जिप बनेको हो। संयुक्त राज्य अमेरिका लडाइँका लागि युरोप जाने भएपछि अमेरिकी सेनाले बलियो सैन्य कार बनाउन १३५ कम्पनीहरूलाई सम्पर्क गरेको थियो। केवल दुई कम्पनीले प्रतिक्रिया दिएका थिए। तीमध्ये एउटाले काम अगाडि बढायो, जुन पछि जिप भयो। 

६ वर्ष लामो युद्ध सन् १९४५ मा सकिँदासम्म सैन्य प्रयोजनमा उपयोग गरिने चारपांग्रेको जन्म भइसकेको थियो। यो गाडी प्रचलित कारहरूभन्दा भिन्न थियो। सेनाको प्रयोजनका लागि सन् १९४१ देखि उत्पादन शुरू भएको यो गाडी १९४५ देखि अन्य उपभोक्ताका लागि पनि उपलब्ध भयो।

यसरी शुरू भएको ‘फोर ह्वील ड्राइभ’ (चारै चक्काबाट सञ्चालन हुने) गाडीलाई पछि ‘जेनरल पर्पस’ (जीपी) भन्न थालियो। त्यहीबाट यसको नाम जिप रहन गयो। सन् १९५० तिर यसको ब्रान्ड नेम ‘जिप’ भएको कम्पनीको वेबसाइटमा उल्लेख छ। जिप वास्तवमा 'अफरोड एसयूभी' हो।

पछि यस्तो आकार र प्रकार भएका अन्य गाडी पनि आए र सबैलाई जिप भन्न थालियो। नेपाल सरकारको भन्सार विभागको भन्सार महसुल दरबन्दीमा एउटा किसिम छ– जिप, कार, भ्यान। भन्सार अधिकारीहरूका अनुसार जिप भन्नाले यहाँ जिप ब्रान्ड होइन, गाडीको एउटा किसिम हो। 

मोबिल
पुरानो फ्रेन्च भाषाबाट आएको मोबिल शब्दको अर्थ ‘हिँड्नका लागि तत्पर’ वा ‘हिँडिसक्नु’ हो। यसै नामको एउटा ‘लुब्रिकेन्ट’ (गाडीको इन्जिनलाई चिल्लो राख्न हालिने तेलीय पेट्रोलियम पदार्थ) बजारमा आयो। अमेरिकन ओइल एन्ड ग्यास कर्पोरेसनले त्यसलाई उत्पादन गरेको थियो। अहिले त्यही ब्रान्ड नेम मोबिलले ‘लुब्रिकेन्ट’ शब्दलाई नै विस्थापित गरिदिएको छ।

अटोमोबाइल, कारखानाका मेसिन, हवाई इन्जिन र जहाजका इन्जिनका लागि मोबिल नामको लुब्रिकेन्ट लोकप्रिय छ। गाडी ‘सर्भिस’ गराउन जानेलाई सर्भिस सेन्टरहरूले ‘फलानो कम्पनीको मोबिल हाल्ने हो?’ भनेर सोध्छन्। इन्जिन पुरानो हो भने ‘यसले धेरै मोबिल खायो’ भन्ने चलन छ। 

ब्रिटेनिका मनी वेबसाइटका अनुसार सन् १८६६ मा स्थापित कम्पनी पछि अरू कम्पनीमा गाभिँदै जाँदा सन् १९५५ मा मोबिल शब्द कम्पनीमा जोडिन आयो। यही नै कम्पनीबाट उत्पादन हुने लुब्रिकेन्टको ब्रान्ड नेम बन्यो। अहिले यो शब्द धेरैजसो ठाउँमा लुब्रिकेन्टका लागि सम्बोधनको लागि प्रयोग गरिन्छ। 

डाल्डा
बेलायतको लिबर ब्रदर्सले सन् १९२९ मा डच कम्पनी मर्गराइन युनीसँग मिलेर युनिलिभर शुरू गरेको थियो। विश्व बजारमा नयाँ दैनिक उपभोग्य वस्तुको उत्पादन र बजार विस्तार तथा प्रवर्धन गर्ने यो बहुराष्ट्रिय कम्पनी भयो।

माउ संस्था लिबर ब्रदर्सलाई अब खानेकुराको बजारमा प्रभुत्व बढाउनु थियो। गाईभैँसीको घिउको खपत धेरै हुने भारतीय बजारमा यसको विकल्पमा कम्पनीले वनस्पति घिउ बनाउने नीति लियो। सन् १९३१ मा हिन्दुस्तान वनस्पति म्यानुफ्याक्चरिङ कम्पनी शुरू भयो। उक्त कम्पनीको वनस्पति घिउको ब्रान्ड नेम ‘डाल्डा’ राखियो।

पछि उपभोक्ताले सबै खालका वनस्पति घिउलाई डाल्डा भन्न थाले। भारतीय बजारमा एकछत्र प्रभुत्व बढाउँदै गएको डाल्डा नेपालमा पनि आयात र बिक्री हुन थाल्यो। कालान्तरमा नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले ‘शान्ति वनस्पति घिउ’को उत्पादन शुरू गर्‍यो। यसलाई पनि उपभोक्ताले डाल्डा नै भन्न थाले।

विसं २०५० को दशकमा वनस्पति घिउ र तेल निकासी गर्न पाउने गरी नेपाली उद्योगका लागि भारतीय बजार खुला भयो। त्यति बेला वीरगन्ज र विराटनगरमा वनस्पति घिउ बनाउने १६ वटा उद्योग थपिए। ती सबैका उत्पादनलाई डाल्डा भन्न थालियो।

आर्थिक वर्ष २०५८/५९ मा भारत सरकारले वार्षिक एक लाख टनमा नेपाली वनस्पति घिउ खरिदको कोटा सीमित गरेपछि नेपालबाट भारततर्फ चोरी निकासी फस्टायो। यसलाई ‘डाल्डाको ब्लाक’ भनियो। सीमामा कडाइ हुन थालेपछि वनस्पति घिउ उद्योग बिस्तारै खानेतेल प्रशोधन उद्योगमा रूपान्तरित भए। ‘डाल्डा’ सम्बोधन भने कायम रह्यो। 

सर्फ
‘सर्फ’ शब्दको अर्थ समुद्रको छालमाथि तैरिनु भन्ने हुन्छ। सर्फ नामको लुगाधुने पाउडर पछिल्लो सात दशकदेखि बजारमा छ। 
यो ब्रान्ड सन् १९५२ मा बेलायतमा लिभर ब्रदर्सको सहायक कम्पनी वारिङ्टनको क्रसफिल्ड्सले उत्पादन थालेको थियो। स्थापनाको सात वर्षपछि उत्पादक लिभर्स ब्रदर्सले यसलाई अमेरिकाको बजारमा पुर्‍याएका थिए।

युनिलिभर कम्पनीले वितरण गर्ने यो सर्फ डिटरजेन्ट ११ वटा देशमा उत्पादन भई त्यहाँबाट ७८ वटा देशमा जान्छ। नेपाल र भारतलगायत देशमा जुनसुकै ब्रान्डको लुगाधुने पाउडर प्रयोग गरे पनि सर्फ भन्ने चलन छ। 

सिटामोल
ज्वरो नियन्त्रणका लागि चिकित्सकले सुझाउने पारासिटामोल विभिन्न कम्पनीले फरक नाममा उत्पादन गर्छन्। तर धेरैजसो नेपालीका लागि त्यो औषधि ‘सिटामोल’ हो। तर सिटामोल नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने औषधिको ब्रान्ड नेम हो।

कोरोना महामारीका बेला पारासिटामोलको खपत धेरै हुँदा बजारमा अभाव भयो। कतिपयले ‘सरकारले सिटामोल पनि दिन सकेन’ भनेर आक्रोश व्यक्त गरे। तर नेपाल औषधि लिमिटेडले ‘सिटामोल’ उत्पादनमा घाटा हुन थालेपछि उत्पादन नै बन्द गरिसकेको थियो। उपभोक्ताले भनेको ‘सिटामोल’ जुनसुकै कम्पनीको पारासिटामोल थियो।

उपभोक्ताको माग भएपछि सरकारको आदेशमा ‘सिटामोल’को उत्पादन फेरि शुरू गरियो। कोरोना महामारीमा बजारमा ‘सिटामोल’ पुग्न थालेपछि पारासिटामोलको अभाव टरेको थियो। 

पारासिटामोलको पर्यायवाची बनेको सिटामोलको उत्पादन शुरू भएको ६० वर्ष भयो। यो औषधि २०२१ सालमा स्थापना भएको शाही औषधि अनुसन्धानशालाले उत्पादन थालेको थियो। सरकारबाट वनस्पति विभागअन्तर्गत स्थापना भएको यो संस्थाले पहिलो पटक नेपालमा एलोपेथिक औषधिको उत्पादन शुरू गरेको हो।

अनेक छन् यस्ता ब्रान्ड
विश्व बजारमा यस्ता धेरै उत्पादन छन्, जसको ब्रान्ड नेम नै वस्तुको समूहवाचक नाम बनेको छ। जस्तै, जेसीबी एउटा एक्साभेटर बनाउने ब्रान्ड हो। जेसी बामफोर्ड एक्साभेटर लिमिटेडको ब्रान्ड नेम अहिले जुनसुकै कम्पनीको एक्साभेटरलाई सम्बोधन गरिने नाम बनेको छ। 

इन्टरनेटमा अनेक सर्च इन्जिन छन्। जसमध्ये एउटा र सबभन्दा ठूलो सर्च इन्जिन गुगल हो। मानिसहरूले सर्च गर्नेलाई अहिले ‘गुगल गर्ने’ भनिरहेका छन्। 

यस्तै, ‘जिरक्स’ ब्रान्डको फोटोकपी मेसिन प्रचलनमा आयो। पछि फोटोकपी गर्ने गराउने कामलाई ‘जिरक्स’ भन्न थालियो।

मोर्टोन मेनुफेक्चरिङ कम्पनीले ‘च्यापिस्टिक’ नाममा ‘लिप बाम’ ल्यायो। ओठलाई खस्रो हुनबाट जोगाउन ल्याइएको यो उत्पादन खासगरी पुरुषहरूमा लोकप्रिय भयो। महिलाको लागि लिपिस्टिक भएजस्तै पुरुषले लगाउने च्यापिस्टिक भन्न थालियो। अरू कम्पनीहरूको लिप बामलाई पनि अब उपभोक्ताले च्यापिस्टिक नै भन्न थाले।

सुपर ग्लु कर्पोरेसनले ल्याएको ‘सुपर ग्लु’ ब्रान्डको टाँस्ने पदार्थ पनि कालान्तरमा वस्तुकै नाम बन्यो। जुनसुकै कम्पनीको ग्लु भए पनि सुपर ग्लु भन्ने चलन बस्यो।

पछिल्लो समय एप्पल कम्पनीले बनाएको (पोर्टेबल मिडिया प्लेयर)को नाम ‘आइपोड’ राखियो। अहिले बजारमा डिजिटल माध्यममा ब्लु तुथ वा वाईफाईले जोडेर बजाउन मिल्ने अनेक ब्रान्डमा पोर्टेबल मिडिया प्लेयर छन्, ती सबैलाई उपभोक्ताले आइपोड भनेर चिन्छन्। उपभोक्ताले ‘फलानो कम्पनीको आइपोड’ भनेर चिनाउँछन्।

कसरी रहन्छ नाम?
मधेश विश्वविद्यालयका डिन तथा बजार व्यवस्थापन विषयका विज्ञ डा. अञ्जय मिश्र कतिपय ब्रान्ड नेमहरू ‘जेनेरिक नेम’जस्तै हुने बताउँछन्। उनी भन्छन्, “मैले २०७२ सालमा एउटा कार्यपत्रमा नै यो विषय लेखेको थिएँ। यस्तो ब्रान्ड, जसमा शुरूमा धेरै प्रतिस्पर्धी हुँदैनन् र समाजले त्यसैलाई वस्तुको नाम बुझिदिन्छ।”

‘ओलिगोपोली मार्केट’ (थोरै कम्पनीले ठाउँ लिरहेको बजार)मा यस्तो हुने गरेको डा. मिश्र बताउँछन्। उपभोक्ता एउटा ब्रान्डतिर ढल्किसक्दा यस्तो हुने उनको भनाइ छ। पछि त्यसको ठाउँ अन्य ब्रान्डले लिँदा उपभोक्ता पुरानै नाममा अभ्यस्त भइरहने हुन्छ। उनी भन्छन्, “ब्रान्डले अधिकांश हिस्सा अगोटेर समाजलाई कब्जा गरिदिन्छ, जसको कारणले उपभोक्ताले त्यसैलाई मान्छन्। यसलाई ब्रान्ड लोयालिटी पनि भनिन्छ।”

मिश्रका अनुसार, कृषि पृष्ठभूमिका उपभोक्ता भएको नेपालजस्ता समाजमा मानिस ‘ब्रान्ड लोयल’ हुँदा यस्तो हुन्छ। “हरियो बोतलमा उसले कुनै केमिकल किनेको थियो र उसको समस्या समाधान भएको थियो भने अर्को वर्ष त्यही केमिकल रातो बोतलमा आउँदा पत्याउँदैन,” उनी भन्छन्, “उसलाई हरियो बोतल नै किन चाहिन्छ भने उसले कलर कोडबाट (रङबाट) वस्तुलाई चिनेको थियो।”

काठमाडौँ विश्वविद्यालयमा बजार व्यवस्थापन पढाउने रोशी लामिछानेका अनुसार ब्रान्डले वस्तु चिनाउने हुँदा संकेत, चिह्न वा नाम सम्झन सक्ने हुनुपर्छ। त्यस्ता नाम मानिसको जनजीवनसँग जोडियो भने ब्रान्ड नेम नै त्यस्तै प्रकारका सबै उत्पादनको नाम हुने उनको भनाइ छ।

बजार, उत्पादन र ब्रान्डप्रति उपभोक्ता सजग नहुँदाको नतिजा पनि यस्तो हुने लामिछाने बताउँछिन्। “ब्रान्डिङ आफैमा बजारको विशाल पाटो भएकाले उपभोक्तालाई प्रभावित बनाउने क्षमता हुन्छ। के किन्न चाहेको र कुन उत्पादकको ब्रान्ड उपभोग गर्न चाहेको उपभोक्ताको सचेत निर्णयबाट निर्धारित हुन्छ,” उनी भन्छिन्, “उपभोक्ताको मनोविज्ञानले बजारलाई र बजारले उपभोक्तालाई परस्पर प्रभाव पारिरहेको हुन्छ।”


सम्बन्धित सामग्री