काठमाडौँ– स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ।
मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि सोमबार राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
ताजा मतपरिणामअनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार ६९ मतसाथ जिततर्फ अग्रसर छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवशरण महर्जन चार हजार ११९, एमालेका सुरेन्द्र मानन्धरले तीन हजार ९९७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले एक हजार ८७६, कविकुमार महर्जनले एक हजार २८९, दिनेशकुमार अधिकारीले एक हजार ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ९४४ मत प्राप्त गरेका छन्।
दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षका उम्मेदवार एमालेकी उमा लुङ्गेली मगरले एक हजार ९७२ मत प्राप्त गरी अग्रता कायम गरेकी छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी निम लेकी शेर्पाले एक हजार ९०६, कांग्रेसका एक हजार २८१, स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले ७७, एकीकृत समाजवादीका रविना खड्काले ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले ७१ मत प्राप्त गरेका छन्।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिनाले सात सय छ मतसहित अग्रता कायम गरिरहेकी छन्। उनको प्रतिस्पर्धी कांग्रेसका सविता बुढाले ४९३ मत पाएकी छन्। एमालेका जाना शाहीले ४७१ मत पाएकी छन्।
उदयपुरको बेलका नगरपालिका वडा नं ९ कोफ वडा अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका भरत घिमिरेले २१८ मतसहित अग्रता लिएका छन्। उनलाई एमालेका मोहन खड्काले १८७ मतसहित पछ्याइरहेका छन्। कांग्रेसका नवराज बस्नेतले १४९, जसपाका राजकुमार राईले ७९ र राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले ३९ मत ल्याएका छन्।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले पाँच हजार ३३३ मत मात्रै पाए।
दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही तीन हजार १२७ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत ल्याए।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार २७२ मत पाई निर्वाचित हुँदा कांग्रेसका इन्द्रा चन्द (सिंह)लाई तीन हजार १४७ मत प्राप्त भयो।
रुकुम (पूर्व भाग)को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार ६२७ मत ल्याएर विजयी भए। उनको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार १२८ मत मात्रै पाए।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन्। उनले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइन्।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भइन। उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरिन्।
झापाको कनकाई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भए। उनको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी भए। उनीसँग एमालेका बुद्धबहादुर लिम्बु ३६० मत प्राप्त गरी पराजित भए।
सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भए।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए। उनले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन्। उनसँग कांग्रेसका भूलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भइन्। डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाए।
धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरिन्।
रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए। गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले ६३१ मत पाए।
रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित भए।
नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत प्राप्त गरी पराजित भइन्।
काठमाडौँका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए। वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत पाइन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित भए।
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाए।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार १५० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले ५३५ मत पाए।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी शेरबहादुर थारूले ६७८ मत पाए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भए। उनको प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए।
कालीकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा सीमित भइन्।
जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए।
रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए।
बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित भए।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भए। उनको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मत पाए।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित भए।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत ल्याए।