मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर
काठमाडौँ– मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सोसम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकाका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले संलग्न प्रस्तावित ३०० मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए। उक्त प्रस्तावमा हस्ताक्षर गर्ने अख्तियारी पनि अर्थसचिवलाई नै दिइएको छ।
संलग्न विकास योजना सन् २०२५ देखि सन् २०२९ सम्मको समझदारी पत्र पनि आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। यसको हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिइएको छ।
यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सीएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए। यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिने बताइएको छ।
नेपाल र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव रामप्रसाद घिमिरेलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री ओलीको यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीन भ्रमण सफलताका लागि शुभकामना दिने निर्णय पनि गरेको छ। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्दै छन्।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा एमओयू (लेटर अफ एक्सप्रेसन) हुने तय भएका आयोजनामा काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत रहेका छन्।
यसैगरी बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान्ट उपचार पद्धति शुरू गर्नेलगायत आयोजना रहेका छन्। १०० विद्युतीय गाडी, १०० प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुने गरी छलफल अघि बढेकाले यस विषयमा पनि ठोस उपलब्धि हुनसक्ने मन्त्री गुरुङले जानकारी दिए।