काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलले नेपाली दर्शकमा रहेको क्रिकेट मोह फेरि एकपटक उजागर गर्यो। साथै, दर्शकको व्यवस्थित र सहज प्रवेशका लागि थप मिहिनेत गर्नुपर्ने पाठ आयोजकलाई पढाएको छ।
दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढा र लाठी चार्जसमेत भयो। केही दर्शक घाइते भए। घाइते हुनेमा सुशील अकुलिया, अजय तामाङ, शिशिर गौतम, शंकर आचार्य, दानबहादुर राउत, केशव मेगी र प्रेम खड्गी रहेका छन्। घाइतेलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो।
क्रिकेटप्रेमी दर्शक आयोजकप्रति रुष्ट भएका छन्। उनीहरूले व्यवस्थापनको पाटो अत्यन्त फितलो देखिएको र अनाहकमा दर्शकलाई दुःख दिएको भन्दै आयोजकप्रति रोष प्रकट गरेका हुन्।
मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश गर्न निकै संघर्ष गर्नुपर्यो । दर्शक एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन्। झन्डै झडप हुने अवस्था सिर्जना भएको थियो। त्यहाँ अत्यधिक भिड भएपछि दक्षिण पूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँ पनि प्रवेश पाएनन्।
उनीहरूले प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए। त्यसपछि प्रहरीले लाठी चार्ज गरेको थियो भने दर्शकले ढुंगामुढा।
यसबारे सोध्दा नेपाल क्रिकेट एसोसिएसन क्यानका प्रवक्ता छुम्बी लामाले प्रवेशलाई व्यवस्थित गराइएको भए पनि मूल प्रवेशद्वारबाट एकै पटक दर्शक पस्न खोज्दा समस्या सिर्जना भएको बताए। त्यस्तै, रंगशाला परिसर बाहिरबाट खेल हेर्न खोज्ने दर्शकका कारण केही ठाउँमा समस्या भएको उनको भनाइ थियो।
“भिडभाडका कारण कतिपय टिकट लिएका दर्शकले पनि प्रवेश नपाउनु भएको गुनासो आएको छ। हामीले यसबारे अनलाइन भुक्तानी प्रणाली (खल्ती) सँग कुरा गरेका छौँ। त्यस्ता दर्शकको टिकट स्क्यान गरेर प्रवेश भए/नभएको यकिन गर्ने प्रवेश गर्न नपाएको देखि फिर्ता गर्ने वा अर्को दिनको टिकट उपलब्ध गराउने भन्नेबारे निर्णय गर्नेछौँ”, उनले भने।