कीर्तिपुर, काठमाडौँ– आइतबार हुने स्थानीय तहको उपनिर्वाचनमा अरूभन्दा धेरै चर्चामा छ काठमाडौँको कीर्तिपुर नगरपालिका। संघीय राजधानी काठमाडौँभित्रको यो नगरपालिकामा प्रमुख (मेयर) पदकै लागि उपनिर्वाचन हुँदैछ। यसबाहेक वडा नम्बर १ र ४ मा वडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ।
मेयर पदका लागि नौ राजनीतिक दलसहित ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। त्यस्तै, वडा नम्बर १ को अध्यक्षका लागि ६ वटा राजनीतिक दल र तीन स्वतन्त्र तथा ४ को अध्यक्षका लागि आठ दल र चार जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्। कीर्तिपुरको उपनिर्वाचनलाई स्वतन्त्र उम्मेदवारको दबदबाले अन्यत्रभन्दा रोचक बनाएको छ।
दलहरूलाई चुनौती बनेका राजमान
कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका निम्ति प्रतिष्ठाको लडाइँ बनेको छ। संघदेखि प्रदेशसम्म संयुक्त गठबन्धन सरकार चलाइरहेका कांग्रेस र एमाले कीर्तिपुरको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न भने सम्पूर्ण शक्ति लगाइरहेका छन्।
कांग्रेस २५ वर्षपछि एमालेबाट (गत निर्वाचनमा) फुत्काएको आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ। एमाले भने २०७९ को स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसबाट ब्यहोरेको हारको बदला लिन लागिपरेको छ। कांग्रेस र एमाले दुवैलाई प्रमुख चुनौती भने स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ बनेका छन्।
मतदानको मिति सम्मुखमै आइपुग्दा स्वतन्त्र उम्मेदवार राजमानले यस्तो माहौल सिर्जना गरिरहेका छन् जसलाई कतिपयले २०७९ को निर्वाचनमा काठमाडौँ महानगरसहित धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले जित निकालेका सन्दर्भसँग जोड्न थालेका छन्।
राजमानको उम्मेदवारीले कांग्रेस र एमाले दुवैलाई असहज अवस्था निम्तिएको कांग्रेसका एक स्थानीय नेता बताउँछन्।
“उहाँ (राजमान) कीर्तिपुरवासीका लागि परिचित नाम हो। सामाजिक काममा वर्षौंदेखि सक्रिय रहेकाले सबैले राम्रो मान्छन्,” उनले भने, “स्वतन्त्रको लहर, हर्क साम्पाङ लगायतको समर्थनले पनि थप भूमिका खेल्न सक्छ।”
राजमानलाई समर्थन गर्दै उनको पक्षमा माहौल बनाउन साम्पाङ कीर्तिपुर नै पुगेका थिए। उनी त्यहाँका केही चुनावी कार्यक्रममा सहभागी भएर धरान फर्किएका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रत्यक्ष उपस्थिति नदेखिए पनि उनले पनि राजमानलाई नै समर्थन गरेको स्थानीयको बुझाइ छ।
कीर्तिपुरका स्थानीय संघरत्न महर्जन स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकाले काम गरेर देखाउन सक्छन् भन्ने उदाहरण काठमाडौँका मेयरले देखाइरहेको भन्दै कीर्तिपुरको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा लहर देखिएको बताउँछन्।
एमालेको निर्वाचन परिचालन कार्यालयमा भेटिएका एक कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवार राजमान दलहरूका लागि ठूलो चुनौतीका रूपमा देखा परेको बताए। “हामी कार्यकर्ता समर्थक त यताउता हुने सम्भावना छैन, तर कुनै दलमा नलागेका मतदाताले स्वतन्त्र उम्मेदवारप्रति धेरै झुकाव राखेको मैले पाएको छु,” उनले भने।
स्वतन्त्र उम्मेदवारलाई चुनौती माने पनि प्रमुख दलका उम्मेदवार भने प्रतिस्पर्धा दलहरूबीचमै हुने बताउँछन्। कीर्तिपुरको मेयरका कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले उपनिर्वाचनमा आफ्नो मुख्य प्रतिस्पर्धा एमालेकै उम्मेदवारसँग हुने बताए। “स्वतन्त्र उम्मेदवारी दिएर मात्र हुँदैन, नगरको विकासका लागि पार्टीकै उम्मेदवारले मात्र काम गर्न सक्छन्,” उनले भने, “हामी २०७९ को नतिजालाई निरन्तरता दिन्छौँ।”
मेयरका एमाले उम्मेदवार सुरेन्द्र मानन्धर भने निर्वाचनमा होमिएका सबै उम्मेदवार नै एकअर्काको प्रतिस्पर्धी भएको बताउँछन्। “हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हो तर अन्य प्रतिस्पर्धीलाई पनि कमजोर भन्न मिल्दैन,” उनले भने, “हामीले अघि सारेका अजेन्डा र एमालेले विगतमा गरेका कामको आधारमा कीर्तिपुरमा फेरि एमालेले जित निकाल्ने छ।”
स्वतन्त्र उम्मेदवार राजमान महर्जन आफूलाई कीर्तिपुरका जनताले चिनेको र दलका उम्मेदवारलाई जिताउँदा के हुन्छ भन्ने उनीहरूले बुझेकाले यसपटक नतिजा फरक हुने बताउँछन्। “दलहरूले अहिलेसम्म के गरे भन्ने त सबैलाई थाहा भइसक्यो नि। अब स्वतन्त्र व्यक्तिले नै केही गर्न सक्छ,” उनले भने, “सबैको साथ र समर्थन भएकाले मैले सहजै चुनाव जित्न सक्छु।”
यसबाहेक नेकपा माओवादी केन्द्रले २०७९ कै निर्वाचनमा उम्मेदवार रहेका प्राडा. शिवशरण महर्जनलाई मेयरमा अघि सारेको छ। माओवादीले एकीकृत समाजवादी र जनता समाजवादीसँग चुनावी तालमेल गरेको छ। अघिल्लो निर्वाचनमा तेस्रो भएको माओवादी केन्द्र यसपटक एकीकृत समाजवादी र जसपाको साथले पनि चुनाव जित्ने दाबी गरिरहेको छ। “यसअघिको निर्वाचन परिणाम जस्तो हुँदैन। मत बाँडिन्छन्, हामीलाई दुई पार्टीको समर्थन भएकाले पनि केही सहज हुन्छ,” महर्जनले भने।
माओवादीले यसअघि कांग्रेस र एमालेलाई मत दिँदै आएका मतदाता स्वतन्त्र उम्मेदवारतर्फ बाँडिने हुँदा आफ्नो पक्षमा नतिजा आउने आकलन गरेको छ।
स्वतन्त्र उम्मेदवार राजमान राजनीतिक रूपमा एमाले पृष्ठभूमिका हुन्। अर्का स्वतन्त्र उम्मेदवार कवीर महर्जन र दिनेशकुमार अधिकारी पहिले कांग्रेसमा आबद्ध थिए।
स्थानीय सानुबाबु महर्जन दलहरूप्रति वितृष्णा बढेकाले स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण बढेको बताउँछन्। “दलका उम्मेदवारले विगतमा जितेर गए पनि प्रभावकारी काम गर्न सकेनन्। भ्रष्टाचार मात्रै बढ्यो। त्यसैले पनि धेरैले अब दलले गर्ने वाचामा विश्वास गर्न छोडिसके,” उनले भने, “स्वतन्त्र उम्मेदवारी दिएर जितेकाले काम गरिरहेकाले बिस्तारै मतदाताको सोच बदलिन थालेको छ।”
२०५३ सालमा कीर्तिपुर नगरपालिका स्थापना भएयता २०५४ र २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले जित हासिल गरेको थियो। २०७९ को निर्वाचनमा भने कांग्रेसले मेयरसहित १० वडा रहेको कीर्तिपुरमा ९ वडाध्यक्षसमेत जित्यो। एमाले दुई महिला सदस्यमा सीमित भयो।
२०७९ को निर्वाचनमा कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर मेयर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशरत्न बज्राचार्यले पाँच हजार ५०७, माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९० र एकीकृत समाजवादीका वटुकृष्ण थापाले एक हजार १५३ मत प्राप्त गरेका थिए। कांग्रेसबाट निर्वाचित नकर्मीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।