Thursday, January 16, 2025

-->

कीर्तिपुरमा ३३ वर्षदेखि प्रमुख चुनावी मुद्दा– खानेपानी, तर सधैँ हाहाकार

तीन दशकदेखि कीर्तिपुर नगरपालिका क्षेत्रमा मत माग्ने हरेक उम्मेदवारले खानेपानी समस्या समाधान गर्ने वाचा गर्छन्। यस पटकको उपनिर्वाचनमा पनि कीर्तिपुरका प्रमुख पदका उम्मेदवार यही मुद्दा अघि सारिरहेका छन्।

कीर्तिपुरमा ३३ वर्षदेखि प्रमुख चुनावी मुद्दा– खानेपानी तर सधैँ हाहाकार

काठमाडौँ– कीर्तिपुर नगरपालिका–३ का सानुबाबु महर्जन (६०) ले २०४८ सालयताका हरेक निर्वाचनमा मतदान गरेका छन्। उनी मंसिर १६ मा हुन गइरहेको कीर्तिपुर नगरपालिका प्रमुखको निर्वाचनमा पनि मतदानको सोचमा छन्।

२०४८ सालदेखि अहिलेसम्म भएका हरेक निर्वाचनका उम्मेदवारले कीर्तिपुरवासीलाई दिँदै आएको एउटा आश्वासन ‘खानेपानी’ हो। कीर्तिपुर नगरपालिकाका १० वटै वडाबासीले वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका छन्। अझै पनि हरेक निर्वाचनमा उम्मेदवारहरूले कीर्तिपुरवासीलाई खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिन छाडेका छैनन्।

आगामी आइतबार हुन गइरहेको उपनिर्वाचनमा नगरप्रमुखमा उम्मेदवारी दिएका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले खानेपानीको मुद्दालाई प्राथमिकतामा राखेका छन्। तर मतदाता भने चुनावपछि खानेपानी पाउनेमा ढुक्क छैनन्। 

“यहाँका मानिसले भोगिरहेको पानीको समस्या समाधान गर्छौं भन्दै भोट मागेको यत्रो वर्ष भयो, तर समाधान भएन,” सानुबाबु भन्छन्, “अहिले पनि सबैले पानीकै विषयलाई प्राथमिकता दिने भनेका छन्, कसरी विश्वास गर्नु?”

२०५३ सालमा कीर्तिपुर नगरपालिका स्थापना भएको थियो। नगरपालिका स्थापना भएयता २०५४, २०७४ र २०७९ गरेर तीन पटक स्थानीय निर्वाचन भए। यी निर्वाचनमा पनि उम्मेदवारले खानेपानीको मुद्दा उठाएका थिए। 

तर चुनाव जितेका कसैले खानेपानी दिन सकेनन्। स्थानीय मदन श्रेष्ठ चुनावमा भोट माग्दा खानेपानी समस्या समाधान गर्ने भने पनि जितेर गएपछि बिर्सिने गरेको बताउँछन्।

“खानेपानी मात्र होइन। यहाँका नागरिकले आफ्नै जमिनको लालपुर्जा पाउन सकेका छैनन्। शिक्षा, स्वास्थ्य लगायतको समस्या पनि उस्तै छ,” उनले भने,“ अबको चुनावमा हाम्रो होइन राम्रो छान्नुपर्छ भन्नेमा पुगेको छु।” 

मेलम्चीको पानी आउन थालेपछि कीर्तिपुरवासीलाई तत्कालका लागि केही राहत भए पनि त्यो पर्याप्त छैन। एक दिनको फरकमा मात्र पानी आउँछ। तर बढ्दो जनसंख्या र बजारीकरणले अपुग हुने स्थानीय संघरत्न महर्जन बताउँछन्। 

पानीको अभाव कम गर्न ट्याङकरको पानी किन्नुपर्ने बाध्यता भएको स्थानीयको गुनासो छ। “मेलम्ची नियमित भए त सहज हुँदै जान्थ्यो होला। तर निरन्तर नहुँदा अवस्था पहिलाकै जस्तो हुन्छ,” संघरत्न भन्छन्, “स्थायी समाधानका लागि काम नगरेसम्म समस्या भोगिरहनुपर्छ।”

कीर्तिपुर नगरपालिकामा रहेको दुधपोखरी क्षेत्रबाट पानी घर–घरमा पुर्‍याउने प्रतिबद्धता उम्मेदवारहरूले गर्दै आएका छन्। ३० वर्षअघि स्थानीयले नै जनश्रमदान गरेर दुधपोखरीदेखि खनेर खानेपानीको व्यवस्था गरेको नरेन्द्र महर्जन सम्झन्छन्।

खानेपानी संस्थानको कर्मचारीबाट अवकाश भएर नरेन्द्र कीर्तिपुरमै व्यवसाय गर्छन्। २०५१ सालमा प्लान इन्टरनेसनल संस्थाको सहयोगमा खानेपानी आयोजना अघि बढाउन खोजे पनि सफल नभएको उनको भनाइ छ।

खानेपानी मात्र नभई कीर्तिपुर नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या पनि उस्तै रहेको नरेन्द्र बताउँछन्। “सडक व्यवस्थित र सरसफाइ गर्नु पर्नेछ, शिक्षा क्षेत्रमा देखिएको समस्यामा पनि ध्यान जानु पर्छ,” उनी भन्छन्, “यहाँको अर्थतन्त्र सुधार्न नेवारी परिकारको प्रवर्द्धन गरेर पर्यटनको विकास गर्न सकिन्छ।”

आगामी आइतबार हुन गइरहेको नगरप्रमुखको उपनिर्वाचनमा चुनावी मैदानमा रहेका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले कीर्तिपुरमा रहेको खानेपानी समस्या समाधान आफूहरूको प्राथमिकतामा रहेको बताउँछन्।

नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र मानन्धर आफू निर्वाचित भएपछि खानेपानीलाई प्राथमिकतमा राखेर काम अघि बढाउने बताउँछन्। उनी भन्छन्, “दुधपोखरीदेखि अन्य धेरै पानीका मुहान छन्, ती व्यवस्थित गर्न सकियो भने पानीको समस्या समाधान हुन्छ।”

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कृष्णमान डंगोलले पनि खानेपानीलगायत कीर्तिपुरवासीले भोगिरहेका समस्या समाधानका लागि आफूले काम गर्ने बताए। “केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर यहाँका समस्या समाधान गर्न सकिन्छ। मैले त्यसका लागि पहल अघि बढाइसकेको छु,” उनी भन्छन्, “त्यसका लागि पनि जनताले हामीलाई मत दिनेछन्।”

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका प्राडा शिवशरण महर्जन, स्वतन्त्र उम्मेदवार राजमान महर्जनलगायतले पनि प्रमुख मुद्दा खानेपानीलाई नै बनाइरहेका छन्। उनीहरूले पनि खानेपानीको समस्या समाधानदेखि शिक्षा, स्वास्थ्य, सडकलगायत क्षेत्रका समस्या समाधान गर्ने आश्वासन मतदातालाई दिइरहेका छन्।


सम्बन्धित सामग्री